मेडिसिटी अस्पतालद्वारा मुहानपोखरीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले गृहिणी महिला संघसँगको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्धेश्यले मुहानपोखरीमा अस्पतालले एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हाे । वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझीँ र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहालले शिविरमा सहभागी महिलाहरुको स्वास्थ्य जाँच गरेका थिए । डा. रायमाझीँले सहभागी महिलाहरुमा स्तन क्यान्सर रोगबाट बच्न के र कस्ता विषयमा ध्यान दिने भन्नेबारे जनचेतना अभिवृद्धिका लागि जानकारीमूलक सामग्री पनि प्रस्तुत गरेकी थिइन् । शिविरमा सहभागी १०० महिलामा गरिएको थर्मोकोगुलेसन प्रविधीबाट उपचार गर्दा १३ जनामा आङ खस्ने समस्या, १२ जनामा विभिन्न खाले संक्रमण, ४ जनामा प्रारम्भिक चरणको क्यान्सरको आशंका तथा १ जनामा स्तन क्यान्सरको आशंका गरिएको छ । स्तन क्यान्सरको लक्षण भए नभएको आफैले पत्ता लगाउने तरिका सिकाएकी रायमाझीले ४० वर्ष माथीका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सल्लाह दिएकी छिन् ।  

तारकेश्वरमा भेटियाे बर्डफ्लु

काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘र्यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए । केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

केन्द्रीय कारागारका २७ सय कैदीबन्दीलाई कोरोना खोप

काठमाडाैं । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए । “कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ”, राईले भने । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ । उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ । मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये कोरोना सङ्क्रमणका कारण सातको मृत्यु भएको सूचना अधिकारी राईले बताए ।