सोमबार नेपालभर १२ सय बढी कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं । सोमबार नेपालभर १२२७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा १२२७ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८५ हजार ९०० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ७ हजार २५४ पुगेको छ । नेपालमा आजसम्म २३ लाख ५२ हजार ५०२ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज २५५ जना निको भएसँगैं हालसम्म २ लाख ७५ हजार ७५५ जना निको भएर घर गइसकेका छन । पछिल्लो २४ घण्टामा ८ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

एक लाख २३ हजारले लगाए ‘भेरोसेल’ खाेप

काठमाडाैं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ एक लाख २३ हजारले लगाएका छन् । खोप शाखाका प्रमुख डा गौतमले सात जिल्लाका ४० वर्षदेखि ५९ उमेर समूहका एक लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाइएको जानकारी दिए । ‘भेरोसेल’ गत चैत २५ देखि यही वैशाख ५ गतेसम्म काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभे्रपलाञ्चोक र सिन्धुपाञ्चोकका ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो । गत चैत १६ गते चीन सरकारको अनुदानमा आठ लाखा मात्रा ‘भेरोसेल’ खोप नेपाल आएको थियो । उनले दोस्रो मात्राको खोप अभियान सकिएपछि पुनः ‘भेरोसेल’ खोप लगाइने जानकारी दिए ।

सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन निषेध

काठमाडाैं । सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले सार्वजनिक ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेकाे हाे । बैठकले जारी गरेकाे ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा याे नियम उल्लेख छ । यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि राेक लगाएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण झन बढी फैलिएको छ । सरकारले सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । विभिन्न जिल्लाको जिल्ला प्रशासनहरुले विद्यालय बन्द गर्न पनि निर्देशन गरिसेका छन् ।