प्रतिव्यक्ति ९ हजार लिई सिनामङ्गलमा पिसिआरको नेगेटिभ रिपोर्ट तयार
काठमाडाैं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले उनीहरुसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पिसिआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङ विराटनगरका वजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंह रहेको प्रहरीले जनाएको छ । त्यहाँबाट रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको महाशाखाले जनाएको छ । उनीहरुले प्रतिव्यक्ति नौ हजार लिई नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ । रासस
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कारोना संक्रमण
काठमाडौं । भारतको हरिद्धारमा गंगा स्नान गरेर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारत भ्रमण सकेर स्वदेश फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पूर्वराजा दम्पतीलाई संक्रमण भेटिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
बर्डफ्लु पीडित तारकेश्वरका किसानले क्षतिपूर्ति स्वरुप एक करोड पाउने
काठमाडौं । काठमाडौंको तारेकेश्वर नगरपालिकाका किसानले एक लाख क्षतिपूर्ति पाउने भएका छन् । बर्डफ्लुका कारण किसानले उत्पादन गरेका पशुपन्छी तथा दाना नष्ट गरेपछि क्षतिपूर्ति स्वरुप सरकारले तीन स्थानका किसानलाई क्षतिपूर्ति दिन लागेको हो । पहिलो चरणमा पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोला र दुई पटक सम्म संक्रमण देखिएको वडा नम्बर १ का किसानलाई क्षतिपूर्ति दिने तयारी भएको छ । किसानलाई क्षतिपूर्ति दिन अर्थ मन्त्रालयबाट बजेट आइसकेको पशु सेवा विभागले जनाएको छ । विभागका सूचना अधिकारी डा.चन्द्र ढकाल एक साताभित्र तीन स्थानका किसानलाई क्षतिपूर्ति दिने बताउँछन् । ‘हामीले किसानलाई क्षतिपूर्ति दिनका लागि आवश्यक रकम अर्थ मन्त्रालयसँग माग गरेका थियौँ, अर्थमन्त्रालयबाट १ करोड रुपैयाँ बढी निकास भएर आएको छ, अब हामी किसानलाई तोकिएको मात्रामा रकम वितरण गछौँ’, उनले भने, ‘केही किसानसँग दररेटको विषयमा कुरा मिलेको छैन, समस्या नभएको स्थानमा वितरण गरेपछि समस्या देखिएको क्षेत्रमा थप छलफल गरेर वितरण गछौँ ।’ उनका अनुसार किसानलाई क्षतिपूर्ति वितरणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको दर रेट निर्धारण समितिको सिफारिसका आधारमा भुक्तानी गरिनेछ । उक्त समितिले बजार मूल्यलाई आधार बनाएर मूल्य निर्धारण गर्नेछ । समितिले बुझाएको विवरणका आधारमा विभागले ७५ प्रतिशत क्षतिपूर्ति वितरण गरिने ढकालले जानकारी दिए ।उनका अनुसार समस्या नभएको क्षेत्रका किसानलाई अबको एक सातामा क्षतिपूर्ति रकम वितरण गरिनेछ । ललितपुरमा दोस्रो लटमा वितरण गरिने विभागले पहिलो चरणमा बर्डफ्ल संक्रमण भेटिएका तारेकेश्वरका तीन स्थानका किसानलाई मात्र क्षतिपूर्ति वितरण गर्ने भएको छ । ‘हामीले धरै अगाडी संक्रमण देखिएको तारकेश्वरमा क्षतिपूर्ति वितरण गर्न अर्थबाट बजेट पाइसकेका छौँ । पहिला तारेकेश्वरमा वितरण हुन्छ । ललितपुरको नख्खुमा संक्रमण पछि भेटिएको हो, थप रकम माग गरेका छौँ, अर्थबाट स्वीकृति भएसगैँ वितरण हुन्छ’, सूचना अधिकारी ढकालले भने । ६ स्थानमा संक्रमण काठमाडौं उपत्यका सहित ६ स्थानमा बर्डफ्लु संक्रमण फेला परेको थियो । जसमा गत माघ १६ गते पहिलो पटक तारकेश्वर नगरपालिका–७ साङ्लेखोला संक्रमण भेटिएको थियो । तारेकेश्वरकै वडा नम्बर १, ललितपुरको नख्खु र उपत्यकाबाहिर सुर्खेत र जाजरकोटमा संक्रमण भेटिएको भियो । विभागले उपत्यकाका चार स्थानका किसानलाई क्षतिपूर्ति रकम वितरण गरेपनि उपत्यका बाहिरका किसानलाई कर्णाली प्रदेश सरकारले नै क्षतिपूर्ति दिने विभागले बताएको छ । नष्ट गरिएको पशुपन्छी तथा दाना पशु सेवा विभागले संक्रमण देखिएका क्षेत्र वरपर पालेका घरपालुवा जनावरको नष्ट गरेको थियो । विभागले पहिलो पटक तारेकेश्वरको साङ्लेखोलामा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ७५ केजी दानालगायत नष्ट गरेको थियो । तारकेश्वर नगरपालिका–१ मा पालेका हाँसमा बर्डफ्लु देखिएपछि १४ सय २१ हाँस, ४२ वटा लोकल कुखुरा र आठ सय केजी दाना नष्ट गरिएको थियो । त्यससपछि फागुन ८ मा कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१२ का किसानले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु भेटिएको थियो । त्यस क्रममा २ सय ७९ कुखुरा, १ सय २ परेवा र ३१ किलो दाना नष्ट गरिएको थियो । फागुन १२ गते पुनः तारकेश्वर नगरपालिका–१ मा पालिएका व्यावसायिक कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु देखियो । त्यस क्रममा ५ हजार ६ सय ५७ लेयर्स कुखुरा, ७ हजार २ सय ३६ ब्रोइलर कुखुरा, २ हजार ५ सय ४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५ सय ७० अन्डा र तीन हजार किलो दाना नष्ट गरिएको थियो । फागुन २६ मा फेरि कर्णालीको जाजरकोटस्थित भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेका व्यावसायिक लेयर्स कुखुराका नमुनामा पनि बर्डफ्लु देखिएको थियो । त्यस क्रममा ब्रोइलर कुखुरा तीन सय, लेयर्स कुखुरा ३ सय ३१, लोकल कुखुरा ७०, अन्डा ८ सय ८३ र २ सय ५१ किलो दाना र दुई सय वटा अन्डाका क्रेट नष्ट गरिएको थियो । यस्तै, चैत १३ गते फेरि ललितपुर महानगरपालिका–१२ नक्खुका किसानले पालेका लोकल कुखुरा, बट्टाई र हाँसबाट संकलित नमुनामा पनि बर्डफ्लु भेटिएको थियो । उक्त क्षेत्रमा संक्रमण भेटिएपछि ५ सय १६ हास, लोकल कुखुरा ८ सय ५४, बट्टाई १ सय ५४, ९ सय ४४ वटा अन्डा र ३ सय ३५ किलो दाना नष्ट गरीएको थियो । संक्रमण देखिएका क्षेत्रमा रहेका घरपालुवा पशुपन्छीलाई नष्ट गरी सुरक्षित राखिएको थियो । ललितपुरको नख्खुमा संक्रमण नियन्त्रण भएपछि अन्य ठाउँमा हालसम्म संक्रमण पुष्टि भएको छैन ।