शनिबार नेपालभर ७६८ काेराेना संक्रमित थपिए

काठमाडाैं । शनिबार नेपालभर ७६८ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ७६८ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८३ हजार ६५८ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ५ हजार ५४५ पुगेको छ । नेपालमा आजसम्म २३ लाख ४० हजार ४१७ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज २२६ जना निको भएसँगैं हालसम्म २ लाख ७५ हजार ३८ जना निको भएर घर गइसकेका छन । पछिल्लो २४ घण्टामा ५ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना सङ्क्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शै्ययाको आइसियु तथा ३० शैय्या को आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना सङ्क्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो । रासस

देशभर व्यापक कोभिड, एयरपोर्टमा डरलाग्दो भिड (फोटोफिचर)

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सुरु भएको छ । कोभिड संक्रमितको संख्या पछिल्लो दिनमा व्यापक रुपमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत शुक्रबार मात्रै देशभरमा ९ सय जना कोभिड संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ६४ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३६ जनामा कोभिड फेला परेको हो । अघिल्लो सातासम्म संक्रमितको संख्या २ सयको हाराहारीमा मात्रै थियो । कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएपछि कोभिड त्रास पनि कम हुँदै गएको थियो । तर, पछिल्लो समय छिमेकी देश भारतसहित विभिन्न देशमा कोभिड संक्रमितको संख्या बढ्न थालेको छ । नेपालमा पनि कोभिड संक्रमितको संख्या बढ्न थालेपछि सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न गराउन सार्वजनिक रुपमा आग्रह गरिरहेको छ । तर, राजनीतिक दलहरुको आव्हानमा हुने भेला तथा सभाहरु रोकिएका छैनन् । विद्यालय, सिनेमा घर, पार्क जस्ता सार्वजनिक स्थल र बढी भिडभाड हुने ठाउँहरु खुल्ला नै छन् । कोभिड संक्रमणको यो अवस्था आउँदा पनि स्वास्थ्य सुरक्षामा ध्यान नदिइएको र कोभिड संक्रमण विरुद्ध पूरै बेवास्ता गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलमा देखिएको भिडले पनि पुष्टी गरेको छ । कम्तिमा २ मिटरको दुरी कायम गरिनु पर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड सो बिमानस्थलामा पालना गरिएको पाइएन । हामीले यहाँ प्रस्तुत गरेका तस्वीरहरु शुक्रबार साझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको दृष्य हो ।