बिहीबार ५३४ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
काठमाडौं । बिहीबार नेपालभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ४९० र एन्टिजेन परीक्षणबाट ४४ जना गरी ५३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयको तथ्यांक अनुसार देशभर ४ हजार १५२ पीसीआर परीक्षण र ५६४ एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०र१० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६६ पुगेको छ। गत २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन्। योसँगै हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ। हाल देशभर ४ हजार ३८४ जना संक्रमित आइसोलेसनमा रहेका छन्। ती मध्ये ३ हजार ८९४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन्। देशभर ९१ जना आइसीयु र ३५ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् भने ६८ जना क्वारेन्टाइनमा रहेका छन्।
दूतावासको पत्रका आधारमा भारतीय नागरिकलाई कोरोना विरुद्धको खोप
काठमाडौं । पछिल्लो समय भारतीय नागरिकले नेपालमा आएर कोरोना विरुद्धको खोप लगाउन थालेपछि खोप लगाउन दूतावासको पत्र अनिवार्य गरिएको छ । चीनमा बनेको कोरोना विरुद्धको खोप लगाउन भारतीय व्यापारीहरु नेपाल आएपछि नेपाल सरकारले भारतीय दूतावासकाे पत्र अनिवार्य गरेकाे हाे । भारतबाट नेपाल आएर खोप लगाएपछि दूतावासको पत्र नल्याउने भारतीय व्यापारीहरूलाई खोप दिन बन्द गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । पछिल्लो समय हवाई मार्गबाट नेपाल आएर कोरोना विरुद्धको खोप लगाउने भारतीयको संख्यामा बृद्धि हुँदै गएको छ । अस्पतालको तथ्यांक अनुसार २० भन्दा बढी भारतीय व्यापारिले खोप लगाएर फर्किसकेका छन् । नेपालमा नै लामो समयदेखि बसोबार गरेका भारतीय नागरिकलाई कारोना विरुद्धको खोप लगाउने दूतावासको पत्र अनिवार्य गरिएको अस्पतालले जनाएको छ ।
हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा सुरु
हेटौँडा । हेठौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ । शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा प्रवीण श्रेष्ठले जानकारी दिए । अस्पतालमा ल्याब्रोटोरी मेसिनका माध्यमले क्यान्सर पत्ता लगाउन सुरु गरिएको हो । रगतका माध्यमले गरिने यो परीक्षणबाट महिलाको पाठेघर, अण्डकोष र पुरुषको प्रोस्टेड परीक्षणका लागि काम सुरु गरिएको उनले बताए । रगतका माध्यमले पत्ता लगाइने क्यान्सर जचाउन आउने सेवाग्राहीलाई अस्पतालले सस्तोदरमा सेवा दिएको उनले बताए । सरकारी अस्पताल बाहिर परीक्षण गर्दा तेब्बर मूल्य तिर्नुपर्ने बाध्यता भोग्दै आएका सेवाग्राहीका लागि यो सेवा प्रभावकारी हुने उनले जानकारी दिए । । यसैगरी शरीरको हड्डी कमजोर भएकालाई भिटामिन डी र शरीरमा भिटामिनको मात्रा पुग्छ कि पुग्दैन भनेर गरिने डी १२ कोे परीक्षण पनि सुरु गरिएको छ । हेटौँडा अस्पतालमा एकपछि अर्को सेवा थपिँदै जानाले मकवानपुरसहित छिमेकी चितवन र बारा जिल्लवासीका लागि सामान्य बिरामी हुँदा पनि भरतपुर र काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा बालरोग विशेषज्ञ, सर्जरी विशेषज्ञ, हड्डी रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, फिजियोलोजिष्टलगायतका विविध रोगका विज्ञ चिकित्सक रहेका छन् । सरकारी मान्यताअनुसार ५० शय्याको यस हेटौँडा अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमा रहेको छ । अस्पतालमा मकवापनुर जिल्लासहित बारा, पर्सा र चितवन जिल्लावासीले समेत नियमितरूपमा सेवा लिँदै आएका छन् । बिरामीको नियमित उपचारबाहेक हेटौँडा अस्पताललले विभिन्न जटिल प्रकृतिका नाक, कान, घाँटी, हड्डी, पत्थर, आन्द्रा, पाठेघरलगायतका उचित शल्यक्रियासमेत यस अस्पतालबाट सेवा प्रभाव गर्ने गरिन्छ । वाग्मती प्रदेश सरकारमातहत हेटौँडा अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ चिकित्सक तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न गरेको छ । अस्पतालमा ५२ मेडिकल अफिसरसहित २१० कर्मचारी कार्यरत छन् । रासस