अति आवश्यक परे मात्र अस्पताल आउनु: भरतपुर अस्पताल

चितवन । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको सङ्क्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने जनाइएको छ । अपिलमा भनिएको छ ‘अति आवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौँ ।’अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, साबुनपानीले समय समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेजस्ता कार्य अनिवार्यरूपमा पालना गर्न पनि अपिलमा आग्रह गरिएको छ । अपिलमा कोभिड सङ्क्रमण हुनबाट आफू बच्न र अरुलाई पनि बचाउन भनिएको छ । यो अस्पताल सङ्घीय अस्पताल हो । यहाँ १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यहाँ दैनिक दुई हजारभन्दा बढीसम्म बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १४९ पुगेको छ । तीमध्ये सक्रिय सङ्क्रमित २१० रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सङ्क्रमितमध्ये १८० होम आइसोलेसन र ३० जना अस्पतालमा उपचाररत रहेको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनका अनुसार कारोना सङ्क्रमणबाट ११४ को मृत्यु भइसकेको छ ।

गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए । दोस्रो चरणको भाइरसको सङ्क्रमण तीव्र भएकाले स्वास्थ्य सतर्कता अपनाउन पनि उनले नगरवासीमा आह्वान गरेका छन् । भौतिक दूरी कायम गर्न, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र निस्कनुपरेमा अनिवार्य मास्क लगाउनेलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नगरपालिकाले आह्वान गरेको छ । स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै कोरोना पोजेटिभ भई स्वास्थ्य जटिलता आएर अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स चालक अर्जुन श्रेष्ठको मोबाइल नं ९८४३०९५४४५ मा सम्पर्क गर्न नगर प्रमुख चालिसेले बुधबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । यसैबीच कोरोनाको सङ्क्रमण पुनः फैलन थालेपछि नगरपालिकाले चालू शैक्षिक सत्रको अन्तिम परीक्षा यही वैशाख १६ गतेदेखि गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा शाखाले बुधबार सामुदायिक एवं संस्थागत विद्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

आदेश उल्लङ्घन गर्नेलाई कारवाही

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गरेका हुन् । उनले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताए ।   यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । “आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ”, जारी गरिएको अपिलमा उल्लेख छ ।   आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफँैले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ ।   सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने देखिएको बताए । आजमात्र दुई हजार ३५१ मा सङ्क्रमण देखिएको थियो ।