पूर्वराजा र रानी नर्भिक अस्पतालमा भर्ना
काठमाडाैं । कोरोना संक्रमित भएका पूर्वराजा र रानी नर्भिक अस्पतालमा भर्ना भएका छन् । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह आज दिउँसाे १ बजे अस्पतालमा भर्ना भएकाे अस्पतालले जानकारी दिएकाे छ । केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । अस्पतालकाे अनुसार उनीहरु तीनैजनाको अवस्था सामान्य रहेको छ ।
बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु
बाँके । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना सङ्क्रमितको मृत्यु भएको छ । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ ।
टेकू अस्पताल भरिसक्यो, रिफर गर्न अन्य अस्पतालमा पनि बेड भेटिँदैन: डा अनुप बास्तोला
काठमाडौं । यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोनाभाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौँ । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं-हामी सचेत र चनाखो हुँदैनौं । मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ । अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । तर, टेकू अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन । विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । हामी एकदमै डरलाग्दो अवस्थाको संघारमा छौँ । घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौँ भने, के होला अवस्था ? जताजतै खुला छ र कोरोनाभाइरसको संक्रमण दिन दुई गुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए । हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो । यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं । कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं । हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो । संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ, स्वास्थ्य सेवा डामाडोल हुन सक्छ । अस्पतालमा बेड नपाउने समस्या त छदैँछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्यौल पनि उस्तै छ । कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ । कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ । एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् । तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ । ‘चेन ब्रेक’ नगरी हामीले सम्हालिने मौका पाउने छैनौं । अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ । कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौँ । सुरक्षाका सबै मापदण्ड अपनाऔँ । अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौँ । यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ-कहाँ चुक्यौँ । (संक्रमण रोग विशेषज्ञ डा अनुप बास्तोलाको फेसबुकबाट साभार)