फेरि निषेधाज्ञा गर्ने सीसीएमसीकाे निर्णय, मन्त्रिपरिषदमा सिफारिस
काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड-१९) सक्रिय संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ। आइतवार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी र शहरी क्षेत्रमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो। सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । यस्तै (सीसीएमसी)ले सबै परीक्षा स्थगित गर्न पनि सिफारिस गरेको छ।
आइतबार ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १४ सय बढी
काठमाडौं । नेपालमा आइतबार ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयका प्रवक्त प्राडा जागेश्वर गौतमको अनुसार आज ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएको ३१२२ जनामा उपत्यकाका मात्रै १४९८ जना रहेका छन् जसमा काठमाडौंका ११३२, ललितपुरको २७० र भक्तपुरको ९६ जना रहेका छन् । यो सहित नेपालमा सकृिय कोरोना संक्रमितको संख्या १९ हजार ३५२ जना पुगेको छ । यस्तै आज ४५० जना निको भएसँगैं हालसम्म २ लाख ७७ हजार ५७३ जना निको भएर घर गइसकेका छन । आज काेराेना संक्रमणकाे कारण २८ जनाकाे मृत्यु भएकाे छ ।
नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरी आएकाको पीसीआर नगर्नू: स्वास्थ्य मन्त्रालय
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरी आएका विदेशी नागरिककाे पीसीआर टेष्ट नगर्न प्रयाेगशालालाई निर्देशन दिएकाे छ । यसरी नेपाललाई ‘ट्रान्जिट’ बनाएर आउनेहरुबाट संक्रमण झनै बढ्ने भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै सबै प्रयाेगशालालाई यस्ताे निर्देशन दिएकाे हाे । मन्त्रालयले कुनै व्यक्ति वा प्रयोगशालाले कोभिड–१९ प्रयोगशाला निर्देशिका–२०७७ अनुसार परीक्षण नगरेको पाइए नियमानुसार कारबाही गरिने चेतावनी पनि दिएको छ । नेपाली नागरिक, कूटनीतिक नियोग तथा मिसनका कर्मचारी तथा निजका परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई भने मन्त्रालयले परिचयपत्रका आधारमा पीसीआर परीक्षण गर्न अनुराेध गरेकाे छ ।