राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो ।

आइतबार ६ हजार ६३६ जनाले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ६३६ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ जना र एन्टीजेटमाफर्त ४५५ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ८९८ पुगेको छ ।

मिदासबाट प्याब्सन र एनप्याब्सनका कर्मचारीलाई १ महिना नि:शुल्क भिडियाे स्वास्थ्य परामर्श

काठमाडौं । प्याब्सन र एनप्याब्सनका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरु घरमै बसेर डाक्टरसँग एक महिनाको निशुल्क भिडियो काउन्सिलिङ सेवा पाउने भएका छन् । दुई संस्थाले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्ना कर्मचारीहरुको लागि यस्तो सेवा ल्याएको जनाएको छ । कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न मिदासले मेराे डाक्टर भिडियाे सेवा सुरु गरेकाे छ । मिदास टेक्नोलोजीजले सञ्चालनमा ल्याएको मेरो डाक्टर मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध छन् । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट मेरो डाक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नछन् । मेराे डाक्टरबाट सेवा कसरी लिने ? १। बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट यो टेलिमेडिसीन सेवा लिन सक्नुहुनेछ । २ । यदि एन्ड्राेइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट मेरो डाक्टर‘ एप डाउनलोड गर्न सकिन्छ । ३ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर मेरो डाक्टर एप डाउनलोड गर्न सकिन्छ । ४ । ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा http://www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिन्छ । ५ । मेराे डाक्टर कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा http://www.merodoctor.com/help ले तपाईँलाई थप मद्दत गर्नेछ । तपाईँहरूको सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।