सबै नागरिकले छिट्टै खोप पाउँछन, स्वास्थ्यमन्त्री तामाङ
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकारले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताए । मंगलबार बागमती प्रदेश स्काउट अन्र्तगत गोकर्णेश्वर नगरपालिकाको स्थानिय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड – १९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताएका हुन् । उनले खोप ल्याउने क्रम जारी रहेको भन्दै उमेर समुह अनुसार क्रमशः खोप दिदैँ जाने भन्दै दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुलाई छिट्टै खोप ल्याएर दिइने जानकारी दिए । ‘हामी खोप छिट्टै ल्याउँदैछौ । खोपहरु आउनेछ । हामी धेरै पहलकदमी गरिरहेको छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु’, उनले भने, ‘खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समुहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेका हरुका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिबद्ध छौँ । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।’ बागमती प्रदेश स्काउटले बागमती प्रदेशभित्रका जिल्लाहरुमा स्थानीय स्काउट कार्यक्रम अन्र्तगत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि सुरुवात गरेको छ । कोभिड– १९ संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सूचना तथा जानकारीहरु बजाउँदै टोल–टोलमा मोटरसाइकल मार्फत् सूचना दिने अभियानका संयोजक सुदर्शन बजगाँईले जानकारी दिए । आगमी १५ दिनसम्म उक्त कार्यक्रम सञ्चालन गर्ने र प्रभावकारिता हेरेर थप गर्ने स्काउटले जनाएको छ ।
नेपाल आइपुग्यो जर्मन सरकारले दिएको स्वास्थ्य सामग्री
फाइल फाेटाे काठमाडौं । जर्मनीले नेपाल सरकारलाई कोभिड– १९ विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन । जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुमा ११२ थान भेन्टीलेटर, २० लाख ६८ हजार ५०० थान के ९५ मास्क, २९ हजार थान पल्स अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टर टेन्ट, ४०० गमबुट र २५ हजार लिटर हातमा प्रयोग हुने किटनाशक औषधिहरु रहेको नेपालका लागि जर्मनी राजदुतावासले जनाएको छ । जर्मनी सहयोग लिदैँ स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले जर्मन सरकार नेपालको लामो समयदेखिको विकास साझेदार र असल छिमेकी रहेको उल्लेख गर्दै ठुलो परिणाममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे । सहयोग हस्तान्तरण गर्दै नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले जर्मनीले प्रदान गरेको सहयोग युरोपेली प्रयासको एक हिस्सा भएको बताए । उनले वास्तविक रुपमा आवश्यक परेको ठाउँमा उक्त स्वास्थ्य सामग्रीहरु पुग्नेमा विश्वास पनि व्यक्त गरे । राजदुत सेफरले इयुले ९० देशहरुमा २४ करोड खोप निकासा गरीसकेको जानकारी दिदै कम आय भएका देशहरुलाई कम मुल्यमा कोभिड विरुद्धको खोप पु¥याउने प्रतिबद्धता जनाएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले भन्यो–बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्नुस
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको हाे । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताए । उनका अनुसार उजुरीको आधारमा त्यस्ता स्वास्थ्य संस्थालाई नियमानुसार कारवाही गरिनेछ । सरकारले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई तीन हजार ५०० प्रतिदिन, मध्यमबिरामीका लागि सात हजार प्रतिदिन र गम्भिर प्रकृतिका बिरामीलाई १५ हजार प्रतिदिन तोकेको छ । उक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा सङ्क्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ । सरकारले सबै सरकारी अस्पताल र मन्त्रालयले सार्वजनिक गरेको सूचिअनुसार सेवा सम्झौता गरेका नीजि अस्पतालमा सङ्क्रमितको भने निःशुल्क उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयले सरकारले तोकेको शुल्कअनुसार सङ्क्रमितको उपचार भए वा नभएकोबारे लिएका अनुगमन गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सरकारले तोकेभन्दा बढी शुल्क लिने अस्पताललाई कारवाही गर्न उद्योग मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिए ।