‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिए । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए । कहिलेबाट लगाइने भन्ने अझै टुङ्गो लागेको छैन । खोपको पहिलो मात्रा लगाएको १२ देखि १६ हप्ता बीचमा दोस्रो मात्रा लगाइसक्नुपर्ने हुन्छ । ‘खोप उत्पादक कम्पनी र कोभ्याक्स सुविधा दुवैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा कोभिशिल्डको दोस्रो मात्रा दिन नसकिएको जानकारी गराउँछाँ’, उनले जारी गरेको सूचनामा भनिएको छ, ‘उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनिका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाइएको छ ।’ उनले एस्ट्राजेनिकाको दोस्रो मात्राको खोपका लागि प्रतीक्षारत रहनसमेत आग्रह गरे । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले ती व्यक्तिले लगाउन पाएका छैनन् । सरकार कोभिशिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरीद गरेको १० लाख मात्रा खोप नआएपछि दोस्रो मात्राको खोप दिन असमर्थ भएको हो । उनले खोपको पहिलो मात्राले पनि कोभिड–१९ रोगबाट बचाउन मद्दत गर्ने उल्लेख गरेका छन् । नेपालमा अहिलेसम्म करीब २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप र छ लाख ९१ हजार १८४ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मङ्गलबार मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप प्रदान गर्दैछ ।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पनि सम्पत्ति सार्वजनिक गर्ने
काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पनि सम्पत्ति सार्वजनिक गर्ने भएका छन् । मन्त्री तामाङले साेमबार पत्रकार सम्मेलन गर्दै सम्पत्ति सार्वजनिक गर्ने बताएका हुन् । उनले केही बेरमा मन्त्रालयकाे वेभसाइट मार्फत आफ्नाे सम्पत्ति सार्वजनिक गर्ने बताएका छन् । केही दिन अघि पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो सम्पत्ति सार्वजनिक गरेका थिए ।
सङ्क्रमण घटेसँगै कोहलपुरस्थित शिक्षण अस्पतालमा सुरु भयो ओपिडी सेवा
राँझा । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन ल्याएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमण घटेसँगै आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए । उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणका बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा सुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस सङ्क्रमित र सङ्क्रमित नभएका दुबैको उपचार सेवा नियमित गर्नेछ । यसअघि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित नभएका र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित भएका बिरामीको उपचार हुँदै आएको थियो । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरले कोरोना सङ्क्रमित बिरामीको उपचार, शल्यक्रियालगायत सेवा दिइरहेको थियो । शिक्षण अस्पताल नेपालगञ्जमा भने पहिले देखि नै ओपीडीलगायत सेवाको निरन्तरता थियो । कोरोना उपचार केन्द्रका रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालको ओपीडी सेवा भने अझै सञ्चालन हुन सकेको छैन । बाँके जिल्लामा कोरोना सङ्क्रमण दर घटेको जस्तो देखिएपनि छिमेकी जिल्लाहरुबाट प्रेषण भएर आउने बिरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा. संकेत रिसालले बताए । उनका अनुसार, भेरी अस्पतालमा १४२ शय्याको कोभिड वार्डमा अहिलेपनि १३६ बिरामी उपचाररत छन् । तीमध्ये ९० प्रतिशत बढीलाई अक्सिजन सहायतामा उपचार भइरहेको बताइएको छ । कोराना भाइरस सङ्क्रमणका कूल बिरामीमध्ये ४० प्रतिशत भन्दाबढीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।