दाँतको नियमित परीक्षण नगर्दा उपचार महङ्गो

चितवन । नियमित सरसफाइ र परीक्षण गर्न सके दाँतको समस्याको रोकथाम गर्न सकिने चिकित्सकले बताएका छन् । अन्तिम समयमा उपचार गर्नुपर्दा अत्यधिक महङ्गो हुने उनीहरुको भनाइ छ । विश्वका कतिपय मुलुकमा रहेका नेपाली आफ्नो कमाइले उपचार गर्न नसकेपछि उपचारकै लागि नेपाल आउने गर्दछन् । दाँतको उपचार र सरसफाइ बच्चा जन्मेको एक वर्षदेखि शुरु गर्नुपर्ने भए पनि समस्या आएपछि मात्रै उपचारमा लाग्ने बानीका कारण समस्या जटिल र महङ्गो पर्ने गरेको हो । भरतपुर अस्पतालका दन्तरोग विभाग प्रमुख डा अजय न्यौपाने समय–समयमा परीक्षण र नियमित सरसफाइ गर्न सके दन्त समस्याको समाधान हुने बताउँछन् । उनले भने, ‘दिनमा दुईपटक ब्रस गर्ने र एकपटक डेन्टल फ्लस (एक प्रकारको धागोले दाँतको कापमा रहेको खाना सफा गर्ने प्रविधि) गर्ने हो भने दाँतको धेरै समस्या समाधान हुन्छ ।’ बच्चा जन्मिएको एक वर्षपछि वर्षमा दुईपटक दाँतको परीक्षण गर्न उनको सुझाव छ । प्रत्येक दिन बिहान र बेलुका १०/१० मिनेट समय दिन आग्रह गर्दै उनले थपे, ‘दैनिक दाँतका लागि २० मिनेट समय दिनुहोस्, कहिल्यै दाँतको समस्या आउँदैन ।’ बच्चाको हकमा फ्लोराइडयुक्त पेष्ट प्रयोग गर्न र वयस्कले मेडिकेटेड पेष्ट प्रयोग गर्न पनि उनले सुझाव दिए । नब्बे प्रतिशत नेपालीले बिहान मात्रै दाँत माझ्ने गरेको भन्दै उनले जटिल समस्या भएपछि मात्रै अस्पताल आउने गरेको अनुभव सुनाए । दाँतहरुको कापमा अड्किएर बसेका खानेकुराले गर्दा किटाणु उत्पन्न भएर दाँत किराले खाने उनको भनाइ छ । फ्लस अर्थात् धागोले नियमित सफा गर्ने र दुईपटक ब्रस गरेमा छ वर्ष मानिसको आयु बढ्ने अन्तर्राष्ट्रिय तथ्य रहेको न्यौपानेले जानकारी दिए । दाँतभित्र रक्तसञ्चार बढी हुने र टाइटेनियमजस्ता महङ्गा धातुबाट बनेका उपकरण प्रयोग गर्नुपर्दा दन्त उपचार महङ्गो हुने गरेको हो । एउटालाई प्रयोग गरेको उपकरण अरुलाई प्रयोग गर्न मिल्दैन । दाँत उपचारमा प्रयोग हुने उपकरणलाई कस्मेटिकमा राखेर राज्यले कर छुट नदिने हुँदा पनि महङ्गो पर्ने गरेको उनको भनाइ छ । दाँतको नियमित परीक्षण गर्न नआउने गरेको उनको गुनासो छ । भरतपुर अस्पतालमा मात्रै १० दन्त चिकित्सक छन् । उनीहरुले नियमित सेवा दिने भए पनि अन्य बिरामीको तुलनामा न्यून मात्रै बिरामी आउने गरेको न्यौपाने बताउँछन् । उनले भने, ‘नेपालमा नियमित परीक्षण गर्ने संस्कार नै छैन ।’ भरतपुरको चौबीसकोठीमा रहेको श्री डेन्टलका कन्सल्टेन्ट अर्थाेडेन्टिष्ट, डेन्टल सर्जन डा पूजा कोइराला पोखरेल उपयुक्त विधिबाट ब्रससमेत नगरेका कारण दाँतमा समस्या आउने गरेको बताउँछिन् । उनले भनिन्, ‘माथि–तल र गोलाकार (सर्कल) तरिकाले ब्रस गर्नुपर्छ ।’ यस विषयमा आफूले विभिन्न विद्यालयमा गएर प्रत्यक्ष सिकाएको जानकारी दिइन् । अन्य रोगको तुलनामा दाँत रोगको बारेमा जनचेतना अत्यन्त कम भएको भन्दै उनले आम नागरिकलाई दाँतको सुरक्षाका बारेमा जानकारी दिन सकेमा समस्या कम हुने बताइन् । नियमित परीक्षण गर्ने बानी नै हामीकहाँ नभएको उनको बुझाइ छ । सुखी जीवन जिउन थालेसँगै घर बाहिरका खाना (जङ्क फुड) को प्रयोग बढेर दाँतको समस्या पनि सँगै बढेको उनको भनाइ छ । हिजोआज दाँत किराले खाएर सहनै नसक्ने गरी दुखेर आउने, बुद्धिबङ्गारा निस्किएर आउने बिरामी बढी भएको उनले जानकारी दिइन् । कोभिडका कारण दुख्दासमेत खपेर घर बसेका कारण दाँतको सङ्क्रमण फैलिएर बिरामी आउन थालेको भन्दै उनले भनिन्, ‘दाँतको उपचार समयमै गरे कम खर्चिलो र दुःख कम हुन्छ ।’ साइराम डेन्टल केयरका सञ्चालक दन्तरोग विशेषज्ञ डा सरु थापा दाँत सफा गर्न हुँदैन भन्ने भ्रमका कारण पनि समस्या आएपछि मात्रै बिरामी आउने गरेको बताउँछिन् । उनले भनिन्, ‘गिजामा समस्या हुँदैमा उपचार गरेमा सहज हुने भए पनि हड्डीसम्म पुगेपछि थप जटिल बन्दछ ।’ समयमा उपचार गर्न आएमा यो समस्या सामान्य अवस्थामै हल गर्न सकिने उनको भनाइ छ । बालबालिकालाई गुलियो मिठाइलगायतका वस्तु खान दिएपछि मुख कुल्ला गर्न सिकाउनुपर्ने बताउँदै उनले भनिन्, ‘अस्पतालमा आउने बिरामीमध्ये ९० प्रतिशत बालबालिका छन् ।’ पछिल्ला वर्षमा बजारका तयारी खाना खाने र मुख सफा नगर्दा समस्या बढेर गएको भन्दै उनले अभिभावकले जागरुकता देखाउनुपर्ने सुझाव दिइन् । तीन वर्षभित्र बच्चाले जानेका सीप जीवनभर गर्ने भन्दै उनले भनिन्, ‘बच्चालाई बिहान बेलुका ब्रस गर्न सिकाउनुपर्छ, जसले गर्दा उसले जीवनभर यो सीप प्रयोग गरेर दाँतलाई बचाउन सक्छ ।’ दाँत दुखेपछि मात्रै अस्पताल आउने परम्पराको अन्त्य गर्दै छ/छ महिनामा नियमित परीक्षण गर्नुपर्ने डा थापाले सुझाव दिइन् । विदेशमा दाँतको उपचार महङ्गो हुने हुँदा नेपालबाट विदेश जानुअघि र आएका बेला परीक्षण गर्न धेरै आउने गरेको उनको अनुभव छ । नारायणगढ, भरतपुर र रत्ननगरमा क्लिनिक सञ्चालन गर्दै आएकी डा थापाले दाँतको उपचार नेपालमा धेरै सस्तो रहेको बताइन् । उनले भनिन्, ‘विकसित मुलुकको तुलनामा नेपालमा ८० प्रतिशत सस्तोमा दाँतको उपचार हुन्छ ।’ रासस

फेरि बढ्यो काेराेना सङ्क्रमण दर

काठमाडाैं । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो । निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा सङ्क्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो । सङ्क्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ । जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले भने, ‘पछिल्लो समय कामपामा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने अवस्थामा छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था फेरि जटिल बन्न सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।’ उनका अनुसार सधैँ लकडाउन गरेर पनि सम्भव हुँदैन केन्द्र सरकाले सक्दो छिटो सबै नागरिकलाई खोपको व्यवस्था गर्न आवश्यक छ । खोप ल्याइसकेपछि पनि बढी आवश्यकता भएको र मानिसको बढी भीड भएको स्थानमा प्राथमिकता हेरी प्रभावकारीरुपमा अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । कामपाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार अहिले परीक्षणका लागि नागरिक केन्द्रसम्म पनि आउँदैनन् । परीक्षणभन्दा पहिले नागरिकले खोपको माग गरेका छन् । रासस

वाग्मती प्रदेश सरकारद्वारा खोपका लागि दुई अर्ब विनियोजन

वाग्मती । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ । सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा श्ययाको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरहेको जानकारी दिए । चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उहाँले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि दुई अर्ब बजेट विनियोजन गरिएको बताए । मन्त्रालयको गतिविधिका बारेमा आज यहाँ सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले खोप खरीदका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको रसंभव नभएमा सङ्घीय सरकारसँग सहकार्य गरेर खोप लगाउने ल्याउने प्रतिवद्धता जनाए । उनले कोरोना सङ्क्रमणबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेसमेत आग्रह गरे । यसैबीच प्रदेश सरकारलाई ‘एसटिसी ग्रुप’ नामक सस्ंथाद्वारा २०० अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र उप्रेतीले हालै सामाजिक विकास मन्त्रालयलाई ती सिलिण्डर हस्तान्तरण गरेकाे जनाइएको छ ।