साउन ६ गतेदेखि खोप लिन नियमित जहाज चीन जाने
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो । निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिए । उनका अनुसार चीनसँग खरीद गरिएका खोप लिन यही साउन ६ गते पौनै ६ः०० बजे गएर अर्को दिनअर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । चीन सरकारसँग ननडिस्क्लोलर सम्झौताअनुसार सरकार ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन थालेको हो । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ । यसैगरी सरकारले खरीद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि सरकारले खोप ल्याइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धताअनुसार खोप आइरहेको जानकारी दिए । सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो । यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । सरकारले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाइरहेको छ । असार २९ देखि यही साउन २ गतेसम्म मुलुकभरि नै खोप लगाउन थालिएको हो । भेरोसेल ५५ वर्ष र सोमाथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइँदैछ । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । नेपालमा अहिलेसम्म पहिलो मात्रा २६ लाख २१ हजार ४७६ र दोस्रो मात्रा ११ लाख आठ हजार ८६८ ले लगाइसकेका छन् । नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।
एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का
फाइल फाेटाे पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित भएका हुन् । उनका अनुसार रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । उनले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए । अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए । पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेशन सञ्चालन गरेको छ । सङ्क्रमितलाई निःशुल्क उपचार, औषधि र अक्सोमिटरसमेत वितरण गरिँदै आएको छ । पर्वतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० रहेको छ । दोस्रो लहरमा सङ्क्रमित भएका दुई हजार १४६ मध्ये एक हजार ९२१ जना निको भएका हुन् । कोरोना सङ्क्रमणबाठ अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् ।
थप दुई हजार ६७६ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर तथा चार हजार ५१२ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ७८२ र ८९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस अवधिमा देशभर ३३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार ४६३ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ६ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २६ हजार ४६८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।