काठमाडौंमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाउने अन्तिम दिन
काठमाडौं । काठमाडौं जिल्लामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाउने अन्तिम दिन रहेका छ । ५० दखि ५४ वर्षको लागि ४ गतेबाट सुरु भएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यक्रम आज अन्तिम दिन रहेको छ । (साउन ४ गते) देखि आजसम्म पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई उक्त खोप दिइने काठमाडौं महानगरका जनस्वास्थ्य प्रमुख बद्री बहादुर खड्काले बताएका छन् । जोन्सन एण्ड जोन्सन खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो । यो खोप एक डोज लगाए पुग्छ । उक्त खोप बिहान १० बजे देखि साँझ ४ बजेसम्म लगाइने व्यवस्था रहेको खड्काले बताएका छन् । काठमाडौं महानगरपालिकाले उक्त खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । खोप केन्द्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, बानेश्वर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल पानीपोखरी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, पिपल्स डेण्टल तथा जनरल अस्पताल सोह्रखुट्टे, हिमाल अस्पताल ज्ञानेश्वर, सामुदायिक स्वास्थ्यसेवा परिषद डल्लु, छत्रपाटी निःशुल्क चिकित्सालय छत्रपाटी र जनमैत्री अस्पताल बालाजुमा तोकिएको छ । त्यसैगरी मनमोहन अस्पताल स्वयम्भू, काठमाडौं मोडल अस्पताल प्रदर्शनी मार्ग, ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर धुम्बाराही, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, नेशनल हस्पिटल कलङ्की, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र गौशाला, कान्तिपुर अस्पताल तीनकुने, राधास्वामी आइसोलेशन सेन्टर बसुन्धरा र जनकल्याण माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ । नरदेवी आयुर्वेद अस्पताल नरदेवी, महेन्द्रनारायणनिधि अस्पताल बसुन्धरा, नेपाल भारत मैत्री अस्पताल चावहिल, मेट्रो अस्पताल नारायण गोपाल चोक, इरा इन्टरनेशनल अस्पताल सोह्रखुट्टे र हेल्पिङ् ह्याण्ड्स अस्पताल चावहिलमा केन्द्र रहेको छ । कामपाले हालसम्म सात प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाएको छ भने १६ प्रतिशत नागरिकले एक मात्रा मात्र खोप लगाएका छन् ।
अब यती एअरलाइन्स तथा तारा एअरले एयरलिफ्ट एम्बुलेन्स सेवा दिने, मेडिसिटीसँग भयो सम्झौता
काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरलेबीच मंगलबार द्विपक्षीय सम्झौता भएको छ । एयरक्राफ्ट मार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एअरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालिन उद्धार उडान गर्न समेत सहज हुने भएको हो । नेपाल मेडिसिटी अस्पतालले बिरामीहरुलार्ई हवाई तथा ग्राउण्ड एम्बुलेन्समार्फत आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने आशा अस्पतालका महाप्रबन्धक विजय रिमालले राखेका छन् । उनका अनुसार अस्पतालद्वारा एयरलाईन्स्का उडानदल तथा विभिन्न स्थानका ग्राउण्ड ह्याण्डलीङ कर्मचारीलाई प्री हस्पिटल केयर अर्थात अस्पताल आउनुपूर्वको प्राथमिक उपचार र आकस्मिक उद्धारका विषयमा प्रशिक्षण प्रदान गरिनेछ । यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपाल मेडिसिटी अस्पतालसंगको सहकार्यले हाम्रा उडानसेवा उपलब्ध हुने स्थानहरुबाट आकस्मिक उपचार तथा एयरलिफ्ट गरी थप उपचारको लागी आवश्यक हुने बिरामीहरूको आवश्यकता अनुसार जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुने छ । साथै, आवश्यक परेको खण्डमा एक भन्दा बढि बिरामी र बिरामीका पक्षलाई उपचारका लागि स्थानान्तरण गर्न सक्षम रहेको उनले खुलाए । उनका अनुसार यस महामारीको विषम परिस्थितीमा यस प्रकारको सेवाले दुर्गम क्षेत्रका जनताले समयमै उपचार पाउन सहज हुने बताए । देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यस सम्झौताले विशेष भूमिका खेल्न सक्नेछ । आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती एअरलाईन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुनेछ ।
मंगलबार ३ हजार १०८ जनामा संक्रमण पुष्टि, संक्रमण बढ्दै
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ३ हजार १०८ जनामा सक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो । आज ८ हजार ८३६ जनाको पिसिआर र ४ हजार २९९ जनाको एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो । यस्तै १ हजार ५९५ जना पछिल्लो २४ घण्टामा संक्रमण मुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।