‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन काठमाडौं महानगरले तोक्यो २८ केन्द्र (नामसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आज (साउन ४ गते) देखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई उक्त खोप दिइने व्यवस्था गरिएको छ । कामपाले यसपटक करीब ७६ हजार मात्रा खोप माग गरेको छ । सरकारले खोपका लागि तोकेका समूहको सङ्ख्यालाई २०६८ को जनगणना र जनसङ्ख्या वृद्धि दरका आधारमा विश्लेषण गरेर यो सङ्ख्यामा खोप मागेको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ । जोन्सन एण्ड जोन्सन खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो । खोप केन्द्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, बानेश्वर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल पानीपोखरी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, पिपल्स डेण्टल तथा जनरल अस्पताल सोह्रखुट्टे, हिमाल अस्पताल ज्ञानेश्वर, सामुदायिक स्वास्थ्यसेवा परिषद डल्लु, छत्रपाटी निःशुल्क चिकित्सालय छत्रपाटी र जनमैत्री अस्पताल बालाजुमा तोकिएको छ । त्यसैगरी मनमोहन अस्पताल स्वयम्भू, काठमाडौं मोडल अस्पताल प्रदर्शनी मार्ग, ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर धुम्बाराही, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, नेशनल हस्पिटल कलङ्की, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र गौशाला, कान्तिपुर अस्पताल तीनकुने, राधास्वामी आइसोलेशन सेन्टर बसुन्धरा र जनकल्याण माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ । नरदेवी आयुर्वेद अस्पताल नरदेवी, महेन्द्रनारायणनिधि अस्पताल बसुन्धरा, नेपाल भारत मैत्री अस्पताल चावहिल, मेट्रो अस्पताल नारायण गोपाल चोक, इरा इन्टरनेशनल अस्पताल सोह्रखुट्टे र हेल्पिङ् ह्याण्ड्स अस्पताल चावहिलमा केन्द्र रहेको छ । कामपाले हालसम्म सात प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाएको छ भने १६ प्रतिशत नागरिकले एक मात्रा मात्र खोप लगाएका छन् । रासस

मेची अस्पतालका डा. कपुरीमाथि कुटपिट

झापा । मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताए । ‘हामीले असुरक्षा महसुस गरिरहेका छौं’, उनले भने, ‘बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारवाही हुनुपर्छ ।’ डा कपुरीले घटनाका दोषीमाथि कारवाही गरिपाउँ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजूरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारवाही गर्ने जानकारी दिए । घटनाको छानविन भएर दोषीलाई कारवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन् । रासस

काठमाडौं र ललितपुरमा आजबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु

काठमाडौं । काठमाडौं र ललितपुर जिल्लामा आजबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरिएको छ । दुवै जिल्लाले ५० देखि ५४ वर्षको उमेर समूहलाई जोन्सन एण्ड जोन्सनको ज्यान्सेनको खोप लगाउन सुरु गरेको हो । काठमाडौं महानगरका जनस्वास्थ्य प्रमुख बद्री बहादुर खड्काले साउन ४ गतेबाट ६ गतेसम्म काठमाडौं महानगरपालिकामा रहेको २८ खोप केन्द्र र जिल्लामा रहेको ५५ ओटा खोप केन्द्र उक्त खोप दिइने छ । यस्तै  ललितपुर जिल्लामा साउन ४ र ५ गते मात्र उक्त खोप लगाइने ललितपुर महानगरका जनस्वास्थ्य प्रमुख खगेश्वार गलालले जानकारी दिए । उनले सबै वडामा खोप केन्द्र रहेको र त्यही गएर सबैलाई खोप लगाउन आग्रह गरेका छन् । यो खोप एक डोज लगाए पुग्छ ।