चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु
चितवन । चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस विभागको नेतृत्व प्रा डा अनिल आचार्यले गरेका छन् । दश वर्ष काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसक्नु भएका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा शुरु गरिएको हो । आचार्यसँगै कार्डियक सर्जन डा अल्का सिंहसहितको टोली रहेको छ । टोलीले सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरेको हो । आचार्यले भने, ‘मुटुको चार कोठामध्ये माथिको दुई कोठाको बीचमा प्वाल परेको थियो ।’ जन्मजात यो समस्या भएकी २४ वर्षीया युवतीको सफल शल्यक्रिया गरिएको हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उहाँको भनाइ छ । उनले भने, ‘हामी यहाँ गङ्गालालमा हुने खर्चमा मुटुका सबै खाले शल्यक्रिया गर्न सक्छौं ।’ यो सेवा राजधानी केन्द्रत भएपछि मोफसलमा सेवा दिनका लागि आफूले राजधानी छाडेको भन्दै उनले अब मुटुको शल्यक्रियाका लागि राजधानी पुगेर पालो कुर्न नपर्ने बताए । उनले भने, ‘सरकारी अस्पतालमा हुने खर्चमा त्यही सरहको सेवा पालो कुर्न नपरी दिन सक्छौं ।’ मोफसलमा यस विषयमा बुझाउन केही समय लाग्ने भन्दै उनले सरकारले दिने एक लाखको असहाय उपचार सहयोग र स्वास्थ्य बीमाको सेवा पनि यहाँ पाइने जानकारी दिए । सरकारले काठमाडाैंको गङ्गालाल र मनमोहन अस्पतालमा १४ वर्ष मुनि र ७५ वर्ष माथिकालाई मुटुको बाथरोगको शल्यक्रिया गर्दा निःशुल्क गरेको भन्दै प्राडा आचार्यले भने, ‘यो सुविधा मोफसलका अस्पताललाई पनि दिनुपर्छ ।’ मुटुको उपचार राजधानीमा मात्रै केन्द्रीत रहेको बताउँदै उनले भने, ‘म सेवा विकेन्द्रित गर्न चितवन आएको हुँ ।’ काठमाडौँंका स्थायी बासिन्दा डा आचार्यले आफ्नो श्रीमतीको जागिर छुटाएर त्यहाँको भन्दा कम सुविधा लिएर यहाँ आएको बताए । उनले भने, ‘मैले मुटु रोगको सेवा मोफसलमा पनि विस्तार गर्नुपर्छ भन्ने सोचले यहाँ आएको हुँ ।’ राजधानीमा मुटुको शल्यक्रियाका लागि लामो पालो कुर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘चितवनमा यो सेवा नियमित पाउँदा धेरै बिरामीले कम खर्चमा आफ्नै घर नजिकै उपचार पाउँछन् ।’ प्राडा आचार्यको समूहले गङ्गालालमा तीन हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसकेको छ । यसैगरी मेडिसिटी अस्पतालमा प्रमुख कन्सल्टेन्टको रुपमा उनले तीन वर्ष काम गरेका छन् । उनले बङ्गलादेशबाट एमबिबिएस र एमडिपछि सिङ्गापुरबाट फेलोसिप गरेका छन् । अस्पतालका अध्यक्ष न्यौपानेले यहाँ मुटुसम्बन्धी सबै खालको उपचार हुने बताए । अस्पतालमा कार्डियोलोजिसम्बन्धी प्रा डा श्यामराज रेग्मीसहितको टोलीले उपचार गर्ने उनले जानकारी दिए । उनले भने, ‘मुटुसम्बन्धी उपचारका लागि अब राजधानी र विदेश जानु पर्दैन ।’ राजधानी गएर पनि उपचार गर्ने चिकित्सक र आवश्यक उपकरण यही व्यवस्थापन भएकाले राजधानी जान नपर्ने उनको भनाइ छ । अध्यक्ष न्यौपानेले भने, ‘काठमाडौंबाट पनि हामीकहाँ बिरामी आउन थालेका छन् । बाहिरबाट काठमाडौं गएकाले पनि भरतपुर ठीक छ भनेर आउने गरेका छन् ।’ अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पतालले सेवा विस्तार गर्दै आएको बताए । मुटुसँगै कलेजो प्रत्यारोपण, न्यूरो सर्जरीजस्ता जटिल उपचार सेवा पनि अस्पतालबाट दिइँदै आएको उनले बताए । छिट्टै मिर्गाैला प्रत्यारोपण सेवा पनि शुरु गर्न लागिएको उनले जानकारी दिए । राजधानीका अस्पतालमा लामो अनुभव लिएका विज्ञ चिकित्सक यहाँ आएसँगै जटिल किसिमका उपचार सहज बनेको उनको भनाइ छ ।
भक्तपुरमा आज र भोलि पनि जोन्सन एण्ड जोन्सनकाे खाेप लगाईंदै
काठमाडौं । भक्तपुर नगरपालिकामा आज र भोलि (साउन ७ र ८) पनि जोन्सन एण्ड जोन्सनकाे खाेप लगाइने भएको छ । नगरपालिकाका जनस्वास्थ्य प्रमुख रत्न सुन्दर लासिवाले ५० देखि ५४ वर्षको लागि जोन्सन एण्ड जोन्सनको खोप लगाउने जानकारी दिए । नगरपालिकाले साउन ५ र ६ गते पनि जाेन्सन एण्ड जाेन्सनकाे खोप कार्यक्रम सञ्चालन गरेको थियो । तर, खोप बाँकी भएकाले दिन थपिएकाे उनले बताए । नगरपालिकाले खोप केन्द्रको लागि सबैलाई नजिकैको वडा कार्यालयमा सम्पर्क गर्नको लागि आग्रह गरेको छ । नगरपालिकाले आज र भोलि पूर्ण र अति अशक्त अपाङ्गता भएर रातो र निलो कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई उक्त खोप दिनेछ । जोन्सन एण्ड जोन्सनकाे खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो । यो खोप एक डोज लगाए पुग्छ । नगरपालिकाभित्र उक्त खोप बिहान १० बजे देखि दिउँसो २ बजेसम्म लगाइने व्यवस्था रहेको लासिवाले बताए ।
६ अर्ब लगानी थप्दै नर्भिक, सुनसरी र भैरहवामा पनि स्याटलाइट अस्पताल बनाउने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो । ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमकाबीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् । उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजनाको विषयमा जानकारी दिइन् । उनकाे अनुसार सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ विस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गर्ने र अस्पताललाई ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण गरिने उनले बताइन् । उनकाे अनुसार थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको भव्य अस्पतालबाट सेवा संचालन गर्नेछ । ‘आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैया तथा सुनसरीको दुहबीमा पनि १०० शैयाको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ,’ उनले भनिन् । यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख रहेकाे उनले जानकारी दिइन् । पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले बताइन् । यस्तै नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक वसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने–‘संभवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’ उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोंच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमीटेड कम्पनीबाट पब्लिकमा रुपान्तरण गरिएको प्रष्ट पारे । ‘मेरो सपना अझ ठूलो हुँदैछ ।’ उनले थपे,‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन् । हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन् । हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ ।’ सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए । सो अवसरमा नर्भिकको नयाँ संचालक समितिको परिचय निवर्तमान अध्यक्ष बसन्त चौधरीले गराएका थिए भने व्यवस्थापनको उच्च तहको विभिन्न जिम्मेवारीमा आएकाहरुको परिचय प्रबन्ध निर्देशक मेघा चौधरीले गराएकी थिइन् ।