कोरोनाविरुद्धको दुई डोज खोप लगाएकाले बुस्टर डोज लगाऔं: स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । उनले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए । उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए । ‘बोस्टर डोजसँग गाँसिएका कुराहरु आए । यसको नाम बोस्टर भनिए पनि जे भनिए पनि यो तेस्रो डोजको नाम बोस्टर डोज भनियो । ओमिक्रोन आएपछि यसको चर्चा अलि बढी हुन थाल्यो र समाजमा के कुरा गएको छ भन्दा तेस्रो डोज लियो भने अझ सुरक्षित छ भन्ने छ । प्रतिरोधात्मक क्षमता कम भएकाहरुले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको निर्देशन छ । सरकारी संयन्त्रलाई मिलाएर बोस्टर डोज दिने भन्ने कुरा मन्त्रीपरिषद्को बैठकमा प्रदेश हुँदै जिल्ला तहसम्म दिने भइसकेको छ,’ उनले भने । मन्त्री खतिवडाले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । उनले अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताए । मन्त्री खतिवडाले खोपका झोला बोकेर गाउँगाउँमा गई कोरोनाविरुद्धको खोप लगाउन सहयोग गर्न पनि सञ्चारमाध्यम, राजनीतिक दलहरुलाई आग्रह गरे ।
नेपालमा ‘ओमिक्रोन’ आयो भने गाह्रो हुन्छ, त्यसको आवश्यक पूर्व तयारी थाल्नुस्: घर्ती
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो । भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् । सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएकी हुन् । उनले ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिएकी छिन् । त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकि जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरुलाई व्यवस्थित गर्न पनि निर्देशन दिइन् । सभापति घर्तीले भनिन्, ‘खोपलाई छिटो भन्दा छिटो जनताकोमा पुर्याउने कुरा, लगाउने कुरा मन्त्रालयको योजनामा राखिसक्नु भएको छ, हाम्रो समितिको अपेक्षा के हो भने यो कुरा चाँडै कार्यान्वयन होस् भन्ने आग्रह गर्न चाहन्छु, ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ, किनकी थोरै हुन्छन्, त्यस्तो गरे सजिलो हुन्छ, यो व्यवस्था स्वास्थ्य मन्त्रायले गरोस्, खोप लगाउने नियमित समय नतोकिकन खुल्ला राख्नुपर्छ, बाहिरबाट आएका मानिसहरुलाई खोप नगरपालिका, गाउँपालिका र वडामा जतिबेला जान्छन् त्यतिबेला खोप लगाउने व्यवस्था गर्नुपर्छ, हामीले आह्वान गरेको दिन कसैले थाहा पाउला कसैले पाउँदैनन् यस्तो भयो भने सजिलो हुन्छ, ओमिक्रोन त्यति धेरै जटिल रहेनछ भन्ने कुरा हामीले बुझ्यौं, ओमिक्रोनबाट बच्न र आम मानिसमा भय हुन नदिन शतर्कता अपनाउनु पर्छ भन्ने कुराको चेतना दिनुपर्छ, यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्व तयारीको लागि मन्त्रालय लाग्नुस्, नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ, त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुई वटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ, अक्सिजन, भेन्टिलेटरको अवस्था के छ, त्यो बुझ्नुपर्छ, नेपालको समस्या के छ भने एकपटक प्रयोग गरेपछि भताभुङ्ग बनाउने गरेको छ, त्यसलाई व्यवस्थित गनुपर्छ ।’ सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिएकी हुन् ।
दैनिक दुई लाखलाई कोरोना विरुद्ध खोप
फाइल फाेटाे काठमाडाैं । सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी पूरा गरेको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए। “अहिले पनि करिव दुई लाख जनाका हाराहारीमा खोप लगाइरहेका छौँ”, उनले भने, “खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाकन फर्काएका छैनाैं । खोपकेन्द्रमा आएका छन् सबैलाई खोप लगाएका छौँ ।” उनका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पु¥याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । “हामीसँग प्रसस्त्र मात्रामा खोप रहेको छ । अहिले पनि नियमित खोप आइरहेका छन्”, सहप्रवक्ता डा.अधिकारीले उनले भने, “खोप लगाउन कोही पनि नछुटुन भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्नसम्बन्धी जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौँ ।” उनले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पु¥याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए । उनले स्वास्थ्यकर्मी, कर्मचारी र उनका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ । अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कूल जनसङ्ख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ । हिजो मात्र मङ्सिर १७ गते एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएका थिए । यस्तै मङ्सिर १० गते एक लाख ९६ हजार ८५३ जनाले मङ्सिर ११ गते एक लाख १५ हजार ४३४, मङ्सिर १२ गते एक लाख २७ हजार ६११ जनाले, मङ्सिर १३ गते एक लाख ४४ हजार ५३४ जनाले, मङ्सिर १४ गते दुई लाख ११ हजार ५५३ जनाले, मङ्सिर १५ गते दुई लाख २७ हजार ५८४ जनाले र मङ्सिर १६ गते एक लाख ४१ हजार ५५७ जनाले खोप लगाइसकेका छन् । काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयले नौ वटा खोप केन्द्रबाट खोप वितरण गरेको छ । कार्यालयका प्रमुख शम्भु काफ्लेका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल, बल्खुको वयोधा अस्पताल, नयाँ बसपार्कको लोत्से भवन र कोटेश्वरको जडीबुटीबाट नियमित खोप वितरण गरिरहेको छ । ती केन्द्रबाट दैनिक दुई हजार ५०० जनाले खोप लगाइरहेका छन् । उनले १८ वर्ष भन्दामाथिका व्यक्तिलाई खोप अभाव नभएको र जुनुसुकै बेला पनि ती खोप केन्द्रमा खोप लगाउन पाइने बताउनुभयो । उहाँले नगरपालिकाले आवश्यकताअनुसार खोप प्रदान गरिरहेको जानकारी दिए ।