धरानस्थित वी.पी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिदासकाे अनलाइन टिकट सेवा सुरु

काठमाडौं । मिदास टेक्नोलोजीले धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । याेसँगैं अब प्रदेश १ र २ का बिरामीहरूले अस्पतालमा बिहानैदेखि घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने भएका छन् । यो सेवा पूर्वाञ्ञल स्वास्थ्य क्षेत्रमा पहिलो पटक मिदास टेक्नोलोजीले सफ्टवेर मार्फत सुरु गरेकाे हाे । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएकाे छ । कम्पनीले हाल टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै अन्य सरकारी तथा निजी अस्पतालहरुमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था मिलाएको छ ।

बालबालिकालाई विद्यालयमा नै खोप लगाइनेछ: मन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताएका हुन् । उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ । उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको जानकारी दिए । ‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ’, मन्त्री खतिवडाले भने, ‘थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।’ नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ । रासस

पूर्व-पराराष्ट्र मन्त्री ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका हुन् । उनका अनुसार उनलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको छ । र, अवस्था सामान्य रहेको छ । साथै, उनले ४ ५ दिन अघिसम्म नजिक रहेका सबैलाई सतर्कता अपनाउन तथा सुरक्षित रहन आग्रह गरेका छन् । र, लक्षण देखिएमा जाँच गर्न पनि उनले आग्रह गरेका छन् ।