चितवनकाे मौलाकालिका अस्पतालमा शिशुको लागि आइसियू सेवा सुरु

चितवन । जिल्लामा सञ्चालनमा रहेको मौलाकालिका अस्पतालले आजदेखि आठ शय्याको शिशु तथा बालरोग सघन कक्ष (पिआइसियु) सञ्चालनमा ल्याएको छ । कक्षको बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पिआइसियु सेवाको शुभारम्भ गर्दै अस्पतालकासेवा प्रतिस्पर्धी नभई सहयोगी बन्नुपर्नेमा जोड दिए । अस्पतालका प्रबन्ध निर्देशक डा केशराज भुर्तेलले यस अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने जानकारी दिए । अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले अस्पतालले १०० शय्या क्षमताको अत्याधुनिक भवन निर्माण गरी उच्चस्तरको सेवा दिने तयारीमा रहेको जानकारी दिए । अस्पतालका बालरोग विशेषज्ञ डा स्वेताकुमारी गुप्ताले जिल्लामा आवश्यकताअनुसारको पिआइसियु नहुँदा बिरामीले सेवा पाउन नसकेको जनाउँदै यस अस्पतालले सेवा सुरु गरेसँगै थप बिरामी लाभान्वित हुने बताइन् । सो सेवाअन्तर्गत एक महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई उपचार गरिन्छ । जिल्लाका दुई मेडिकल कलेज र निको बाल अस्पतालबाहेक अन्यत्र यो सेवा नहुँदा बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् । सरकारी अस्पतालमा समेत यो सेवा सुरुआत हुन सकेको छैन । मौलाकालिकाले जन्मिएदेखि एक महिनासम्मका बालबालिकालाई उपचार गर्ने १० शय्याको बाल सघन उपचार कक्ष, छ शय्याको सघन उपचार कक्षसमेत सञ्चालन गर्दै आएको छ । अस्पतालमा प्रसूति, हाडजोर्नी, सर्जिकल, मनोरोग, युरोलोजी, मेडिसिन, रेडियोलोजीलगायतका सेवा उपलब्ध रहेको जनाइएको छ ।

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमीक्रोन’

काठमाडौं । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण देखिएको छ । बिहिबार भारतको कर्नाटाकामा यस नयाँ भेरियन्टको दुई नयाँ केस देखिएको हो । हालसम्म २९ देशहरुमा यसको ३७३ भन्दा बढी केसहरु देखिसेकेको छ । दक्षिण अफ्रिकी मुलुकहरुमा सबैभन्दा पहिला देखिएको यो नयाँ भेरियन्ट हालसम्म नेपालमा भने नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्ट स‌ंक्रामक तथा सबै उमेर समुहका व्यक्तिहरुमा असर पार्ने देखिएको हुनाले सबैलाई सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । विश्व स्वास्थ्य स‌ंगठनकाे अनुसार यसबारे थप अध्यन भइरहेको छ ।

अब वीर अस्पतालले फाेनबाटै काेभिडका बिरामीलाई सेवा दिने

काठमाडाैं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको हो । अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतले कोभिड–१९ का बिरामीलाई फोनबाट नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको बताए । उनले कोभिड–१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्नका लागि टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको जानकारी दिए । सेन्टरबाट स्वास्थ्य सेवा लिनका लागि ११३३ मा फोन गर्नुपर्ने हुन्छ । सेन्टरमा आएका समस्यालाई चिकित्सकले फोनबाट समाधान गर्नुका साथै बिरामीको मोबाइल नम्बरमा समस्याको उपाय लेखेरसमेत पठाउने छन् । चिकित्सकले बिरामीलाई कस्तो समस्या रहेको छ सोहीअनुसार अस्पताल जान वा घरमै बसेर उपचार गर्न सल्लाह दिन्छन् । टेलिकल्सन्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ । तीन सिफ्टमा सञ्चालन हुने टेलिकल्सन्टेसन सेन्टरमा अहिले एक सिफ्टमा एक जना चिकित्सक र दुई जना पारामेडिसिने छन् । टेलिकल्सन्टेसन सेन्टरमा अहिले एकैपटकमा तीनजना व्यक्तिले फोन गरी सेवा लिनसक्ने छन् । टेलिकल्सन्टेसन सेन्टर शुभारम्भ समारोहमा विश्वस्वास्थ्य सङ्गठन नेपालमा प्रमुख राजेश पाण्डवले अस्पताल आउन नसक्ने बिरामीलाई टेलिकल्सन्टेसन सेन्टरले सहयोग पुर्याउने बताए । मन्त्रालयमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ लाई लक्षित गरी कलसेन्टर सञ्चालन गरिएको थियो । कोभिड–१९ सँग सम्बन्धित दैनिक सात हजार जिज्ञासा आउने गरेको चिकित्सक डा. नवराज जोशीले जानकारी दिए ।