नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको फ्री ओपिडी हुने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर.डा. सीताराम चौधरीले शनिवार निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा. चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ । डा.चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ ।
१४ लाख मोडर्ना खोप ल्याइँदै
काठमाडौं । कोराना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको जानकारी दिए । उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौं आइपुग्ने छ । बुधबार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताए । केही दिन अघि मात्र एक लाख ८४ हजार ४०० मोडर्ना खोपको मात्रा ल्याइएको थियो । नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्समार्फत दुई करोड ७९ लाख खोपको मात्रा ल्याइएको छ । सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ । रासस
मंगलबार ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार २०५ पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं र ललितपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् । नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ६ हजार १३, संस्थागत आइसोलेशनमा ३३९, आइसियुमा १२३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ । कोरोनाबाट दुई जनाको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड ५ लाख चार हजार ७६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार ४३३ जनाले लगाएका छन् ।