दार्चुलामा कोरोना खोप अभाव

दार्चुला । जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो । प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्व लगाइने खोपको भने अभाव छ । बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना खोप छैन । ‘कोरोनाको खोप सकिएको छ’, स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले भने, ‘अहिले खोप माग गरिएको छ, एक–दुई दिनभित्र खोप जिल्ला पुग्छ, अहिलेसम्म जिल्लामा ७७ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन् ।’ यस्तै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको आदेशमा सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी सहभागी नहुने गरी राजनीतिक, सामाजिक, धार्मिक तथा प्रशासनिक कार्यक्रम, मेला, भेला, महोत्सव, पर्व सञ्चालन गर्ने, आवश्यक कार्यक्रमको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ । सार्वजनिक यातायातमा तोकिएको सिटभन्दा बढी यात्रु राख्न नपाउने र घरबाट बाहिर निस्कँदा अनिर्वायरूपमा मास्क लगाउनु पर्नेछ । त्यस्तै भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा आउने नागरिकले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । बिहीबारसम्म जिल्लामा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट रोजगारी गरेर फर्किने नेपालीमा कोरोना सङ्क्रमण देखिने गरेको छ । सीमानाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण देखिने गरेको छ । भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले जाँचको व्यवस्था गरिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । रासस

थप ३५ सय बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ वटा नमुना परीक्षणमा ३ हजार ५५३ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा २७१ जना निको भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

बर्लिन । जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र यहाँ त्यस अघिको २४ घन्टामा ८० हजार ४३० जना संक्रमित भेटिएका छन् । यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको यो सबैभन्दा धेरै संख्या हो । यहाँका अधिकारीहरुले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन् । उनीहरुका अनुसार यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् । त्यस्तै यहाँका करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ । उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोनाको सङ्क्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । सो संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । रासस/सिन्ह्वा