सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह
चितवन । भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन् । जिल्लामा सङ्क्रमण दर अत्यधिक बढेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को तेस्रो लहरस्वरुप विगत केही दिनदेखि नेपालमा कोभिड सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गइरहेको सबैलाई जानकारी नै छ ।’ काठमाडौंको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी पनि उच्च सङ्ख्यामा सङ्क्रमित भएको तथ्याङ्कलेसमेत अस्पतालमा एकअर्काबाट सङ्क्रमण फैलनसक्ने सम्भावना बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा सामान्य र पछि जाँच गराउँदा पनि हुने प्रकृतिका बिरामी अस्पताल आउने समय पछि सार्नु उपयुुक्त हुन्छ ।’ भरतपुर अस्पतालमा पछिल्लो दुई दिनको परीक्षणमा देखिएको कोभिड पोजिटिभ दर अति उच्च रहेको उल्लेख गर्दै पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जना अर्थात ५५ प्रतिशतमा पोजिटिभ देखिएको जनाइएको छ । त्यस्तै पुस ३० गतेको १८६ जनामा गरिएको परीक्षणमा ११५ जना अर्थात ६१.२५ प्रतिशतमा पोजेटिभ देखिएको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित छिमेकी १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यसअघिका कोभिडको सङ्क्रमण उच्च हुँदा यहाँ धेरैको उपचार गरिएको थियो । कोभिड सङ्क्रमण सुरु भएपछि नियमित सङ्क्रमितको उपचार अस्पतालमा हुँदै आएको छ ।
माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने
काठमाडाैं । सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् । कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो । हिजो पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।
शुक्रबार थपिए ५ हजार बढी संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५६० वटा नमुना परीक्षणमा ५ हजार ८७ मा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाे अनुसार परीक्षण गरिएकाे २४ प्रतिशत बढीमा संक्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।