बुधबार ३ हजार ७५ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा २७८ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।
ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए । ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ)ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि सङ्क्रामण गुणात्मक रुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ’, उनले भने । अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण हुने बताए । ‘अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा सङ्क्रमण हुने गर्दथ्यो’, उनले भने । ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गार्ह्राे बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा सङ्क्रमण गराउने बताए । उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिनुभयो । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ । बच्ने उपाय यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ । यस्तै सङ्क्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसङ्ख्याको ७६.५ प्रतिशतले पहिलो मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै कूल जनसङ्ख्याको ५०.२ प्रतिशतले पहिलो मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ । सङ्क्रमण दरको प्रवृति बढ्दै सङ्क्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ । यही पुस १९ गते २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर पुस २७ गते १८.६ प्रतिशत पुगेको छ । यस्तै पुस २६ गते १२.७ प्रतिशत, पुस २५ गते ९.२ प्रतिशतमा मात्र सङ्क्रमण दर रहेको थियो । पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत, पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत र पुस २४ गते ७.१ प्रतिशत कूल सङ्क्रमण दर रहेको थियो । पुस २७ गते १५ हजार ३३ जनाको परीक्षणमा दुई हजार ४४४ मा सङ्क्रमण देखिएको थियो । पुस २६ गते एक हजार ४४६ सङ्क्रमति र सात हजार ८५५ सक्रिय सङ्क्रमति तथा पुस २५ गते सङ्क्रमति एक हजार १६७ पुगेको र सक्रिय सङ्क्रमित छ हजार ७५५ देखिएका छन् । ओमिक्रोन भेरियन्ट रोकथामको तयारी सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ । उनका अनुसार आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ र एचडियु तीन हजार ८४६ रहेका छन् । यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९ र अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन् । उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शय्या, ३२४ एचडियु, ४४५ सघन उपचार कक्ष र २५४ भेन्टिलेटर रहेका छन् । मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउनका लागि बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ । ‘पोजेटिभ सङ्क्रमण देखिएकामध्येबाट ओमिक्रोन पत्ता लगाउन अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) गरिरहेका छौँ’, मन्त्रालयका प्रवक्ता डा. मिश्राले भनिन् । केही दिनअघि एक हजार १४६ पोजेटिभ नमूनाको एस–जिन स्क्रिनिङ गर्दा २५० नमूनामा एस–जिन नेगेटिभ देखिएकाका र ती नेगेटिभ देखिएकाको अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) २४ मा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । हालसम्म २७ ओमिक्रोन भेरियन्ट भएको पत्ता लागेको छ । ‘एस–जिन नेगेटिभ बढ्नु भनेको ओमिक्रोन भेरियन्ट बढ्नु हो’, उनले भनिन्, ‘एस–जिन नेगेटिभ पत्ता लागेका सबै सङ्क्रमितको कन्याक्ट्र ट्रेसिङ गरिरहेका छौ ।’ यस्तै सीमा नाकामा एक हजार क्षमताका नौ वटा होल्डिङ सेन्टरसमेत बनाउन थालिएको छ । रासस
संक्रमण रोक्न यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यलयको तयारी
काठमाडाैं । केहिदिन यता कोभिड संक्रमणको जोखिम बढेको छ। यसैलाई मध्यनजर गरेर काठमाडौं उपत्यकामा भिडभाड हुने काम रोकिएको अवस्था छ । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले १८ बुँदे आदेश जारी गरेका छन् । यो आदेशमा सर्वसाधारणदेखि व्यवसायीसम्मले के गर्न सक्ने के नगर्ने भन्ने तोकिएको छ । यो आदेशमा भएका कतिपय व्यवस्थाले जनमानसमा भ्रम पैदा गरेको छ । यसै सन्दर्भमा काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीसँग हामीले संक्षिप्त संवाद गरेका छौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १८ बुँदे आदेश जारी गरेको छ । सो आदेश किन जारी गर्नुपरेको ? विगत केही दिनदेखि कोभिडको संक्रमण वृद्धि हुँदै गइरहेको र विशेषगरी कोभिडको संक्रमण परिक्षणको क्रममा बढ्दै गइरहेको र त्यसले सम्भावित जोखिमलाई बढ्ने, सम्भावित स्वास्थ्य अवस्थालाई थप जोखिमपूर्ण बनाउने विश्लेषण भएपछि सीसीएमसीको सिफारिसको कार्यान्वयन गर्ने सन्दर्भमा जारी भएको आदेश हो । अहिलेको अवस्था कस्तो हो, संक्रमणको जोखिमको हिसाबले हेर्दाखेरी ? सूचना कस्तो छ ? विशेषगरी कोभिड रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा केन्द्रीय स्तरमा सीसीएमसीको संरचना छ । जिल्लास्तरमा डिसीसीएमसीको संरचना छ । केन्द्रीय स्तरको संरचना पनि स्वास्थ्य विज्ञहरु, स्वास्थ्य क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरु, पदाधिकारीहरुको सहभागिता रहन्छ । र जिल्लास्तरको संरचनामा पनि जनस्वास्थ्य विज्ञहरु, डाक्टरहरुको सहभागिता रहन्छ । विशेषगरीकन पछिल्लो अवस्थामा जुन संक्रमणदर बढ्दै गइरहेको, संक्रमणको चाप बढ्दै गइरहेको र परिक्षणका क्रममा संख्यात्मक रुपमा दिन प्रतिदिन संक्रमितहरु थपिदै गइरहेको विश्लेषणका आधारमा त्यो समिक्षा भएर नै यसलाई अब भीडभाडजन्य क्रियाकलापहरु अथवा स्वास्थ्य मापदण्डका पालनाका विषयमा थप प्रभावकारी कदम समयमा हुनुपर्ने विश्लेषण र समिक्षाकै आधारमा यो सिफारिस भएको भन्ने बुझिन्छ । र त्यो सिफारिसलाई फेरी स्थानीय स्तरमा कार्यान्वयन गर्नका लागि नै आदेश जारी भएको अवस्था हो । र अहिले पछिल्लो समयमा हामीले क्रमशः यो संख्या वृद्धि भइरहेको दैनिक विवरणहरु आइरहेका छन् । संक्रमणको दर विगतको तुलनामा गुणात्मक रुपले बढिरहेको अवस्था हो अहिले । काठमाडौं उपत्यकाको सिमा, चौकीमा चेकचाँजका कुराहरु अथवा जति पनि जाँच, परिक्षणका कुराहरु छन् । त्यसको अवस्था कस्तो छ ? दुई प्रकारले यसको व्यवस्थापन गरिरहेका छौँ । एउटा, भीडभाडजन्य क्रियाकलापको न्यूनिकरण, जनस्वास्थ्यका मापदण्डहरुको पालनालाई प्रभावकारी बनाउने, ति विषयहरुमा अनुगमनलाई पनि प्रभावकारी बनाउने र आम रुपमा नागरिकहरुमा स्वास्थ्य मापदण्ड पालनाका लागि आह्वान गर्ने, आम नागरिकको सहयोग प्राप्त गर्ने वातावरण बनाउने । एउटा पार्ट छ भने अर्कोतर्फ कोभिडको संक्रमण र त्यसबाट प्रभावित व्यक्तिहरुलाई समयमा उपचार, समयमा त्यसको व्यवस्थापनका कुराहरुमा अस्पतालहरु, स्वास्थ्य युनिटहरु, स्वास्थ्य संस्थाहरुको अहिले जुन कोभिडको संक्रमण दर बढ्दै गएपछि अक्सिजन सिलिण्डरहरु, बेडहरु, लगायतका स्वास्थ्य सामग्रीहरुको उपलब्धता, त्यसको भण्डारण र त्यसलाई थप अपडेट गराइराख्नका लागि हिजो मात्रै डिसीसीएमसीबाट त्यो निर्णय पनि भएको छ । अक्सिजन सिलिण्डरहरुलाई अहिले कोही कसैसँग बाहिर अनौपचारिक रुपमा रहेको भए सम्बन्धित उद्योगमा, स्थानीय तहमा, अस्पतालहरुमा फिर्ता गरिदिनलाई हामीले हिजो सूचनामार्फत पनि आह्वान गरेका छौं । त्यसैगरी सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुलाई कोभिडका उपचारका लागि आवश्यक पर्ने तयारीका साथ रहन सो सम्बन्धी व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन पनि हिजोको डिसीसीएमसीको बैठकले थप निर्णय त्यो पनि गरेको छ । एकातिर हामी यो फैलिन नदिनका लागि एकप्रकारको हाम्रो सुचनाहरु, निर्देशनात्मक आदेशहरु प्रवाह भइरहेको छ भने अर्कोतर्फ पूर्वाधारहरु तर्फपनि स्वास्थ्य मन्त्रालय लगायत, डिसीसीएमसी लगायतका हाम्रा संरचनाहरुबाट सम्बन्धित पूर्वाधारहरुको व्यवस्थापनका लागि पनि थप गतिविधिहरु अगाडी बढीरहेको अवस्था छ । खोप केन्द्र कम छ, खोप लगाउनुपर्नेहरुको संख्या धेरै छ । सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य भनिएको छ । यसो हुँदा खोप कार्ड देखाएर मात्रै अरु काम, कारबाही अगाडी बढ्ने भन्दा मानिसहरुको दैनिक जीवनयापन व्यवस्थापन गर्न गाह्रो पो हुने हो कि ? अहिले खोपको अभाव नभएको अवस्था हो । खोपको लागि जुनसुकै समयमा अहिलेपनि खोप लगाउन इच्छुक व्यक्तित्वहरु अहिलेपनि सहभागी हुन सक्नुहुन्छ । त्यसरकारणले माघ ७ गते पछाडी नै त्यो खोप कार्डको व्यवस्था माघ ७ गते पछाडी नै प्रभावकारी हुनेगरी त्यो सूचनामा लेखिएको छ । यो बिचमा करिब ९० प्रतिशत माथिले काठमाडौं उपत्यकाको हकमा खोप दिने काम भइसकेको छ । बाँकी रहेको १० प्रतिशत हो । बिचमा यो खुल्ला आवतजावतकाे हिसाबले हेर्दाखेरी फ्रिक्वेन्ट्ली बाहिरका मानिसहरु आउने र जाने जुन मुभमेन्ट छ त्यसले केही संख्या तलमाथि हुनसक्छ । तर समग्रमा १० प्रतिशत जुन बाँकी संख्या हो । त्यो पनि हामीले एकहप्ता भित्रमा खोप लगाइसक्ने हाम्रो लक्ष्यका साथ माघ ७ गते पछाडी मात्रै खोप कार्डको व्यवस्था लागु हुने गरीकन सूचनामा उल्लेख भएको हो । यसले दुई वटा कुरालाई व्यवस्थित गर्छ । एउटा कुरा, खोप लगाउन छुट भएका व्यक्तिहरुलाई खोप लगाउन प्रेरित गर्छ । अर्को, खोप लगाइसकेका व्यक्तिहरुले पनि आफ्नो खोप अभिलेख आफुसँग राख्ने र त्यसले भोली जुनसुकै प्रयोजनमा पनि त्यसलाई प्रयोग गर्ने यो दुई वटै कामको प्रयोजनका लागि पनि खोप कार्डको व्यवस्था अगाडी सारिएको छ र यसले समग्रमा हेर्दाखेरी खोप लगाउन छुट भएका व्यक्तिहरुलाई पनि खोपको लागि अभिप्रेरित गर्छ भन्ने नै छ र यसले हामीलाई समग्रमा अहिले पछिल्लो समयमा खोपको अभाव नभएको र खोप लगाउन विभिन्न स्थानहरु तोकिएको, त्यसलाई सरलीकृत गरिएको अवस्था छ । यसकारण यसले दुविधा उत्पन्न हुँदैन जस्तो लाग्छ मलाई । अनुगमनको कुरालाई कतिको प्रभावकारी, व्यवस्थित र तदारुकताका साथ गर्छौ ? महामारी भन्ने विषय जटिल विषय हो । यो कुनै एउटा निकाय, कुनै एउटा संरचना, अथवा सरकार मात्रले यसलाई नियन्त्रण गर्ने, रोकथाम गर्ने भन्दापनि आम जिम्मेवारीको विषय हो । आम नागरिकको आफ्नो जिम्मेवारीको विषय पनि हो र जे जस्ता विषयहरु, नीतिहरु बनाइएको छ, त्यसको पूर्ण परिपालना गर्ने, स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने, भीडभाडजन्य गतिविधिहरु नगर्ने, यसको रोकथामका उपायहरुमा सहयो गर्ने आम नागरिकको दायित्व र जिम्मेवारी हो । त्यसलाई अनुगमन गर्ने पार्टमा अहिलेपनि सञ्चारमाध्यम पनि एउटा अनुगमन गर्ने पार्ट हो । सरकारी संयन्त्रबाट पनि आफ्नो ठाउँबाट भएकै छ । त्यसका साथसाथै स्वयंम नागरिक पनि एउटा अनुगमनकर्ता पनि हो । हाम्रो पहिलो आग्रह सम्पूर्ण नागरिकहरुमा स्वास्थ्यको मापदण्ड पालना गरिदिनका लागि, भीडभाडजन्य गतिविधि नगरिदिनका लागि नै हाम्रो पहिलो आग्रह रहन्छ । जहाँसम्म औपचारिक संयन्त्रको कुरा छ, त्यसको आदेशको पालनाका लागि हामीले सुरक्षा निकायलाई पनि निर्देशित गरेका छौँ । सुरक्षा निकायबाट पनि स्थानिय फिल्डस्तरमा आकस्मिक तथा नियमित अनुगमनहरु हुन्छ । यसका साथसाथै स्वास्थ्य संरचनाका स्वास्थ्य संयन्त्रबाट, डिसीसीएमसीको लेभलबाट, जिल्ला प्रशासनबाट पनि हामीले अनुगमन नियमित रुपमा गर्ने नै हाम्रो योजना छ । यो हाम्रो औपचारिक प्रक्रिया पुरा भयो । समग्रमा मेरो आग्रह आम नागरिकहरुले नै जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै यसको प्रभावकारी उपाय हो भन्ने मलाई लाग्छ ।