चितवनमा सक्रिय सङ्क्रमित ५०० नाघ्याे
चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय सङ्क्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ । जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या ८२८ जना पुगेको छ । २ गते जिल्लाका चार वटा प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १५० जना र एन्टिजोन परीक्षमा ९० जनाको गरिएकोमा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार सङ्क्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जाने थालेको ढकालले बताइन् । उनका अनुसार पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९, २७ गते १६२ जना, २८ गते २४० जना, २९ गते ३२७ जना सक्रिय सङ्क्रमित पुगेका थिए । अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र सङ्क्रमण दर बढ्दै गएको छ । पुस ३० गते शुक्रबार ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा सङ्क्रमण देखिएको ढकालले जानकारी दिइन् । ढकालका अनुसार ३६० जनाको परीक्षण गर्दा १३५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । माघ १ गते शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल) मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ जनाको परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो । जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने ८०२ जना होम आइसोलेशनमा रहेका छन् । यहाँ हालसम्म २८ हजार ६८ जना सङ्क्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोना सङ्क्रमितमध्ये ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सङ्कक्रमतमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका रहेका छन् । यस्तै खैरहनी नगरपालिकाको २७, माडी नगरपालिका १५, रत्ननगर नगरपालिका ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना सङ्क्रमित रहेका छन् । जिल्लाको एक मात्र गाउँपालिकामा १२ जना सक्रिय सङ्क्रमित रहेको उनको भनाइ छ । सक्रिय सङ्क्रमित बढेको भए पनि जिल्लामा सावधानी भने अपनाएको पाइदैन । माक्सकको प्रयोग बढेपनि भीडभाड कायमै रहेको छ । रासस
काठमाडौं मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने
काठमाडाैं । काठमाडौं मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु भएको छ । काठमाडौं मोडल अस्पताल इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरु भएको हो । योसँगै अबदेखि यस अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने अस्पतालले जनाएकाे छ । कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।
कोरोना बढेपनि छैन बाग्लुङमा अक्सिजनको जोहो
फाइल फाेटाे गलकोट । अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको सरकारले चालेको थियो तर गत भदौ महिनामा सुरु भएको अक्सिजन प्लान्टले अझै पूर्णत पाउन सकेको छैन तर जिल्लामा कोरोनाको दर पुनः उकालो लाग्न थालेको छ । अहिलेसङ्क्रमणको दर ८८ पुगेको छ । आइतबारमात्रै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० मा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म अक्सिजन प्लान्टले अक्सिजन उत्पादन नगर्दा समस्या पर्ने देखिएको छ । अस्पतालले सङ्क्रमण कम भएपछि बेवास्ता गर्दा अक्सिजन जडानमा ढिलाइ भएको स्थानीयको बुझाइ छ तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले प्लान्टको प्राविधिक काम भइरहेको जानकारी दिए । प्राविधिकले तीव्र गतिमा काम गरे पनि कहिले सम्पन्न भएर अक्सिजन उत्पादन हुन्छ भन्ने अझै अनिश्चित रहेको जनाइएको छ । ‘अक्सिजन प्लान्टको प्राविधिकले काम गरी रहेका छन्, कहिले सम्पन्न भएर अक्सिजन उत्पादन सुरु हुन्छ भन्ने त्यो भर्खरै भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘अक्सिजन प्लान्ट निर्माण भएपछि दैनिक १७७ ठूला सिलिण्डर भर्न सकिने उनको भनाइ छ ।’ अक्सिजन प्लान्ट दुई करोड ३२ लाखको लागतमा निर्माण हुन थालेको भए पनि सरकारले बजेट भुक्तानी नगर्दा समस्या भएको उनको भनाइ छ । प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरे पनि अहिलेसम्म प्राप्त नभएको डा पोखरेलले जानकारी दिए । सरकारले समयमै बजेट नपठाउँदा कामसमेत ढिलाइ भएको उनको भनाइ छ । ‘अक्सिजन प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरेको छ, तर अहिलेसम्म प्राप्त भएको छैन, बजेट समयमै नआउँदा पनि काममा ढिलाइ भएको छ ।’ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा १७० अक्सिजन सिलिण्डर भरेर राखिएको उनले जानकारी दिए । अस्पतालमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९० लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालन ल्याएको छ तर त्यस प्लान्टले हाइफ्लोमा अक्सिजन उत्पादन गर्न नसक्दा निकै समस्या भएको थियो । प्लान्ट निर्माणमा अस्पताल प्रशासन र व्यवस्थापन गम्भीर नबन्दा अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको अधिवक्ता राम शर्माले बताए । उनले गत साउनमा अस्पताल व्यवस्थापनले एक महिनाभित्र अक्सिजन प्लान्ट बनाउँछौँ भने पनि अहिलेसम्म नबन्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उनले आरोप लगाए । ‘साउन महिनामै अस्पताल व्यवस्थापनले एक महिनामै अक्सिजन प्लान्ट निर्माण गर्छौं भनेको थियो, छ महिना बित्यो खै अहिलेसम्म बनेको ?, यसप्रति अस्पताल व्यवस्थापन र प्रशासन गम्भीर छैन’, उनले भने, ‘अहिले व्यवस्थापन समिति पनि छैन, प्रशासनले ध्यान दिने कुरै भएन ।’ जिल्लामा कोरोना रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, माक्स तथा स्यानिटाइजर वितरण गर्न थालिएको छ । कोरोना बढ्न थालेपछि मेला महोत्सव तथा भीडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलयले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा समेत पुष्टि भइसकेपछि जिल्लामा उच्च सतर्कतासमेत अपनाउन थालिएको छ । छिमेकी जिल्ला भारतबाट जिल्ला भित्रिनेका लागि जिल्लाको प्रमुख नाका मालढुङ्गा र खर्वाङमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । स्वास्थ्य कार्यालय स्वास्थ्य सचेतना जगाउन, जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउन, लक्षण देखिएका घरमै बस्ने र स्वास्थ्य संस्थामा जाँच गराउन जुटेको छ । रासस