चितवनमा जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
चितवन । जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा कार्यरत ३७ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । तीमध्ये सातजना चिकित्सक २० जना स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी रहेका छन् । चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना देखिएसँगै अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा सङक्रमण बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई आएको पौडेलले बताए । उनले भने, ‘अत्यावश्यक नपरी अस्पताल नआउनुहोला । कर्मचारी कम हुँदा सेवामा दुरुस्तता नआउन सक्छ ।’ यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ४० जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार तीन जना चिकित्सक २२ जना नर्स, सातजना प्राविधिक र अन्य प्रशासनिक कर्मचारीमा सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमण देखिएसँगै केही सेवामा असहजता आए पनि सेवा रोक्नुपर्ने अवस्था भने अझैसम्म नरहेको उनले बताए । चितवन मेडिकल कलेजमा कार्यरत ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार १२ जना चिकित्सक, १४ जना नर्स र ४ जना अन्य कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएका सबै होम आइसोलेशनमा रहेका छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा १० जना चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार ७ जना चिकित्सिक र तीन जना अन्य कर्मचारीमा कोरोना देखिएको हो । सङ्क्रमित चिकित्सव एवं स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित भए पनि स्वास्थ्य अवस्था भने सामान्य देखिएको छ । अधिकांश होम आईसोलेसनमा रहेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । रासस
कोरोनाको लक्षण देखिए ५ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न ललितपुर जिप्रकाकाे निर्देशन
काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएकाे छ । प्रशासन कार्यालयले मंगलबार आदेश जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे । प्रशासन कार्यालयले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य पाँच दिन क्वारेन्टाइनमा बस्न र ५ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा आउन निर्देशन दिएको छ ।
डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन सुरु
लमजुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए । उनले भने, ‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ ।’ इञ्जिनियर अधिकारीका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त आयोजनाले जनाएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण गरिने भएको छ । अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण कार्य भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ भने, कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । आठ दशमलव आठ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पीएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकामा उक्त जेभीले ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिए लगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पुर्याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएकोे थियो । कालोपत्रे भए पछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो । उक्त सडकमा दैनिक सयौँ सङ्ख्यामा साना तथा ठूला सवारीसाधन सञ्चालन हुन्छ । डुम्रे बेँसीशहरको उक्त सडकहुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । रासस