शनिबार थपिए ३३५ संक्रमित, तीन हजार पुगे सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा ३३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ८८ जनाको पीसीआर १ हजार ९०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ८६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ३९४ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार ९७१ जना सक्रिय संक्रमित छन्।
गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी
गोेरखा । गोरखा जिल्लाको एक मात्र सरकारी अस्पताल गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गरिने भएको छ । भूकम्पपछि पुनःनिर्माण गरिएको सुविधा सम्पन्न उक्त अस्पतालमा बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरता दिने गरी तयारी थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए । “गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्नका लागि अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्युटबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ”, उनले भने, “हव अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहु विषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरतालाई जनाउँछ ।” अबदेखि विशेषज्ञ चिकित्सकलगायत अन्य जनशक्ति, उपकरण र तालिमको व्यवस्था गरी चिकित्सकीय सेवा र सुविधा प्रदान गरिने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । त्यस्तै अस्पतालमा त्यस्ता जनशक्तिका लागि आवासको सुविधासमेत मिलाइने उनको भनाइ थियो । “सम्झौताअनुसार यस अस्पताललाई सेकेन्डरी ‘ए’ स्तरको सेवा प्रदान गर्नु तथा सम्पूर्ण सेवाको निरन्तरता र गुणस्तरीय प्रवाह गर्नु पनि हो”, सूचना अधिकारी ढकालले भने, “सम्झौता भएसँगै अब यसै महिनादेखि सबै सेवा प्रारम्भ हुन्छ ।” सुविधासम्पन्न भवन निर्माण भएसँगै यस अस्पतालबाट पछिल्लो समय ठूला शल्यक्रिया, प्रयोगशालामा कल्चर सेवाका साथै स्वास्थ्य बीमा, समाजिक सेवा इकाइ तथा फिजियोथेरापी सेवा पनि सञ्चालन हुँदै आएको उनको भनाई छ । अब छिट्टै थाइराइटको हर्मोन जाँच, डायलासिस, एचडियु, आइसियुलगायत सेवा सञ्चालनका लागि अन्तिम तयारीमा रहेको सूचना अधिकारी ढकालले बताए ।
निफ्राको अगुवाईमा लुम्बिनीमा अस्पताल बन्ने, दुई अर्ब ५४ करोडको कर्जा स्वीकृत
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाइ तथा नबिल बैंकको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा १०० शय्याको ‘एडभान्स इन्टरनेशनल मल्टी स्पेसियालिटी अस्पताल’ निर्माण हुने भएको छ । सो अस्पताल निर्माण तथा सञ्चालनका लागि दुई अर्ब ५४ करोड बराबरको कर्जा स्वीकृत गरिएको छ । सो अस्पताल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एक अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड एक अर्ब लगानी गर्ने भएको छ । बिहीबार त्यससम्बन्धी सम्झौता भएको भए पनि बैंकले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायतको उपस्थिति थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरी व्यावसायिक सञ्चालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त अस्पतालले लुम्बिनी प्रदेशको स्वास्थ्य सेवामा विशिष्टिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।