सिभिल बैंकका ग्राहकलाई बिराट मेडिकल कलेजमा विशेष छुट

काठमाडौं । सिभिल बैंकका ग्राहकले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका हुन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन । हाल सिभिल बैंकको १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन् । साथै बैंकले हालसम्म करीब ९५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ हजार ६५१ वटा नमूना परीक्षण गर्दा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । यस्तै आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।

अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

नवलपुर । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतबार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार व्यवस्था सम्बन्धमा आइतबार बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए । ‘अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ’, घिमिरेले भने । आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा सङ्घसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको घिमिरेले बताउनुभयो । जिल्लामा कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता बढाइएसँगै यसको अनुगमनलाई समेत अगाडि बढाउने घिमिरेको भनाइ छ । ‘अर्को व्यवस्था जारी नभएसम्मका लागि यो सूचना जारी गरिएको हो’, घिमिरेले भने, ‘कोरोनाको सङ्क्रमण बढ्ने/घट्ने भएमा सोहीअनुसारको नीति अवलम्बन गरिनेछ ।’