३९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ललितपुरमा २२, भक्तपुर नौ र काठमाडौंमा १८५ जनामा सङ्क्रमित पुष्टि भएको जानकारी दिए । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७६ रहेका छन् । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २७० पुगेको छ । विगत २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् । काठमाडौं जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेशनमा दुई हजार १४३, संस्थागत आइसोलेशनमा १३३ र सघन उपचार कक्ष (आइसियु)मा २१ जना उपचार भइरहेको छ । यस्तै, विगत २४ घण्टामा एक लाख २१ हजार ५१५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य बीमा सरकार आफैले रोकेको हो, अब नयाँ मोडालिटीमा जानुपर्छ : शर्मा

काठमाडौं । नोबेल मेडिकल कलेजका सञ्चालक शुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रम सरकारले रोकेको दावी गरेका छन् । बि एण्ड सी अस्पताल, बिराट मेडिकल कजेल र नोबेल शिक्षण अस्पतालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा निजी अस्पतालले नभई नेपाल सरकारले नै रोकेको बताएका हुन् । ‘पछिल्लो समय विभिन्न मेडिकल कलेजहरुले बीमा रोकेको भन्ने हल्लाहरु आइरहेका छन्, तर बीमा हामीले रोकेका होइन, यो नेपाल सरकारले नै रोकेको हो, राज्यले नै नदिने भएपछि हामीले गर्छौं भनेर भएन,’ उनले बताए । बीमाको भुक्तानी गर्ने निकाय सरकारले नै भुक्तानी नगर्ने भएपछि स्वास्थ्य सेवा सुविधा दिँदै आएका मेडिकल कलेजहरुले रोक्न बाध्य भएको भनेर नागरिकलाई सूचित मात्र गराएको उनले थप स्पष्ट पारे । सरकारले प्रतिव्यक्ति ३५ सय रुपैयाँदेखि प्रतिपरिवार ५ हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिरहेको छ । तर बीमा दावी भुक्तानी भने पछिल्लो ८ महिनादेखि नदिएको निजी कलेजको गुनासो छ । ‘सरकारले सरकारी तथा निजी अस्पतालका बीमितले बीमा गरेको पैसा राज्यको ढुकुटीभित्र राखेर विगत ८ महिनादेखि पैसा दिइरहेको छैन, जुन पैसा नागरिकहरुको हो, नागरिकले राज्यलाई पैसा तिरेर उपचारको निम्ति सेक्यिुरिटी मात्र दिएको हो, यो सरकारले सुविधा दिएको होइन, भ्रममा नपरौं,’ उनले भने । उनले अहिलेको राज्यले नचाहिँदो क्रेडिट लिइरहेको र गैह्र जिम्मेवारी बनिरहेको बताउँदै जनताको अर्बौं रुपैयाँ बीमाको पैसाको व्याज खाइरहेको समेत उनको भनाई छ । ‘हामीले ट्याक्स नतिर्दा १५ प्रतिशत पेनाल्टी  लगाउने, राज्यले उपचारबापतको पैसा नदिँदा के गर्ने ?’ उनले उल्टै प्रश्न गरे । अबको ५ बर्षमा नेपालमा नर्स पाइदैन! नोबेल मेडिकल कलेजले गत आर्थिक वर्ष २०७८/७९ मा २ लाख ४० हजार बीमितहरुको उपचार गरेको छ । जसमध्ये २ लाख २२ हजार ७ सय २९ जना बीमितले ओपिडीबाट र १७ हजार २८४ जनाले भर्ना भएर बीमा सेवा पाएका शर्माले बताए । यससँगै उक्त मेडिकल कलेजले कोभिड बापतको रकम १० करोड १६ लाख ६० हजार ५ सय रुपैयाँ र स्वास्थ्य बीमाको ६२ करोड ६२ लाख रुपैयाँ बराबरको रकम सरकारले दिन बाँकी रहेको शर्माले जानकारी गराए । जुन २०७८ कार्तिक महिनादेखिको रकम हो, जसले गर्दा नोबेलका ९ हजार कर्मचारी तलब खानबाट बञ्चित भएका छन् । साथै, नोबेल कलेजलाई स्वास्थ्य बीमाबाट कुनै फाइदा नभएको बताए । तर, सरकारले हाल सञ्चालन गर्दै आएको स्वास्थ्य बीमाको नीति भने परिवर्तन गरेर अघि बढ्नु पर्ने उनको धारणा छ । ‘हालको स्वास्थ्य बीमाको १ लाखको सुविधालाई बढाएर २ देखि ३ लाख रूपैयाँ पुर्याउने, र, २० देखि २५ प्रतिशत रकम भने बीमित आफैले तिर्नुपर्ने कार्यविधि बनाउनुपर्छ, जसले गर्दा धेरै कन्ट्रोल हुन्छ’ सुझाव दिँदै उनले बताए । सरकारले बीएण्डसी मेडिकल कलेजलाई पनि स्वास्थ्य बीमा वापतको ५४ करोड रुपैयाँ बराबरको रकम दिन बाँकी रहेको सञ्चालक दुर्गा प्रसाईले बताए । प्रसाईले बीमाको मात्र नभई विगतका सरकारले क्याबिनेटबाट दिन्छु भनेर निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको गुनासो गरेका छन् । ‘शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएको बेलामा २१ जना मान्छेलाई गोली लागेको ६५ लाख रुपैयाँ विगत ५ वर्षदेखि अड्किरहेको छ,’ थप जानकारी गराउँदै उनले भने । त्यस्तै, प्रसाईले बीमितहरुले डाइरेक्ट सेवा सुविधा पाउनु पर्ने माग गरेका छन् । कोभिड तथा स्वास्थ्य बीमाको भुक्तानी पाउनका लागि सरकार, स्वास्थ्य बीमा बोर्ड तथा अर्थान्त्रालयसँग पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको गुनासो गर्दै मेडिकल कलेजहरुले छिटोभन्दा छिटो उपचार गरेवापतको रकम पाउनुपर्ने संयुक्त माग राखेका छन् ।

चितवनमा रगतको अभाव, काठमाडौं र पोखराबाट ल्याइँदै

चितवन । जिल्लामा रगतको अभावपछि आज काठमाडौं र पोखराबाट ल्याइँदैछ । पोखराबाट ४०० र काठमाडौंबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घसंस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् । यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो । रगत लिनका लागि गाडी पठाइएको उनले जानकारी दिए । साँझसम्ममा पोखराबाट ल्याउने रगत आइपुग्नेछ । त्यस्तै बिहीबार यहाँको चितवन मेडिकल कलेजमा एकजना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ । त्यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौंबाट ४५ युनिट रगत ल्याइँदैछ । एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो । काठमाडौंबाट जहाजमार्फत रगत ल्याउन लागिएको पौडेलले जानकारी दिए । रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ । केन्द्रले बोलाएपछि रगत दिनेहरु तीन हजार हाराहारी रक्तदाता रहेको पौडेलको भनाइ छ । जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ । रक्तक्यान्सर भएका एउटै बिरामीलाई ४०० युनिटसम्म रगत दिएको कार्यालयमा तथ्याङ्क रहेको पौडेलले बताए । यहाँको आधा रगत क्यान्सरका बिरामीका लागि जाने गर्दछ । क्यान्सरका अतिरिक्त यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ । मेडिकल कलेजहरुमा अङ्ग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ । राजधानी काठमाडौंपछि धेरै प्रसूति भरतपुरमा हुने गर्दछन् । दुर्घटनाका बिरामीको सङ्ख्या पनि यहाँका अस्पतालहरुमा धेरै हुने गर्दछ । प्रसूति र दुर्घटनाका घाइतेहरुलाई पनि रगतको माग बढी हुने गर्दछ ।