बागमतीमा कोभिडका सङ्क्रमित बढ्दै, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै

ललितपुर । मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् । बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । उनले भने, ‘यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकामा उच्च रहेका छ ।’ प्रदेश नं १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गरे । मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरुले सो महामारी निदानका लागि दुई हजार ८०० को हाराहारीमा आइसियू तथा एक हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी गराए । ‘कोभिड कारण आर्थिक हानी मात्रै होइन् ज्यान जाने र केही मुलुकवासीमा मानसिक समस्या देखिएको छ, मुलुकवासी ४३ प्रतिशतमा डिप्रेशन तथा ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निन्द्रा लाग्ने समस्या भेटिइरहेको छ’, उनले थपे । ३४ हैजाका बिरामी मुलुकमा कोभिड महामारीसँगै ३४ जना हैजाका बिरामी भेटिएका सो शाखाका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, ‘हैजाका बिरामी काठमाडौँ उपत्यकामा दुई र नुवाकोटमा ३२ गरी ३४ भेटिएका छन् ।’ दुईदेखि ६९ वर्ष उमेर समुहका २० पुरुष र १४ महिलामा सो समस्या देखिँदा खानेपानी तथा सरसफाईमा विचार पु¥याउन जरुरी रहेको गेलालले जानकारी गराए । हवाइ यात्रा र नाकामा कडाइको व्यवस्था मङ्कीपक्स विदेशी ७० मुलुकमा फैलिँदै गइरहेकाले मुलुकको हवाई यात्राका साथै नाकामा पनि कडाइको व्यवस्था हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए । उनले भने, ‘छिमेकी मुलुक भारतमा मङ्कीपक्स तीन केशका बिरामी देखिएकाले नेपालमा पनि स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरिन्छ ।’ मङ्कीपक्स हालसम्म भने नेपालमा पुष्टि भइसकेको छैन तर, विदेश यात्रा गर्दा र विभिन्न नाकाबाट नेपाल भित्रिँदा स्वास्थ्य सावधानी नअपनाए छिट्टै नेपालमा भित्रिन सक्ने चेतावनी पौडेलले दिए । रासस

डब्लुएचओले भन्यो : मङ्कीपक्स बढ्न थाल्यो, निगरानी बढाऔं

काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मंकीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मंकीपक्स द्रुत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेकाे हो । सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई मंकीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ । ‘मंकीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो’, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भनेका छन्, ‘यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसङ्ख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।’ डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मंकीपक्सका सङक्रमण पुष्टि भएका छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ । भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मङ्कीपक्स सङ्क्रमण पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘विश्वव्यापीरुपमै र यस क्षेत्रमा मंकीपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ । साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मंकीपक्स सङ्क्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ’, डा खेत्रपाल सिंहले भने । प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्याङ्कन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ । मंकीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्यसंस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन् । मंकीपक्स भाइरस सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ । हाल प्रकोप फैलिएका देशमा मंकीपक्स सङ्क्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सङ्क्रमित सामग्रीबाट पनि रोग सर्न सक्छ । रासस

भरतपुर आँखा अस्पताले पायो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो । आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति सङ्घ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुसीको कुरा भएको बताइन् । अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिको कामना गर्दै प्रमुख दाहालले यो चिह्न प्राप्तिसँग चुनौती थपिएको बताइन् । उनले भनिन्, ‘यो गुणस्तर चिह्नले भरतपुरलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएको छ ।’ भरतपुर महानगर र भरतपुर आँखा अस्पताल सहयात्री भएको बताउँदै उनले भनिन्, ‘अस्पतालको भवन निर्माणका लागि केही प्रक्रिया अगाडि बढेका छन् । हामीले गरेको प्रतिबद्धताअनुसारको त्यो जिम्मेवारी पूरा गर्नेर्छाैं ।’ कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले अस्पतालले प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न खुसीको विषय भएको बताउँदै यो खुशियालीलाई कायम राख्नुपर्ने बताए । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबाबु चन्दले अस्पतालको सेवामा अझै गुणस्तरीयता विस्तार गर्नुपर्ने बताए । उनले भने, ‘हामी गुणस्तरमा सम्झौता गर्दैनौँ, भरतपुर आँखा अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सोच छ ।’ नेपालको आँखा उपचारको क्षेत्रमा सङ्घद्वारा सञ्चालित अस्पतालको सेवा ९० प्रतिशत रहेको जानकारी दिँदै चन्दले अस्पतालको स्तरोन्नतिका लागि केन्द्रबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । अस्पताल सञ्चालक समितिका अध्यक्ष धरेलले लामो समयको अथक प्रयासपछि अन्तर्राष्ट्रियस्तरको गुणस्तर चिह्न आइएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल भएको बताए । उनले भने, ‘गुणस्तरीय व्यवस्थापन रहेकै कारण हामीले यो चिह्न प्राप्त गरेका हौँ ।’ उनले अस्पताल स्थापनाकालदेखि हालसम्म अस्पतालको विकासमा क्रियाशील रहनुहुने नेपाल नेत्रज्योति सङ्घका पूर्व र वर्तमान अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरु, अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी तथा दाताप्रति विशेष धन्यवाद ज्ञापन गरे । सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विसं २०४४ चैत १८ गते स्थापना भएको हो । ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यसमध्ये २२ लाख २० हजार ८६३ लाई बहिरङ्ग सेवा (ओपिडी) सेवा दिएको छ भने एक लाख सात हजार ६३६ को शल्यक्रिया गरेको छ । यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९६ हजार ४०० बिरामीलाई ओपिडि सेवा र नौ हजार ३२८ जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीनवटा सेकेण्डरी अस्पताल र १० आँखा उपचार केन्द्र हाल सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतीय नागरिकसहित १२ जिल्लाका बासिन्दाले अस्पताल र सेवा केन्द्रबाट प्रत्यक्षरुपमा सेवा पाएका छन् । रासस