नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ । सोमबार अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग विशेषज्ञ डा. सिरपा बज्राचार्यले संयुक्त रुपमा अत्याधुनिक लेजर मसिन सार्वजनिक गरेका थिए । सप्लायर रामशरण मल्लका अनुसार अत्याधुनिक अल्माको डर्मा क्लियर मसिन भित्र्याउने नर्भिक नेपालकै पहिलो अस्पताल हो । यो एउटै मसिनको मद्धतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिने उनी बताउँछन् । उनकाे अनुसार यो मसिनको मद्धतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ । यस्तै, मल्लकाअनुसार मसिनमा जडित पावर सक्सनका कारण छालाको भित्रैसम्म गाडिएर बसेको फोहोर राम्रोसँग बाहिर निस्किन्छ । ‘अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्कीनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मसिन हो,’ उनले भने । लेजर मसिन सार्वजनिक गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अत्याधुनिक मसिन पहिलोपटक नेपाल भित्र्याएर छालाकै अत्याधुनिक उपचार समेत नेपालमै सम्भव हुने अवस्था बनेको बताए । ‘अब छालाको कुनै पनि समस्या आउँदा स्तरीय उपचारका लागि विदेशिनुपर्ने बाध्यता हटेको छ,’ उनले भने,‘नर्भिकले सञ्चालनमा ल्याएको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा विश्वविख्यात अत्याधुनिक उपचार विधिहरुबाट छालाको उपचार गरिन्छ ।’
एकैदिन ८९५ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं । एकैदिन ८९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ९ सय ९ जनामा परिक्षण गर्दा ८९५ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।
कोरोनाको उपचारका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो १७ अस्पताल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन् । यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन् । यस्तै लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल रहेका छन् ।