रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु, सेवाग्राहीको चाप बढ्याे

रामपुर (पाल्पा) । भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ । बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउँछन् । उनका अनुसार नयाँ भवनमा बहिरङ्ग सेवा सुरु भएपछि हाल एक सयभन्दा बढी सेवाग्राही थपिएका छन् । साँघुरो भवनको बाहिर घण्टौँसम्म लाइन लागेर बिरामी पालो कुरेर बस्नुपथ्र्यो । कतिपय बिरामी पालो पर्खन अप्ठ्यारो मानेर स्वास्थ्य जाँच नै नगरीकन पनि फर्कन्थे । ‘नयाँ भवनमा सेवा सुरु गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ, पुरानो सानो भवनमा रहँदा चिकित्सकलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो स्थिति रहेको थियो, अहिले अस्पताल भित्रै सेवाग्राहीलाई बस्ने व्यवस्था मिलाइएको छ’, अस्पताल प्रमुख पोखरेलले भने । नयाँ भवनको पहिलो तलामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन् । बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभी, खानेपानी लगायतको सुविधा उपलब्ध छ । यसले गर्दा बिरामी धैर्य गरेर पालो पर्खेर स्वास्थ्योपचार सकेर फर्कने गर्दछन् । पुरानो भवनमा दैनिक दुई सयदेखि दुई सय ५० बिरामी आउने गरेकामा हाल नयाँ भवनमा सरेपछि तीन सयदेखि तीन सय ५० सम्म बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ । आकस्मिक सेवामा पनि बिरामी बढिरहेका छन् । दैनिक ३० देखि ४० आउने गरेको पाइएको छ । सेवाग्राहीलाई सहज रुपमा सेवा दिन अस्पतालका चिकित्सक, कर्मचारी र समितिको समन्वयमा भवनको पूरा काम नसकिँदै सेवा पुनः सञ्चालन गरेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् । ‘भिडियो एक्स–रे, फिजियोथेरापी, परामर्श सेवा, शल्यक्रियामार्फत प्रसूति सेवा लगायतका यहाँबाट दिने सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिएको छ, बिरामीले सेवा लिन समस्या भयो भन्ने गुनासो नआउने गरी काम गरिरहेका छौँ’, उनले भने । यस अस्पतालमा हाल ६ जना मेडिकल अधिकृत, एकजना कन्सल्टेन्ट डाक्टरबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालले चौबिसै घण्टा आकस्मिक, फार्मेसी र उपचार सेवा दिइरहेको छ । नियमित रुपमा भिडियो एक्स–रे सेवा भएकाले पनि बिरामी दैनिकजसो बढ्दैछन् । दैनिक २० देखि २५ जनाले भिडियो एक्स–रे सेवा लिँदै आएका छन् । अस्थायी रुपमा भएपछि नयाँ भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीले राम्रोसँग सेवा पाएको र सेवा लिन आउँदा पहिलाजसो अप्ठ्यारो परिस्थिति नरहेको बताउनुहुन्छ, अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष तथा स्थानीयवासी फणेश्वर गौतम । ‘पहिला अस्पतालभित्र बिरामीलाई बस्ने ठाउँ थिएन, ठूलो चाप हुँदा अस्पताल प्राङ्गणमा बाहिर टन्टलापुर घाममा उभिएर बस्नुपर्ने समस्या थियो, अहिले भने यी समस्या छैन, नयाँ भवनमा ओपिडी सेवा सुरु भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छैन’, उनले भने । यहाँ शल्यक्रियामार्फत प्रसूति सेवा दिन थालेपछि सदरमुकाम तानसेन, बुटवल, पोखरा लगायतका स्थानमा प्रसूति हुन जाने क्रम घट्दै गएको छ । एक महिनामा चार जनासम्म शल्यक्रियामार्फत प्रसूति हुने गरेको नर्स सुनिता गौतम बताउँछन् । यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सञ्चालित हुँदै आएकामा औषधोपचार सेवाको दायरा बढाउन विसं २०७२ मा ५० शय्याको अस्पतालका रुपमा स्तरोन्नति भएको हो । भौतिक पूर्वाधार लगायतका सेवा अभावका कारण भने विशेषज्ञ सेवा दिन भने समस्या परेको छ । यहाँ निर्माणाधीन भवन समयमा नै सम्पन्न नहुँदा विशेषज्ञ सेवा प्रभावित बनेको हो । भौतिक संरचना अभावमा साँघुरो संरचनामा बसेर सेवाग्राहीलाई सेवा दिन समस्या परेको पटक–पटक कर्मचारी तथा सेवाग्राहीले आवाज उठाउँदै आएका थिए । भवनको काम पूरा सम्पन्न नभए पनि पहिलो तलाबाट अस्थायी रुपमै भएख पनि अस्पतालले सेवा दिन थालेपछि उपचारमा समस्या झेल्नु नपरेको सेवाग्राहीको भनाइ छ । पन्ध्र शय्याको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर ५० शय्याको सुविधासम्पन्न भवन निर्माण कार्य थालनी गरिएको हो । स्वास्थ्य क्षेत्र नागरिकको पहिलो प्राथमिकता भएकाले कालीगण्डकी बेँसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाका नागरिकलाई लक्षित गरी विगत छ वर्षअघि ५० शय्याको अस्पताल निर्माण अगाडि बढाइयो । निर्माणको समय लम्बिँदै गए पनि अस्पताल भवनको संरचना निर्माण कार्य भने सुस्त गतिमा हुँदा नागरिकले सास्ती खेप्नु प¥यो । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि यहाँका नागरिक त्यस समय औधी खुसी थिए । स्वास्थ्य सेवाबाट टाढा रहेका पाल्पाको पूर्वी क्षेत्रका नागरिकलाई यहाँको स्वास्थ्य केन्द्रबाट सेवा उपभोग गर्न पाउँदा ठूलै स्वास्थ्योपचार सेवा पाएको आभाष हुन्थ्यो । ज्वरो, रुघाखोकी, टाउको दुख्ने जस्ता सामान्य उपचारका लागि सदरमुकाम तानसेन पैदल हिँडेर जानुपर्ने समस्या त्यस समयदेखि क्रमश: कम हुँदै गयो । गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधि उपचार सेवा सुरु भएपछि घरायसी उपचारमा आश्रित नागरिकहरु स्वास्थ्य केन्द्रमा धाउन थाले । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल ०७२ मा ५० शय्याका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ । सरकारको रु २२ करोड २२ लाख पाँच हजार तीन सय ८३ को अनुमानित लागतमा बोलपत्र आह्वान भएकामा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष ०७२÷७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको हो । आगामी असोजभित्रमा निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि महम्मद अन्सारु बताउँछन् । विसं २०७५/०७/१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप हँुदै आएको छ । ट्रस्ट, बाहिरी भागमा टायल लगायतको काम बाँकी छ । अस्पतालमा नौजना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । प्रसूति, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्स–रे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (शल्यक्रिया गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन सर्जन, कन्सल्टटेन साइक्याट्रिक्स (दिमागसम्बन्धी) जस्ता विशेषज्ञ सेवा तोकिएको छ । भवनकै कारण दरबन्दी अनुसारका चिकित्सकको अभावमा विशेषज्ञ सेवा दिन सकिएको छैन । अस्पतालमा एघारौँ तह (एकजना प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) चिकित्सकको दरबन्दी छ । अस्पतालमा निर्माणाधीन भवन समयमा नै सम्पन्न नहुनु अर्कोतर्फ भूगोलका हिसाबले ग्रामीण भेग । पाल्पाको सदरमुकाम तानसेनदेखि ग्रामीण भेगमा पर्ने रामपुर करिब ६५ किलोमिटर पूर्वमा अवस्थित हुँदा विशेषज्ञ चिकित्सक यहाँ आएर नागरिकलाई सेवा दिन झट्ट तत्पर हुँदैनन् । अस्पतालमा विशेषज्ञ सहितको सेवा उपभोगमा भूगोल र भवन अभाव बाधक हो । रासस

थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौं । शनिबार थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ४१ पुगेको छ । यस अवधिमा चार सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नौ लाख ७२ हजार ६४ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । यससँगै अहिलेसम्म ११ हजार नौ सय ७१ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालिकोट र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेसनमा पाँच हजार चार सय ७१, संस्थागत आइसोलेसनमा एक सय ७०, सघन उपचारकक्ष ९आइसीयू०मा ४६ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा २० हजार छ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

पाल्पा रामपुरमा आयुर्वेद सेवालाई विस्तार गरिँदै

पाल्पा । आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शय्याको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित बनेका छन् । यो पाल्पा जिल्लाकै ठूलो क्षमताको आयुर्वेद अस्पतालमा विकास हुँदैछ । संघीय सरकारको भवन निर्माणअन्तर्गत नौ करोड ५४ लाख ८७ हजार लागतमा ठेक्का सम्झौता भई भवन निर्माण भइरहेको छ । विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनबाट शिवशक्ति कन्ट्रक्सन प्रालिले निर्माण कार्य थालनी गरेको हो । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विसं २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले अनिश्चितकालसम्मका लागि बन्दाबन्दी जारी गरेपछि निर्माण कार्य केही समय प्रभावित भयो । बन्दाबन्दी खुकुलो भएपछि २०७७ को मङ्सिरदेखि पुनः भवन निर्माणको काम थालियो । सो भवन २०७८ भदौ २४ गतेभित्रमा सम्पन्न हुने सम्झौता भए तापनि कोरोनाको कहरले भने काम प्रभावित बन्न पुग्यो । पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वी भेगको रामपुरमा निर्माण हँुदै गरेको सो भवनको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको निर्माण कम्पनीका सुपरभाइजर गङ्गा श्रेष्ठ बताउँछन् । उनका अनुसार आगामी माघ मसान्तभित्रमा म्याद थप गरी निर्माणको काम सक्ने सम्झौता रहेको र सो समयावधिमा भवन निर्माण गरी हस्तान्तरण हुनेछ । अब भवन रङरोगन, बिजुली बत्ती जडान, आल्मुनियम जडान, ग्रिललगायतका काम बाँकी छन् । रामपुर आयुर्वेद औषधालयको स्वामित्वमा १२ रोपनी आठ आना जग्गा छ । सोही जग्गामा नै तीनतले सुविधा सम्पन्न नयाँ भवनमा एक योगाभ्यास हल रहनेछ । संघीय आयोजना कार्यालय एकाइ भैरहवाको रेखदेखमा भवन निर्माण भइरहेको छ । हाल दैनिक १५ देखि २० मजदुर काममा खटिएका छन् । यस आयुर्वेद औषधालयमा २०२४ सालदेखि आफूले नियमित सेवा लिँदै आइरहेको र अब भवन निर्माणपश्चात् अस्पतालको रुपमा परिणत भएपछि नागरिकले राम्रो सेवा पाउने समाजका अगुवा ७० वर्षीय नगिलाल पौडेल बताउनुहुन्छ । रक्तचाप, ग्याष्ट्रिकलगायतको औषधि सेवन नियमितरुपमा गरेको उनी बताउँछन्। ‘अब १५ शय्याको अस्पताल चालु भएपछि शतप्रतिशत सेवा पाइनेछ, भवन स्तरीय र निर्माणको कार्य दु्रतगतिमा अगाडि बढेको देख्दा थप सेवा छिट्टै उपयोग गर्न पाइनेमा विश्वस्त छौँ, कालीगण्डकीबेँसीको केन्द्रका रुपमा रहेको यहाँबाट धेरै नागरिक लाभान्वित हुनेछन्’ उनले भने। यहाँ अस्पताल चालु भएपछि पूर्वी पाल्पाका रामपुर नगरपालिकासहित निस्दी, पूर्वखोला, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिका र नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख तथा आयुर्वेद औषधालयका कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए । उनी भन्छन्, ‘चार जिल्लाको केन्द्र रामपुरमा व्यापारिक, शैक्षिक, उपचार सेवाका लागि ठूलो सङ्ख्यामा आउने गरेकाले आयुर्वेद अस्पताल सञ्चालनमा सबैको चासो बढेको छ, उपचार सेवा थपिने हुँदा अन्यत्र जानुपर्ने अवस्था हट्नेछ ।’ आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका डाक्टरको दरबन्दी रहनेछ । जसमा डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीलगायतका सरकारले मापदण्ड तोकेका कर्मचारीबाट सेवा दिइनेछ । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट आकस्मिक, एक्सरे, प्रयोगशाला, बहिरङ्ग, पायल्स, बिरामी भर्ना, योगको थेरापीलगायतका सेवा सञ्चालन गरिनेछ । औषधालयमा कविराज र वैद्य एक/एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । औषधालयमा बहिरङ्ग, साधारण, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायतका सेवा प्रवाह भइरहेको छ । सरकारी अस्पतालको पहुँच नपुगेको पाल्पाको रामपुरमा विसं २०१७ मा रामपुर आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवाको अनुभूति गर्न पाएका थिए । विसं २०२९ मा भने अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालियो । अञ्चल कार्यालय सदरमुकाम बुटवलमा मात्रै राख्ने तत्कालीन सरकारको निर्णय रहेकाले विसं २०४३ माघ ६ गते अञ्चल कार्यालय बुटवलमा स्थानान्तरण भएपश्चात् पुनः आयर्वेद औषधालयकै रुपमा सेवा दिन थालियो । सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक/एक आयुर्वेद औषधालय छन् । यस्तै रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा पाल्पामा ३६ हजार पाँच सय १५ ले आयुर्वेद सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएको छ । जसअन्तर्गत रामपुरमा आठ हजार चार सय २५, पूर्वखोलामा दुई हजार तीन सय ३६, बगनासकालीमा दुई हजार छ सय ६४, रिब्दीकोटमा चार हजार सात सय तीन, रैनादेवीछहरामा दुई हजार तीन सय ७९, माथागढीमा तीन हजार सात सय ४२ र तानसेन नगरपालिका (यहाँ नागरिक आयोग्य सेवा केन्द्र निस्दी, तिनाउँ र रम्भाको सहित) १३ हजार तीन सय ६५ रहेको छ । पालिकामा सबैभन्दा धेरै आयुर्वेद सेवा लिने रामपुर हो ।