डायलायसिस मेसिन आयो, जडान भएन
तुलसीपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलायसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताए । मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताए । रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो । ‘मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ,’ उनले भने, ‘प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन ।’ अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताए । त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन् । पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताए। उनका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ । अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । अहिले करिब ४० बिरामी उपचारको प्रतिक्षामा छन् । उनीहरुलाई पनि सेवा दिन सकिन्छ । लमही रोटरी क्लबको पहलमा डायलायसिस सेन्टर सञ्चालनमा छ । त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका छन् ।
७८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७८१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ४ हजार ७१२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ९० जना तथा एन्टिजेन विधिबाट २ हजार ४२२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ५११ जना निको भएका छन् भने २३ हजार ८०१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।
चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० नाघ्यो
चितवन । पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक सय दुई होम आइसोलेशनमा छन् । सक्रिय सङ्क्रमितमध्य ९० भरतपुर महानगरपालिका, सात खैरहनी नगरपालिकाका छन् । यस्तै माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा दुई, राप्ती नगरपालिकामा एक, कालिका नगरपालिकामा एक जना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । इच्छाकामना गाउँपालिकामा छ जना सक्रिय सङ्क्रमित रहेका छन् । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार २२ गतेदेखि जिल्लामा सङ्क्रमण देखिएको हो । यही साउनमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार सय ५० पुगेको कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा हालसम्म ३३ हजार आठ सय १४ मा कोरोना पुष्टि भएको छ । ती मध्ये ३३ हजार दुई सय ५६ निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले कोरोना फैलन सक्ने भएकाले यसबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताए । भीडभाडमा नजाने, नियमित साबुनपानीले हात धुने, मास्कको नियमित प्रयोग गर्ने, सामान्य रुघाखोकी र ज्वरो आएमा चिकित्सकसँग परामर्श लिनुपर्ने उनले सुझाव दिए । अहिले भरतपुर अस्पतालमा दैनिक आउने एक हजार पाँच सय बिरामीमध्ये पाँच सय मेडिसिन विभागका बिरामी रहने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार पाँच सयमध्ये दुई सय बिरामी ज्वरोको छन् । तीमध्ये ५० जनालाई कोरोनाको लक्ष्यण देखिएर परीक्षणका लागि पठाउने गरिएको उनले बताए । रुघाखोकी, ज्वरो, डेँगु, स्क्रफटाइफसका बिरामी अस्पताल आउन थालेका छन् । कतिपयलाई जापानिज इन्सेफ्लाइटिसको लक्षण देखिएपछि परीक्षणका लागि पठाइएको छ । रासस