मेची प्रादेशिक अस्पताललाई ‘हेमोडायलायसिस सेवा’ सञ्चालन गर्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ‘हेमोडायलायसिस’ सेवा आफै सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको गत साउन १६ गते बसेको बैठकले अस्पताललाई तीन महिनाभित्रमा सो सेवा आफैँ सञ्चालन गर्न निर्देशन दिने निर्णय गर्दै पत्र समेत पठाएको हो । पत्रमा साझेदार संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको भएमा तीन महिनाको समायावधिभित्र मन्त्रालयअन्तर्गतका सबै तहका अस्पताल, स्वास्थ्य संस्था स्वयंले सञ्चालन गर्न आवश्यक व्यवस्थापन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ । मेची प्रादेशिक अस्पतालका प्रशासन प्रमुख रेखनाथ दाहालले पत्रका बारेमा अस्पताल व्यवस्थापन समितिलाई समेत जानकारी गराइसकिएको बताउनुभयो । अस्पतालले विसंं २०७४ भदौ ९ गतेदेखि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रु ५० लाखको लागतमा निःशुल्क होमोडायलायसिस सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा चार मेसिनबाट विपन्न मिर्गौला रोगीका लागि सहजरूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सो सेवा सञ्चालनमा ल्याइएको हो । तर अस्पतालले विसं २०७७ पुस १ गतेदेखि काठमाडौंको विराङ्ग हेल्थ केयरलाई हेमोडायलायसिस सेवा सञ्चालन गर्ने जिम्मा दिएको थियो । उक्त कम्पनीसँग पाँच वर्षका लागि सम्झौता गरिए पनि महाशाखाको पत्रलाई आधार मानेर सोबारे कम्पनीलाई जानकारी गराइसकिएको उनको भनाइ छ । उनले हाल कम्पनीले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकेको, कर्मचारीलाई समयमै तलब नदिएको लगायतका गुनासो आइरहेकै समयमा महाशाखाको पत्र अस्पताललाई समेत आएको जानकारी दिए। विराङ्ग हेल्थ केयर शाखाका व्यवस्थापक शेरबहादुर चौधरीले मौखिक रूपमा अस्पतालबाट जानकारी आए पनि लिखितरूपमा अझै पत्र नआएको बताए । उनले अस्पतालसँगको सम्झौताअनुसार नै हाल १३ डायलायसिस मेसिनबाट सेवाग्राहीलाई सेवा दिँदै आएको जानकारी दिए। उनले हाल संस्थाले भवनसमेत बनाएर प्रभावकारी र आकस्मिक सेवा सञ्चालन गर्दै आएको दाबी गरे। उनका अनुसार हाल सो संस्थाबाट नियमित ६० मिर्गौलारोगीले सेवा लिइरहेका छन् । हेमोडाइलासिस सेवा सञ्चालन गर्न निजी साझेदार अवधारणालाई हटाउँदै मन्त्रालयले आफू मातहतका अस्पतालबाट सेवा सञ्चालन गर्ने नीति लिएको छ । निःशुल्क सेवा प्रदान गरे वापत मन्त्रालयले सेवा प्रदायक अस्पताललाई एक बिरामी वापत दुई हजार ५०० अनुदान उपलब्ध गराउँदै आएको थियो ।
एचआइभी सङ्क्रमितलाई रामपुर अस्पतालबाटै औषधि
पाल्पा । एचआइभी सङ्क्रमितहरुलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सहज भएको छ । सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो । हाल यस अस्पतालबाट नियमित औषधि उपलब्ध, परामर्श र परीक्षण पनि गर्न थालिएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो । बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनदेखि उक्त अस्पतालले सङ्क्रमितलाई औषधि वितरण पनि सुरु गरेको हो । अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० सङ्क्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउँछन् । रामपुरकी ३२ वर्षीया एक युवती रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताउँछिन् । दुई वर्षअघिदेखि उनले युनाइटेड मिसन अस्पतालबाट नियमित रुपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आएकी थिइन् । ती युवतीसहित परिवारका चार सदस्य एचआइभी सङ्क्रमित छन् । नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो । अहिले भने गाउँमै रहेको यस अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरु बताउँछन् । एचआइभी सङ्क्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने सङ्क्रमितहरु आफ्नो अनुभव बताउँछन् । यस क्षेत्रमा एचआइभी सङ्क्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरालगायत क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएको अवस्थामा उनीहरुलाई स्थानीयस्तरमा नै रहेको अस्पतालबाट सेवा दिने मनसायले पहल थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् । पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् । नियमित औषधि सेवन गरी निर्धक्कसाथ आत्मबल बलियो बनाएर अन्य व्यक्ति सरह नै जीवन जिउन सकिने हुँदा केही व्यक्ति समाजमा खुलेरै हिँड्ने पनि गरेको पाइन्छ । समाज र आफन्तको डर, लाजका कारण अन्य सङ्क्रमित अझै पनि खुल्न सकिरहेका छैनन् । गाउँमा औषधि सेवा वितरण भइरहे पनि अझै पनि यहाँका केही बिरामी भने डर र लाजका कारण अन्यत्र नै सेवा लिन जाने गरेको पाइएको छ । रासस
नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन
काठमाडौं । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ। नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्ण रुपमा निको बनाई घर पठाएको हो । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ८ वर्षीय बालकको पेटको अगाडिको भागको मांसपेशीमा एक्कासी पिप जम्मा भएको थियो । उनका बुबा शिवशरण महतोका अनुसार जनकपुरका अस्पतालमा देखाउँदा त्यहाँका चिकित्सकले उपचार गर्न नसक्ने बताएपछि बालकलाई काठमाडाैं ल्याइएको थियो । आर्थिक अवस्था कमजोर रहेका कारण राम्रो अस्पताल लैजान सक्ने अवस्था आफ्नो नरहेको, तर आफू नर्भिकमा आएर कुरा गर्दा उपचारमा सहुलियतसँगै राम्रो उपचार सुविधा पाएको बुबा शिवशरण महतोले बताए । ‘नर्भिकले उपचार खर्चमा समेत निकै छुट दिएर मजस्तो गरीबलाई गुण लगाएको छ ।’ महतोले भने–‘उपचारमा संलग्न डा. अभय यादवले समेत हामीलाई छुट दिनुभयो । उहाँहरुकै सहयोगले आज मेरो छोरा ठीक भएको छ,’ उनले भने । पेटको मांसपेशीमा जमेको पिप र त्यसको पीडाका कारण नर्भिक आउँदा विजय महतो हिँड्नसक्ने अवस्थामा थिएनन् । उपचार गरेर निकै ठीक भएपछि घर फर्किनुअघि सोमबार उनी ठमठमी हिँड्नसक्ने भएका थिए । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीको निर्देशनमा बालकको उपचार व्यवस्था मिलाइएको थियो । डा. अभय यादव नेतृत्वको टिमले महतोको उपचार गरेको थियो । यादव नेतृत्वको टिममा सहभागी चिकित्सक डा. सुशील कायस्थले गम्भीर अवस्थाका बालकले उपचारपछि नयाँ जीवन पाएका बताए । इन्फेक्सनका कारण बालकको अवस्था निकै गम्भीर बनेको स्मरण गर्दै उनले भने–‘बेलैमा उपचार भएको थिएन भने अवस्था निकै गम्भीर बन्नसक्थ्यो । उपचारपछि अहिले उनको अवस्था निकै राम्रो भएको छ । तर ती बालकले एन्टीबायोटिक चाहिँ निकै लामो समयसम्म खानुपर्ने हुन्छ ।’ नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वर्षेनी गरीबहरुको उद्धार गरी निःशुल्क उपचार सेवा दिँदै आएको बताइन् । आगामी दिनमा पनि अस्पतालले खर्चकै अभावमा उपचार गर्न नसक्नेहरुलाई सहयोग गर्ने उनको प्रतिबद्धता छ ।