चितवनमा डेङ्गु सङ्क्रमणका कारण ६ जनाको मृत्यु

चितवन । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताए । उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको थियो । यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनले बताए । रासस

तीन करोड २९ लाखको लागतमा निर्माण हुन लागेको जडीबुटी प्रशोधन केन्द्र अन्तिम चरणमा

भेरी । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका(१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका–२ का कालीबहादुर नेपालीले बताए । सरकारी स्वमित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी करिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमका व्यापारी अहिले यहाँ प्रशोधन नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जमा लिने गरेका छन् । तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ । सरकारी स्वमित्वमा रहेको यो केन्द्रले जाजरकोटका साथै जुम्लालाई समेत सहयोग पुग्नेछ । जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण हुनबित्तिकै जाजरकोट हुँदै कर्णालीका सर्वसाधारण देशका विभिन्न ठाउँमा जाने बाटोसमेत खुल्ने छ । अहिले रहेको जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने सडकभन्दा जाजरकोट भएर सुर्खेत नेपालगञ्ज जानका लागि सात घण्टा बाटो छोटो हुने गर्दछ । कर्णालीको सबैभन्दा बढी जडीबुटी डोल्पा, जुम्लालगायतका साविकको कर्णालीमा बढी पाइने गर्दछ । डोल्पा र रुकुमपश्चिममा उत्पादन भएको जडीबुटीसमेत भेरी करिडोर हुँदै यहाँ ल्याउन सजिलो हुने गर्दछ । भेरी करिडोर नेपाल–भारतको सिमाना जमुनाहबाट सुरु भएर चीनको तिब्बतसम्मा जोडिने गर्दछ । त्रिदेशीय सडकका रूपमा लिइने भेरी करिडोरको जाजरकोटबाट स्तरोन्नति अहिले सुरु भएको छ । स्तरोन्नति सकिएपछि सबैभन्दा बढी जडीबुटी व्यापारीका साथै आर्थिक उर्पाजनका रूपमा स्थानीयवासीलाई पनि पर्नेछ । धल्दा रुकुमपश्चिम, सल्यान र डोल्पाको बीचमा भागमा पर्दछ । प्रशोधन केन्द्र बनेपछि सङ्कलित जडीबुटी प्रशोधन भई आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । तीन जिल्लामा अमला, रिठ्ठा, काउलोको पात, चुत्रोको बोक्रा, पावन काउलो निकासी भएको छ । यस्तै रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बु र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । चिराइतो, पदमचाल, कटुकी, वनलसुन, सतुवा, सुनाखरी, सेतकचिनी, लोक्ता, अल्लो, सिटमुर, रिठ्ठाको सङ्कलन तथा निकासी भएको छ । प्रशोधन केन्द्रमार्फत् वार्षिक १० करोड रुपैयाँको व्यापार हुने अनुमान गरिएको छ । रासस

‘चिसोमा मधुमेहका बिरामी सचेत हुनुपर्छ’

काठमाडौं ।  चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ । विश्व मधुमेह दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताएका हुन् । वीर अस्पतालका इण्डोक्राइम विशेषज्ञ डा दीपक मल्लले भने, ‘मधुमेह भएकाहरू घाम उदाउनुअघि मर्निङ वाकमा जानु हुँदैन । खाली पेटमा हिँड्ने काम पनि उनीहरूका लागि घातक सावित हुन सक्छ । त्यसैले चिसोको समयमा मधुमेह भएकाले विशेष ध्यान पु¥याउनुपर्छ ।’ उनका अनुसार पछिल्लो समय खानपान र तनावका कारण विदेशबाट फर्किने व्यक्तिहरूमा बढी मधुमेह देखिएको छ । पछिल्लो समय युवा उमेर समूहमा मधुमेहको समस्या बढेको उनको भनाइ छ । ‘देशभर मधुमेह शिक्षा, भोलिको सुरक्षा’ भन्ने नारासहित आज मधुमेह दिवस मनाइएको छ । नेपालमा मधुमेहका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क सङ्कलन भएको छैन । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)का अनुसार मधुमेहबाट झण्डै पाँच लाख मानिस प्रभावित छन् । सन् २०३० सम्म यो सङ्ख्या १५ लाख पुग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले मधुमेहलाई सामान्य समस्या सोचेर हेलचेक्राइ नगर्न आग्रह गरिन् । उनले सचेतपूर्वक मधुमेहको समस्यामा ध्यान दिए आयु लम्ब्याउन सकिने विश्वास व्यक्त गरिन् । मधुमेहले आँखा, मिर्गौला, मुटु र खुट्टामा असर पार्छ । मधुमेहबाट पक्षघातको जोखिम पनि उत्तिकै हुन्छ । परिवारमा नजिकको सदस्यलाई मधुमेह भएमा, गर्भावस्थामा मधुमेह देखिएमा, आवश्यकताभन्दा बढी तौल, उच्च रक्तचाप र धेरै शारीरिक परिश्रम गर्न नपर्ने जीवनशैली भएका व्यक्तिमा मधुमेहको बढी जोखिम हुने चिकित्सक बताउँछन् । मधुमेहका मुख्य लक्षण बढी प्यास लाग्नु, पिसाब बढी हुन थाल्नु, राति पिसाब फेर्न उठ्नुपर्ने, दुब्लाउनु, कमजोर अनुभव हुनु, शरीर चिलाउने, बढी भोक लाग्ने, छालामा धाउ खटिरा आउने, आखाँ कमजोर हुने र यौनक्रम घट्ने हुन्छ । यद्यपि सबै लक्षण एकैपटक देखिँदैन । गर्भावस्थाको मधुमेह(गेस्टेसनल डायविटिज मेलिटस) को जोखिम पनि धेरै हुन्छ । मधुमेहका बिरामीले खुट्टामा चोट पटक र घाउ लाग्न नदिन सचेत हुनु चिकित्सकको सुझाव छ । मधुमेहको धेरै प्रकारमध्ये टाइप दुई डायविटिज नेपालीमा धेरै देखिने गरेको छ । रासस