कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड सङ्क्रमित

काठमाडौं । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ गएको २४ घन्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलबार ती सङ्क्रमित थपिएका हुन् । यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजारजना भन्दा बढी सङक्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलबार सङ्क्रमित बढेका छन् ।अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र संक्रमण देखिएको थियो । यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ । रासस

मृगौला प्रत्यारोपणमा किस्ट मेडिकल कलेज सफल, साढे ४ लाखमै उपचार

काठमाडौं । पछिल्लो समय विश्वमा मृगौलाको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा झण्डै ३० लाख मानिसहरुमा मृगौला सम्बन्धी समस्या रहेको विभिन्न तथ्यांकहरुमा प्रस्तुत गर्ने गरिएको छ । त्यस्तै वार्षिक रुपमा ३ हजार नेपालीको मृगौला फेल हुने गरेको विभिन्न तथ्यांकहरुले देखाउने गरेको छ । मानव शरिरको लागि अति आवश्यक अंग मृगौलामा देखिएको सो संख्यात्मक समस्या आँफैमा डरलाग्दो विषय हो । मृगौलामा समस्या भएर फेल भएपछि वा मृगौलाले काम गर्न छोडेपछि यसको उपचार महंगो र जीवनभर गर्नुपर्ने हुन्छ । सरकारले दुबै मृगौला फेल भएर डाइलासिस गरिरहेका र मृगौला प्रत्यारोपण गरेका विमारीहरुलाई कार्यविधि बनाएर मासिक ५ हजार रुपैयाँ प्रदान गर्न शुरु गरेको छ । साथै सरकारले मृगौला प्रत्यारोपण गर्ने विमारीहरुलाई अनुदान उपलब्ध गराउने गरेको छ । तर, मृगौला प्रत्यारोपण कार्य निश्चित सरकारी र निजी अस्पतालहरुले मात्रै गर्ने भएकाले अहिलेसम्मको अवस्था यो विषय आम मानिसमा सर्वशुलभ बन्न सकेको छैन् । पछिल्लो समय भने मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाहरुको वृद्धि हुन थालेको छ । सोही मध्ये ललितपुरमा रहेको किस्ट मेडिकल कलेजले मृगौला प्रत्यारोपणमा आफूलाई विश्वासिलो संस्थाको रुपमा प्रस्तुत गर्न सफल भएको छ । कलेजका अनुसार पछिल्लो डेढ वर्षको अवधिमा ५० ओटा मृगौला प्रत्यारोपण गर्न सफल भएको हो । कलेजले मंगलबार एक समारोहको आयोजना गर्दै मृगौला प्रत्यारोपणमा छोटो समयमा ठूलो सफलता हाँसिल गर्न सफल भएको जनाएको छ । कलेजको अहिलेसम्मको तथ्यांकमा मृगौला प्रत्यारोपण गर्ने अधिकांश मानिसहरु ३० देखि ४० वर्ष उमेरका रहेका छन् भने दान गर्नेहरु ५० वर्षभन्दा माथि उमेरका रहेका छन् । सरकारले मृगौला फेल भएका रोगीलाई निःशुल्क डाइलासिसको व्यवस्था गरेपनि सो उपचार विधि सामान्य जीवनमा फर्किनको लागि भने त्यति प्रभावकारी भएको देखिँदैन । मृगौला प्रत्यरोपण गरिसकेपछि भने मानिसले आफ्नो पुरानै अवस्थामा फर्किन सक्ने कलेजका चिफ युरो एण्ड ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुसाल बताउँछन् । उनका अनुसार कलेजले डेढ वर्षमा गरेको मृगौला प्रत्यारोपणमा सबै  मानिसहरु आफ्नो सामान्य जीवनमा फर्किएका छन् । किस्टले देखाएको सफलता राष्ट्रकै लागि भएको उनले बताएका छन् । कलेजले सरकारबाट ०७७ सालको अन्त्यतिर मृगौला प्रत्यारोपणको लागि लाइसेन्स प्राप्त गरेको थियो । लाइसेन्स प्राप्त गरेको केही समयपछि नै अस्पतालले ०७८ बैशाख महिनाबाट प्रत्यारोपणको कार्य प्रारम्भ गरेको थियो । कात्तिक २२ गतेसम्म कलेजले ५१ जना मृगौलाका बिमारीमा मृगौलाको प्रत्यारोपण गर्न सफल भएको छ । डा. भुसालका अनुसार अस्पतालले सम्पूर्ण कानूनी प्रकृया पुरा गरिसकेपछि त्यसको सम्बन्धित विभाग निर्माण गरेर र उनकै नेतृत्वमा टिम निर्माण गरेर प्रत्यारोपणको थालनी गरेको थियो । ‘यसमा कानूनी प्रकृया पनि अलिक कसिलो छ, हामीले ट्रान्सप्लान्टको लागि विङ्स बनाएका छौं, प्रत्यारोपणको अगाडि हामीले केही वर्कसप पनि गर्यौं,’ डा. भुसालले भने । नेपालमा वार्षिक रुपमा ३ हजार नेपालीहरुमा मृगौला फेल हुने गरेको समस्या देखिएपनि सरकारी र निजी क्षेत्रका अस्पतालहरु सबैको प्रयासबाट झण्डै ३ सय जनाको मात्रै मृगौला प्रत्यारोपण हुने गरेको छ । त्यस्तै सरकारको सूचिकृत अस्पतालमा झण्डै १० हजार मृगौला रोगीहरुले डाइलासिस गराइरहेका छन् । सरकारले मृगौला रोगीको डाइलासिस प्रकृयामा पनि वार्षिक रुपमा प्रतिव्यक्ति ४ लाख भन्दा धेरै खर्च गर्ने गरेको छ भने मृगौला प्रत्यारोपणमा पनि प्रतिव्यक्ति ४ लाख भन्दा धेरै सहयोग गर्ने गरेको छ । किस्ट कलेजले पनि सरकारले नागरिकलाई मृगौला प्रत्यारोपणको लागि उपलब्ध गराएको अनुदान बराबरको खर्चमा नै बिमारीहरुलाई मृगौला प्रत्यारोपणको सुविधा प्रदान गर्ने गरेको कलेका प्राचार्य डा.बालमान सिँह कार्कीले बताए । कलेजले नाफा आर्जन गर्ने भन्दापनि बिमारीहरुलाई सेवा दिने उद्देश्यले शुल्क निर्धारण गरेको उनको भनाइ छ । सरकारले अहिलेसम्म निजी क्षेत्रबाट सञ्चालित अस्पताल वा शिक्षण अस्पताल मार्फत मृगौला प्रत्यारोपण गर्दा अनुदान दिने व्यवस्था गरेको छैन । त्यसैले किस्ट मेडिकल कलेजबाट मृगौला प्रत्यारोपण गर्दा सो सुविधा प्राप्त गर्न सकिँदैन । तर, स्थानीय तहले दिने अनुदान सहयोग र प्रत्यारोपणपछिको सहयोग भने जुनसुकै अस्पतालबाट उपचार गर्ने बिमारीले पनि प्राप्त गर्न सक्छन् । सरकारले निजी क्षेत्रबाट सञ्चालित अस्पताल वा कलेजसँग अनुदानमा सहकार्य गर्ने नीति ल्याएमा आफूहरु पहिला सहकार्य गर्न तयार रहेको नेफ्रोलोजिस्ट डा. सन्तोष क्षेत्रीले बताए । ‘सरकारले अहिलेसम्म निजी अस्पताल तथा मेडिकल कलेजलाई अनुदान उपलब्ध गराउने नीति तय गरेको छैन, त्यस्तो नीति आएमा हाम्रो कलेज पहिला सहकार्य गर्न तयार छ,’ उनले भने । डा. क्षेत्रीका अनुसार मृगौला प्रत्यारोपणको सन्दर्भमा नेपाली अस्पतालहरुले पनि अन्तर्राष्ट्रिय स्तरकै सेवा प्रदान गर्ने गरेका छन्, जसकारणले मृगौला प्रत्यारोपणकै लागि विदेश जानु पर्दैन । चिफ युरो एण्ड ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुसालले मृगौला ट्रान्सप्लान्ट सम्बन्धी भ्रम आम मानिसदेखि कतिपय चिकित्सकलाई समेत भएको बताए । उनले अहिलेसम्मको अनुभवमा औसतमा हेर्दा मृगौला प्रत्यारोपण गरेको मान्छे २० वर्षसम्म बाँचेको बताए । ‘प्रत्यारोपण सम्बन्धी भ्रम धेरैलाई छ, डाक्टरलाई पनि छ’, उनले भने, ‘हामीले स्वास्थ्य परीक्षण गरेर कुनै व्यक्तिले मृगौला दान गर्न हुन्छ आगामी दिनमा उहाँको स्वास्थ्यमा समस्या आउँदैन भनेपछी मृगौला दान गर्न हुन्छ ।’ डाइलोसिस गरेर भन्दा प्रत्यारोपण गरेर मानिसको जीवन सहज हुने उनको भनाइ छ । उनका अनुसार मृगौला प्रत्यारोपण गरेको बिमारीले जीवनभरी नै केही औषधी खानुपर्ने हुन्छ । जसको खर्च पहिलो ३ महिनासम्म ३० हजार र त्यसपछिका महिनामा १० हजारका दरले खर्च हुने गर्छ । कानूनअनुसार मृगौला प्रत्यारोपणका लागि निश्चित नाता सम्बन्ध भएको मानिसको मात्रै मृगौला लिन पाइन्छ । मृगौला लिनको लागि भने रगतको ग्रुप भने अनिवार्य रुपमा मिल्नुपर्ने उनको भनाइ छ । त्यस्तो अवस्थामा ‘पेयर एक्सचेन्ज’ गर्न सकिने उनले बताए । ‘पेयर एक्सचेन्ज पनि गर्न सकिन्छ, त्यसको लागि पारस्परिक सहमति हुन जरुरी हुन्छ, त्यसको लागि कानूनी व्यवस्था पनि रहेको छ’, कलेका कानून अधिकृतले भने । मृगौला प्रत्यारोपणको विषयलाई लिएर कलेजले देशका विभिन्न ठाउँका विद्यालय, अस्पताल र व्यवसायीक क्षेत्रमा सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । आगामी दिनमा कलेजलाई मृगौला प्रत्यारोपणको नेतृत्वदायी संस्थाको रुपमा विकास गर्नेगरी काम गरेको कलेजले बताएको छ ।

नवलपरासीमा एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले बताए । उक्त वडामा पहिलो चरणमा सय विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम सोमबारबाट सुरु भएको वडाध्यक्ष मल्लले जानकारी दिए । वडा कार्यालयले निःशुल्क एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिने भएको हो । स्वास्थ्य बीमा कार्डबाट बिमितले तोकिएको स्वास्थ्य संस्थाबाट उपचारसँगै एक हजार एक सय प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताए । स्वास्थ्य बीमाबाट बिरामीले समयसमयमा सम्पूर्ण शरीरको परीक्षण गर्न सक्ने बीमा सहजकर्ता नारायणीदेवी पौडेलले बताए । सरकारले तोकेका स्वास्थ्य संस्थाबाट बीमाको लाभ लिन सकिने पौडेलको भनाइ छ । सो वडाले चालु आर्थिक वर्ष २०७९/८० मा स्थानीयको स्वास्थ्य बीमाका लागि चार लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष मल्लले बताए । आगामी दिनमा वडाका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने योजना रहेको वडाध्यक्ष मल्ल बताउँछन् । वडामा रहेका सम्पूर्ण घरपरिवारलाई आगामी पाँच वर्षभित्र बीमा कार्यक्रममा जोडेर निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको प्रत्याभूत गराउन पहल गर्ने मल्लले बताए । वडाको विकासका लागि शिक्षा र स्वास्थ्यमा सहज पहुँच नभएसम्म वडावासीको जीवनस्तरको सूचकाङ्क माथि उठाउन नसकिने मल्लको भनाइ छ । उक्त वडामा छ सय १६ घरधुरी रहेका छन् । यहाँका करिब दुई सय ५० परिवारले स्वास्थ्य बीमाको लाभ लिएका छन् । वडाले सुरु गरेको विपन्न परिवारलाई स्वास्थ्य बीमा गर्ने अभियानले थप एक सय परिवार स्वास्थ्य बीमा कार्यक्रमबाट लाभान्वित हुने वडाध्यक्ष मल्लले बताए । रासस