डेङ्गुले अस्पताल भरिभराउ

महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को रापताप उत्कर्षमा पुग्दै गर्दा महोत्तरीको बर्दिबास क्षेत्र भने डेङ्गु महामारीको चपेटामा छ । अहिले डेङ्गु जाँच गराउने र सङ्क्रमण पुष्टिपछिको उपचारको सेवा लिनेहरूले बर्दिबास अस्पताल भरिभराउ छ । कात्तिक महिनामा मात्रै हालसम्म (कात्तिक २५ गते मध्याह्नसम्म) १२६ जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ । ‘दैनिक डेङ्गु जाँच गर्न आउनेको चाप छ, सङ्क्रमण पुष्टि भएका पनि बाक्लै भेटिएका छन्’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले अस्पताल परिसरमा सञ्चारकर्मीसँग भने, ‘हामीलाई जाँच गर्न र उपचार दिन भ्याइनभ्याइ छ ।’ गत साउनदेखि नै बर्दिबास नगरक्षेत्रमा डेङ्गुको सङ्क्रमण भेटिएको हो । गत साउनमा जाँच गर्न आएका २७ जनामध्ये दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी भदौमा जाँच गरिएका १२४ मध्ये २४ जना, असोजमा जाँच गरिएका २३९ मध्ये ९४ जना र जारी कात्तिकको हालसम्म जाँच गरिएका २७५ मध्ये १२६ जनामा सङ्क्रमण पुष्टि भएको डा महर्जनले जानकारी दिए । साउनदेखि हालसम्म २४६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो बर्दिबास अस्पतालको जाँच नतिजाको मात्र सङ्ख्या हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालमा पनि डेङ्गु जाँच हुँदै आएको छ । ‘अहिले अस्पतालमा जाँचका लागि दिनहुँ मान्छेको चाप बढ्दो छ, सङ्क्रमित पनि थपिँदा छन्’ बर्दिबास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा भन्छन्, ‘हामीलाई डेङ्गु जाँचका लागि किटको पनि अभाव छ, बर्दिबास नगरपालिकाले अहिलेसम्म ६० वटामात्र किट उपलब्ध गराएको छ, हामीले ६६५ जनाको जाँच गरिसकेका छौँ ।’ विभिन्न सङ्घसंस्थासँग मागजाँच गरेर किट व्यवस्था गरिएको शर्माको भनाइ छ । पछिल्लो पटक डेङ्गु सङ्क्रमण बढ्दै गएपछि आसन्न निर्वाचनमा खटाइएका स्वास्थ्य क्षेत्रका कर्मचारी जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेर फिर्ता बोलाइएको शर्माले जानकारी दिए । अस्पतालमा अहिले जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । यता बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान भने डेङ्गु नियन्त्रणका लागि प्रभावकारी काम गरिएको दाबी गर्छन् । ‘हामीले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज गरेर लार्भा नष्ट गर्ने अभियान नै चलाएका छौँ’, उनी भन्छन्, ‘नगर बस्तीमा डेङ्गुविरुद्धको औषधि छर्कने काम गरिएको छ, सरसफाई सचेतनासम्बन्धी सघन काम गरिएका छन् ।’ डेङ्गु सार्ने ‘आडेस’ नाउँको लामखुट्टेको बासस्थान खोज गरी लार्भा नष्ट गर्ने र घरपरिवेश सरसफाइ गर्ने यस अभियानका मुख्य काम भएको पासवानको भनाइ छ । सरसफाइमा समुचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नाउँको लामखुट्टे अझै वृद्धि भएर सङ्क्रमण बढ्नसक्ने चिकित्सकको भनाइ छ । बर्दिबास नगरक्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । विसं २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा सङ्क्रमण पुष्टि भएको पूरानो अभिलेख उद्धृत गर्दै नगर कार्यपालिकाको कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसयताका वर्षमा केहीकेही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही महिनाभित्रै सङ्क्रमितको सङ्ख्या २४६ पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख पासवान बताउँछन् । पछिल्लोपटक नगरक्षेत्रमा डेङगु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखिएको जनाएको छ । नगरका सबै (१४ वडा) वडामा वडाअध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउँछन् । यद्यपि नगरका सर्वसाधारण भने औषधि छर्कने र आडेस लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी सञ्चालन नभएको गुनासो गर्छन् । आफ्ना घरआँगन, कोठाचोटा र वरपर नियमित सरसफाइ गर्ने, लामखुट्टेले पानीमा पूmल पार्ने भएको हुँदा कतै पानी जम्न नदिने र घरप्रयोजनका लागि भण्डारण गरिने पानी छोपेर राख्ने मात्रै गरिए पनि यसको नियन्त्रणमा बल पुग्ने डा महर्जन बताउँछन् । यसबाहेक नगर कार्यपालिका र स्वास्थ्यसम्बद्ध सबै संस्थाको डेङ्गु नियन्त्रणमा सङ्गठित प्रयत्न हुनपर्ने चिकित्सकहरूको भनाइ छ । यसैबीच डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन बर्दिबास नगरप्रमुख क्षत्रीले नगरवासीसँग अपिल गरेका छन् । भीडभाड बढ्ने आसन्न निर्वाचनका बेला अझ यसबारे सचेत भई सरसफाइमा विशेष ध्यान दिन नगरप्रमुख क्षत्रीको नगरवासीमा आग्रह छ । रासस

लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घले दियो ९५ लाख डलर

लेबनान । राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो । राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले सो सहयोग उपलब्ध गराएको बिहीबार जनाएको छ । आपतकालीन सहयोग अन्तर्गत सो सहयोग उपलब्ध गराइएको राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । केही हप्तायतादेखि लेबनानमा हैजाको प्रकोप बढ्दै गएको छ । सो प्रकोपको नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधी उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो । बिहीबार उपलब्ध गराइएको सो सहयोगबाट लेबनानका कम्तीमा पनि १५ लाख मानिसलाई हैजाको प्रकोपबाट जोगाउने काममा प्रयोग गरिने बताइएको छ । लेबनानमा केही हप्तायता देखिएको हैजाबाट चार सय ९० जना विरामी देखिएका छन् । साथै यस प्रकोपबाट यहाँ कम्तीमा पनि १८ जनाको ज्यान गएको बताइएको छ । यहाँ गएको अक्टोबर ६ मा चार जनामा पहिलो पटक हैजाका किटाणु भेटिएका थिए । त्यसयता यहाँ हैजाको सङ्क्रमण फैलिएको हो । रासस

तीन दिनमा ९०० नयाँ डेङ्गु सङ्क्रमित थपिए

काठमाडौं । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको हो । तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना सङ्क्रमित भइसकेका छन् । यस्तै डेङ्गुबाट धेरै सङ्क्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ सङ्क्रमित छन् ।