विश्व मुटु दिवस : खानपान र जीवनशैलीमा ध्यान दिनसके बचाउन सकिन्छ मुटु
चितवन । खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उनीहरुको भनाइ छ । भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतमले परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए/नभएको ख्याल गर्नुपर्ने बताए । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उनको भनाइ छ । उनले भने ‘जोखिमका तत्व पहिचान गरेर मुटुरोगबाट सुरक्षित रहन सकिन्छ ।’ धूमपान, मद्यपानलगायतका बानी व्यहोरामा सुधार गर्नुपर्ने उनको सुझाव छ । शारीरिक व्यायाममा ध्यान दिन, मोटोपना घटाउन, तनाव कम गर्न, मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप भएमा त्यसको नियमित औषधि सेवन गरेर व्यवस्थापन गर्न उनले सुझाव दिए । मुटुको बाथको रोग, जन्मजात रोगहरु छन् भने त्यहीअनुसार व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘समयमा ध्यान दिनसके मुटुरोग लाग्नबाट बच्न सकिन्छ, लागिसकेपछि पनि जोगिन सकिन्छ ।’ चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा. शङ्कर लौडारीले मुटुरोग लाग्नुभन्दा पहिले नै सर्तक हुन सक्यौँ भने मुटुरोगबाट बच्न सकिने बताए । उनले भने, ‘धूमपान, अत्यधिक मद्यपान लागुऔषधजस्ता कुलत छन् भने बन्द गर्नुपर्छ, यस्ता वस्तुबाट टाढा बस्दा एकदेखि दुई वर्षमा पहिलेकै अवस्थामा फर्कन सकिन्छ, तर रोग धेरै नै बढिसकेको छ भने पूर्ववतः अवस्थामा फर्कन गाह्रो पर्छ ।’ चिकित्सकको सल्लाहबिना अनावश्यक औषधि धेरै प्रयोग र शारीरिक व्यायामको अभावका कारण मुटु रोग बढ्ने उनको भनाइ छ । उनले भने, ‘फलफूल, तरकारी, प्रोटिनको मात्रा अलि बढी खाने, कार्बोहाइडे«ट मात्रा कम गर्ने, चिल्लो खानेकुरा कम गर्ने, एन्टिअक्सिडेन्टल चीजहरु धेरै खाने, आवश्यक परेको बेला भिटामिन पनि खान सकिन्छ, यी खानेकुराले मुटुलाई फाइदा गर्छ ।’ मुटुको केही रोगहरु देखियो र शङ्का लाग्यो भने नजिकको मुटुरोग चिकित्सकलाई देखाउन उनले सुझाव दिए । उनले भने, ‘बढ्दो उमेर, धूमपानको प्रयोग, अत्यधिकमात्रामा मद्यपान, उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोरललगायत वायु प्रदूषणलाई पनि मुटुरोगका कारक मानिन्छ ।’ चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा. विष्णुमणि धितालले मुटुरोगका सामान्य लक्षण पहिचान गरेर समयमै उपचार गर्न सुझाव दिए । उनका अनुसार छातीको बिच्चको भागमा लामो समयसम्म दुख्ने, केही काम गर्दा, उकालो चढ्दा वा धपेडी भएको बेला छाती गह्रुँगो हुने, केही कुराले थिचेको जस्तो हुने मुटुरोगका लक्षण हुन् । यसैगरी पोलिरहेको जस्तो महसुस हुने, त्यो दुखाइ कहिलेकाहीँ दायाँतिर, कहिले बायाँतिर र कहिलेकाहीँ पछाडितिर सर्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो भएको महसुस हुने पनि मुटुरोगका लक्षण भएको उनको भनाइ छ । चिकित्सकले मुटुरोगको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन् । केही वर्षअघिसम्म राजधानी केन्द्रित मुटुको उपचार अहिले चितवनसहित मोफसलका जिल्लामा उपलब्ध छन् । हृदयाघातजस्ता समस्या आउँदा तत्काल उपचारका लागि क्याथल्याबसहितको सुविधा पनि उपलब्ध छ । सहरमा केन्द्रित यो रोग पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा समेत पुगेको छ । रासस
प्रत्येक मृत्यु लापरबाही नै हो भन्न थाल्ने हो भने सबै अस्पताल बन्द गरिदिए हुन्छ : डा. खत्री
केही दिन यता स्वास्थ्य संस्थाहरुमा चिकित्सकमाथि कुटपिटका घटना सार्वजनिक भइरहेका छन् । चिकित्सकमाथिको आक्रमणले अस्पताल बन्द गरेर चिकित्सकहरु आन्दोलित छन् । नेपाल मेडिकल काउन्सिलको अद्यावधिक विवरण अनुसार ३२ हजार २१८ चिकित्सक दर्ता भएका छन् । आफन्तको मृत्यु भएपछि अधिकांश चिकित्सकहरुले लापरबाही गरेको संज्ञा दिँदै हातपात गर्ने गरेको पाइएको छ । सरोकारवालाहरु बिरामी, बिरामीका आफन्त तथा चिकित्सकबीच बिरामीको उपचारका बारेमा निरन्तर संवाद हुन नसक्दा चिकित्सकहरु कुटिने घटना बढीरहेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालुसिंह खत्री बताउँछन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था भएपनि यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । चिकित्सकमाथी भइरहेको आक्रमण र यसले निम्त्याउने प्रभावमा केन्द्रित रहेर नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालुसिंह खत्रीसँग गरेको कुराकानीको सम्पादित अंश । पछिल्ला दिनमा चिकित्सकमाथि सांघातिक आक्रमण बढीरहेको छ, कसरी हेर्नुभएको छ ? सांघातिक आक्रमणको विषयवस्तु त साह्रै डरलाग्दो छ । हाम्रो समाज के अराजकतातर्फ अग्रसर भएको हो ? दण्डहीनता, राज्यविहीनता, कानूनविहीनतातर्फ अग्रसर भएको हो ? यो प्रश्नलाई आम नेपाली नागरिकले गम्भिर रुपमा मनन गर्ने बेला भइसकेको छ । आम नेपाली मात्र नभएर सम्पूर्ण राष्ट्रिय मुलधारका राजनीतिकर्मीहरुले बुझ्न जरुरी छ । राज्य भनेको एउटा प्रणाली हो । मात्रै यो जमिन होइन । यस्तै अराजक हुँदै जाने हो भने हामी कता अग्रसर हुँदैछौ ? हामी असफल राष्ट्रतर्फ अग्रसर हुने संकेत देखिँदैछ । यसलाई रोक्न जरुरी छ । यो चिकित्सकमाथि भएको हिंसा भनेको त कम्प्लिट्ली राज्यविहीनता हो । हामी मणीपाल अस्पतालको घटना हे¥यौं भनेदेखि प्रहरीको अगाडि बसेर डाक्टरले कुटाई खाइरहेका छन् । अझ त्यसमाथि प्रहरी बाहिर आएर सानसँग मैले डाक्टरलाई कुटेर आएँ भन्छन् । यो भन्दा दण्डहीनको अवस्था कहिले हुनसक्छ ? जहिलेपनि असुरक्षा हुँदाखेरी जानुपर्ने प्रहरी कहाँ हो । मान्छेले सुरक्षाका लागि खोज्ने प्रहरी प्रशासन हो । त्यो प्रहरी प्रशासन नै दण्डहिनताको अवस्था सृजना भइसकेको छ भनिसकेपछि यो राज्य कहाँ छ त ? राज्य नै नभएको अवस्था होइन र यो । उपचारका क्रममा असमझदारी हुँदापनि चिकित्सकमाथि आक्रमण हुन्छ भनिन्छ वा अरु कुनै कारण पनि हुने गर्छ ? अवस्था त्यस्तो मात्रै होइन । पछिल्लो पटक हेटौंडाको घटना म जोड्न चाहन्छु । हेटौंडामा बिरामीको उपचार भएको करिव एक महिना १५ दिन पश्चात चिकित्सकमाथि टोल छिमेकका मान्छे भएर योजनावद्ध सांघातिक आक्रमण भएको छ । पूर्व तयारीका साथ गरिने सांघातिक आक्रमणलाई क्षणिक आवेग वा क्षणभरको परिवेशमा भएको मान्न सकिँदैन । यो हुनुको अर्थ के भएको बुझिन्छ भने यो देश दण्डहीन हुँदै गइरहेको छ । राजनीतिक संरक्षकले दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् । कुनै न कुनै प्रमुख दलको संलग्नता देखिने गर्छ । दल भन्नाले दलले संरक्षण दिएका व्यक्तिहरु । र, तिनीहरुलाई स्थानीय प्रशासनले कुनै कारबाही नगर्ने उल्टो जी, हजुरी गरेको प्रष्ट देखिन्छ । कतिपय घटनास्थलहरुमा मेडिकल काउन्सिलको तर्फबाट म पनि स्वयं पुगेको छु । त्यहाँ पुग्दापनि मैले प्रहरीको निरिहता बाहेक केही देखेकै छैन । किन भन्दा दलका नेता, कार्यकर्ता संरक्षक हुनुहुन्छ, केहि गर्न सकिँदैन । प्रत्येक दलआवद्ध व्यक्तिलाई यो देशको कानूनबाट छुट छ भन्ने किसिमको भाष्य निर्माण गर्दै गइरहेका छौँ । त्यसले गर्दा यो स्थिति सृजना भएको हो । सडक आन्दोलन पटकपटक हुन्छन्, सम्झौतामा टुंगिन्छन्, बीचमा चिकित्सक सुरक्षा सम्बन्धि कानस्न पनि बने, कानून पूर्ण भएर कार्यान्वयन नभएको कि कानून नै अपूर्ण छ ? कानून पूर्ण थियो । तर, कानून कार्यान्वयनको पक्ष एकदमै फितलो देखियो । कानून भनेको कागजमा लेखिएका शब्द होइनन् । कागजमा लेखिएको शब्दको भरमा सबै कुरा हुने भए त हाम्रो संविधानमा त यो देश स्वर्ग नै लेखिएको छ नि तर स्वर्ग त छैन । व्यवहारिक रुपमा लागू हुनुपर्छ । राज्यको उपस्थिति भनेकै त्यही हो, लेखिएको कानून कार्यान्वयन गर्नलाई । मन्त्रीपरिषद् भनेकै त्यही हो, प्रहरी प्रशासन भनेकै त्यही हो । तर, यस्तो देखियो प्रहरी प्रशासन, मन्त्रीपरिषद् त्यसलाई आफ्नै धुन बाहेक अरु मतलब छैन । यो देशमा कानून कसरी परिपालन गराउने ? कानूनी राज्य कसरी स्थापित गराउने भन्ने त देखिँदै देखिएन । मणीपाल, लमजुङको घटना हेर्नुभयो भने त प्रहरीको अगाडी हातपात भइरहेको छ, प्रहरीको अगाडी घाँटी समाउने कार्य भइरहेको छ । अनि प्रहरी मौन छ, चुपचाप छ किन भन्दाखेरी कहीँ न कहीँ कुनै न कुनै दलको संलग्नता छ । यसको अर्थ के हो भन्दाखेरी हिजोको दिनमा यो व्यवस्था प्राप्ति गर्दाखेरी राजा फालेर सबै समान हुन्छन् भनेको त्यो नभएर दलभित्र सबै राजा हुन्छन् भन्ने खालको भाष्य स्थापित गरिँदैछ । चिकित्सकहरु पनि दलमा आवद्व हुन्छन्, उनीहरुले किन आफ्नो दललाई दबाब दिन सक्दैनन् ? सबै जनाले आफ्नो दलीय आवद्धता छोडेर भएपनि होमिन बाध्य हुन्छन् र, होमिन्छन् । यसमा मेरो दल र तेरो दल भन्ने प्रश्न नै रहँदैन । सिद्धान्तप्रतिको एउटा आस्था होला तर यसरी गलत परिस्थिति र गलत भाष्य निर्माण गर्ने व्यक्तिहरुलाई बोक्न सकिँदैन । तिनीहरुलाई साथ समर्थन दिन सकिँदैन । चिकित्सकहरु सेतो कोटसहित सडकमा छन्, अब कार्यस्थलमा कहिले फर्किने ? जबसम्म यस किसिमको दण्डहीनतालाई प्रश्रय दिने खालको अहिलेको व्यवस्था अन्त्य हुँदैन । हामी यो पटक स्पष्ट सन्देश दिन चाहन्छौँ, हामीलाई चलाएर बिच्काएमा राजनीतिकर्मीलाई हामी छोड्नेवाला छैनौँ । यसमा संलग्न प्रहरी मात्रै दण्डित भएर पुग्दैन । प्रहरी प्रशासन परिचालन गर्ने सर्वोच्च व्यक्तिदेखि लिएर तल्लो तहसम्मका सबै दण्डित भएपश्चात मात्रै हामी कार्यस्थलमा फर्कन्छौं । कतै चिकित्सकका कामहरुले नै उत्प्रेरकको भुमिका पनि खेलिरहेको छ की भनेर पनि त हेर्नुपर्ला नि ? के छ भने चिकित्सकीय अभ्यासको क्रममा त्रुटी नै हुँदैन भन्ने छैन । त्रुटी हुन्छ । त्रुटी नियमन गर्नलाई मेडिकल काउन्सिल रहेको छ । मेडिकल काउन्सिलले धेरै हदसम्म आफ्नो भुमिका परिपालन गर्न नसकेको हो की भन्ने प्रश्न रहिरहन्छ । अब त्यसमा यावत समस्याहरु छन् । अहिलेको संरचनागत कुराहरु होलान् । कतिपय ऐन संशोधन, नियमावली संशोधन राज्यले नगरिदिएर मेडिकल काउन्सिल स्वयंले पनि कतिपय चिजहरु गर्न नसकिरहेको अवस्था छ । चिकित्सकको पाटोबाट त्रुटी भन्दापनि बढी क्षणिक आवेग भन्दापनि बढी यो उदण्डता, दण्डहीनतालाई प्रश्रय दिने व्यक्तिहरुको संलग्नता बढी देखिन्छ । केही हदसम्म काउन्सिलमा पर्ने उजुरीहरुमा चिकित्सकको त्रुटी भेटिने गरेका छन् । तर, यसरी उदण्डता, अराजकता फैलाउने व्यक्तिहरुको केसमा धेरै केसहरु हामिले अध्ययन गरेका छौँ । कुनै किसिमको त्रुटी भेटिँदैन । उनीहरुको माग के हुन्छ भन्दा मेरो मान्छे अजम्बरी हुनुप¥यो, त्यो त संसारमा सम्भव नै छैन । त्यो असम्भव चिज त कसैले गर्न सक्दै सक्दैन । केही पाटोमा चिकित्सकको कमजोरी होलान् त्यसलाई क्रमशः सुधार गर्नुपर्नेछ । क्रमिक सुधार हुन्छन् पनि । तर, अहिले देश राज्यविहीनता जस्तै भयो । म अहिले स्वयं मेडिकल काउन्सिलमा छु । छानबिन गर्ने समितिको प्रमुख छु । तर, एकोहोरो त हुन सक्दैन । एकातर्फ चिकित्सकको त्रुटीको छानबिन गरेर कारबाही पनि हुने अर्कोतर्फ कार्यक्षेत्रमा कुनैपनि किसिमको राज्यको उपस्थित नरहने । राज्यविहीन भइरहनुपर्ने हो भने मैले त्यो चिकित्सकबाट के अपेक्षा राख्ने । मैले त्यसलाई रिस्क लिएर उपचार गर भन्ने की नभन्ने उसलाई कुनै आकस्मिकतामा हात हाल भन्ने की नभन्ने । राज्य टुलुटुलु हेरेर बस्ने हो भने भोलिको दिनमा ठूला ठूला जटिल शल्यकृया कसले गर्छ यो देशमा । र, के बुझ्न जरुरी छ भने चिकित्सकीय कामलाई पेशा भनिदैन संसारभर । यो त अभ्यास हो । हामीले पनि अभ्यास भन्छौँ । किनभने जति अभ्यास हुँदै जान्छ उति नै तिखारिँदै जाने हो । उति नै नयाँनयाँ कुरा पत्ता लाग्दै जाने हो । साइन्स इन्कम्प्लिट छ । हरेक दिन नयाँ कुरा निस्किन्छ । भनिसकेपछि यसमा अभ्यास गर्ने व्यक्तिलाई हरेक परिणामलाई त्रुटी भनेर लापरबाही भन्नुहुँदैन । हाम्रो परिणाम त प्रष्ट छ नि कुनैपनि बिरामी उपचार गर्न गयो भनेदेखि कुनैपनि शल्यकृया गर्दाखेरी दुई वटामध्ये एउटा परिणाम आउँछ, कि उ बाँच्छ, कि उ मर्छ । बीचको परिणाम हुन्छ र । आधा बाच्ने आधा मृत्यु हुने भन्ने त संसारमा कतैपनि हुँदैन । प्रत्येक मृत्यु लापरबाही नै हो भन्न थाल्ने हो भने अस्पताल त सबै बन्द गरिदिए भयो । घरमा कोही मर्दैनन्, बाटोमा कोही मर्दैनन् । अस्पतालमा चिकित्सकले मात्रै मार्ने हुन् र । समाज यति अराजक । असहिष्णु,उदण्ड हुन मिल्दैन । देशमा कानूनी व्यवस्था कायम गर्ने हो । सबै सिस्टमका लागि भिँड्ने हो । र, यसको मुख्य दायित्व त राजनितीकर्मीकै हो । हामी प्रणालीमा विश्वास गर्छौं । हरेक ठाउँमा व्यक्ति हाबी हुँदै जाने हो भने कसरी यो समाज अगाडी बढ्छ । अघिल्लो वर्ष दुई हजार आठ सय चिकित्सक नेपाल बाहिर गए । यो वर्ष अझै बढ्ने क्रम छ । भन्नुको अर्थ वर्षेनी तीन हजारदेखि ३ हजार पाँच सय चिकित्सक नेपाल बाहिर गइरहेका छन् । हामी कहाँ नयाँ दर्ता हुने एक हजार भन्दा तल झरिसकेको अवस्था छ । यो भनेको साह्रै भयावह अवस्था हो । यहि अवस्था रहिरहे अबको पाँच सात वर्षमा हामी चिकित्सक विहीन हुन्छौँ । अहिलेको सामाजिक, राजनितिक परिवेशले क्षेत्रले त स्वास्थ्यलाई कम्प्लिट्ली कोल्याप्स बनाउन खोज्दैछ । अब त हाम्रो नियन्त्रण भन्दा बाहिर जान्छ । स्रोत : न्युज एजेन्सी नेपाल
स्वास्थ्य बीमामा ७१ लाख नागरिक आबद्ध, ४५ प्रतिशतले मात्रै लिन्छन् सुविधा
फाइल तस्बिर काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अनुसार पछिल्लो समयसम्म स्वास्थ्य बीमामा ७१ लाख ८१ हजार ३२५ जना नागरिक आबद्ध भएका छन् । बीमामा आबद्ध नागरिक मध्ये ७० प्रतिशतले नवीकरण गर्ने र ४५ प्रतिशतले सेवा उपभोग गर्ने गर्छन् । बोर्डका अनुसार असोज ४ गतेसम्मको तथ्यांकमा नेपालको कुल परिवारको ३३.२५ प्रतिशत परिवारका ७१ लाख ८१ हजार, ३२५ जना नेपालीहरु स्वास्थ्य बीमामा आबद्ध भएका छन् । बीमामा आबद्ध भएका मध्ये ७० प्रतिशत अर्थात ५० लाख २६ हजार ९२७ जनाले नवीकरण गरेका छन् भने सो संख्याको ४५ प्रतिशत अर्थात ३२ लाख ३१ हजार ५९६ जनाले सेवा उपभोग गर्ने गरेका छन् । बोर्डका अनुसार अहिले देशभरीका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज, र निजी अस्पतालहरु गरी ४४० वटाले सेवा प्रदान गरिरहेका छन् । अस्पताल तथा स्वास्थ्य संस्थाहरुले नागरिकले चाहेजस्तो गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नगर्दा पनि स्वास्थ्य बीमामा नागरिकको आकर्षकण बढीरहेको बोर्डले जनाएको छ । स्वास्थ्य बीमालाई सफल कार्यान्वयन गर्न सबै पक्षको सहयोग हुने हो भने सो कार्यक्रमलाई सबै परिवारमा पुर्याउन सकिने बोर्डले प्रतिवेदनमा उल्लेख गरेको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले सरकारले जनताको उपचारको लागि विभिन्न शिर्षकमा गरिरहेको खर्च स्वास्थ्य बीमामार्फत गरेमा यसलाई दीगो बनाएर राज्यको स्वास्थ्य क्षेत्रमा खर्च समेत कम गर्न सकिने बताएका छन् । उनले हरेक नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराएमा राज्यले स्वास्थ्य क्षेत्रको लागि राजस्व खर्च गर्नुनपर्ने समेत बताए । कार्यकारी निर्देशक डा. बसौलाका अनुसार बोर्डले चालु आर्थिक वर्षमा सुविधा थैली, योगदान रकम र गु्णस्तरीय सेवाको लागि मार्गचित्र तयार गरेर कार्यान्वयनमा ल्याउने तयारी गरेको जनाएको छ । औपचारिक क्षेत्रमा कार्यरत मध्ये यो वर्षमा अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने जनाएको छ । साथै वैदेशिक रोजगारीमा जाने र संगठित क्षेत्रका व्यक्तिहरुलाई पनि बीमामा आबद्ध गराउने कार्ययोजना अगाडि सारेको छ । बोर्डले चालु आर्थिक वर्षमा बीमा कार्यक्रमलाई पूर्ण डिजिटलाइजेसनको प्रकृयामा अगाडि बढाउने जनाएको छ । अहिले बोर्डमा आबद्र्ध भएका सेवाग्राहीहरुले डिजिटल भूक्तानी प्रणालीको प्रयोग गरेर नै नवीकरण गर्न सक्ने व्यवस्था बोर्डले मिलाइसकेको छ । बोर्डले कोष सञ्चालन, दाबी समीक्षा, नमूना स्थानीय तह, वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई आबद्ध गर्ने लगायतका झण्डै एक दर्जन कार्यविधि निर्माण गरेर बीमाको दायरालाई विस्तार गरिरहेको छ । बोर्डका कार्यकारी निर्देशक डा. बसौलाका अनुसार बोर्डमा ९१३ जनाको स्थायी दरबन्दी कायम रहेकोमा अहिले जम्मा २५० जना कर्मचारीले काम गर्नुपर्ने अवस्था रहेकाले दाबी परीक्षण र भुक्तानीमा समस्या भएको बताएका छन् । कर्मचारीकै अभावका कारण स्वास्थ्य संस्थाहरुले प्रदान गरेको सेवा प्रवाहको प्रभावकारी अनुगमन गर्न नसकिएको समेत उनले बताएका छन् । पछिल्लो समयमा स्वास्थ्य बीमामा आबद्ध बिमितको संख्या वृद्धिको तुलनामा स्वास्थ्य प्रदायकको सेवामा सुधार नभएको बोर्डले जनाएको छ । साथै ७५३ वटा स्थानीय तहमध्ये ४०७ वटा स्थानीय तहमा सेवा प्रदायक संस्था नभएकोले पनि बिमितहरुलाई सेवा लिन गाह्रो भइरहेको बोर्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।