मेडिकल सञ्चालकद्वय गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना
दमौली । अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका दुवै जनालाई जनही एक लाख जरिवानाको फैसला सुनाएको थियो । व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले सञ्चालकद्वय गरौजा र चौधरीलाई गत बिहीबार पक्राउ गरी उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई इन्जेक्सनमार्फत उपचार गराएको र मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिव्योटिक्सको माध्यमबाट उपचार गराएको आरोप लगाइएको छ । रासस
विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउँछुः मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरु पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे । उनले चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसको लागि विशेष बजेट ल्याउने पनि बताए । उनले गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही भए आफूलाई सम्पर्क गरे आफूले उपचार गरिदिने बताए । ‘दुर्गम ठाउँमा डाक्टर, स्वास्थ्यकर्मी छैनन्, मैले कसैको कुरा नसुनेर गाउँमा पठाइदिएको छु, यो इतिहासमै पहिलो पटक हो नेपालमा, दरबन्दी एक चौथाइ मात्रै छ, चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा लागिरहेको छु । पैसा विनियोजन छैन, विशेष बजेट ल्याएर भनेपनि गर्ने हो, संविधानमा लेखिए जस्तै हामीले काम गर्नुपर्छ, अब नेपालमा उपचार गर्न नसकेर हस्पिटलको बरण्डाबाट आत्महत्या गरेर कोही पनि बिरामी मर्नु पर्दैन, घर फर्किनु पर्दैन, गरिव र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही मान्छे फेला पारे मलाई जिम्मा लगाइदिनुस्, म निःशुल्क उपचार गर्छु, हामी सुधारको प्रक्रियामा लागेका छौँ,’ उनले भने । मन्त्री बस्नेतले अहिंसात्मक माध्यम र तौर तरिका अपनाउन नसके समाजमा राम्रो नहुने बताए ।
दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य जाँच
काठमाडौं । सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि गोँगबुस्थित नयाँ बसापार्कमा चालक र सहचालकको स्वास्थ्य जाँच गरिएको छ । ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालि नयाँ बसपार्कको सहयोगमा आज सार्वजनिक सवारी साधनका चालक, सहचालक र कर्मचारीलाई स्वास्थ्य जाँच गरिएको हो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सार्वजनिक सवारी साधनमा कार्यरत कर्मचारीलाई स्वास्थ्य राख्नका लागि ट्राफिक सप्ताहअन्तर्गत स्वास्थ्य जाँचको कार्यक्रम राखिएको बताए । उनले सवारी चालकलाई स्वस्थ्य राख्नसके सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे । काठमाडौं महानगरपालिका-२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले चालक जति अनुसाशित भए त्यति नै ट्राफिक व्यवस्थापनमा सहज हुने बताए । उनले ट्राफिक सप्ताहमार्फत चालक र सहचालकलाई सचेतना दिनु जरुरी रहेको बताए । लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले ट्राफिक जनचेतना एक हप्तामात्र नभई वर्षभरि दिन आवश्यक रहेको बताए । उनले नयाँ बसपार्कलाई काठमाडौं महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूहरु लागेको जनाउँदै सो अभियानमा साथ दिन सबैलाई आग्रह गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वस्थ्य हुनुपर्ने बताए । उनले सार्वजनिक यातायात क्षेत्रमा कार्यरत कर्मचारीलाई स्वस्थ्य राख्न सकेमात्र सवारी दुर्घटनामा कमी आउने उल्लेख गरे । अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, सिल्भर लाइन अस्पतालका डाक्टर लोकेश पुरी, ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख राजु भण्डारी लगायतले नेपालको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष अर्जुन गौतम, बागमती प्रदेश संयोजक सुवन गिरीलगायतको उपस्थिति थियो । कार्यक्रममा तिलगङ्गा आँखा अस्पतालले आँखा जाँच, ओम चाबहिल डेन्टल अस्पतालले दाँतको जाँच र सिल्भर लाइन अस्पताल बालाजुको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेको थियो । रासस