काठमाडौं महानगरले सञ्चालन गर्यो निःशुल्क आँखा परीक्षण शिविर, अप्रेशन पनि सहुलियतमा
काठमाडौैं । काठमाडौं महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । महानगरले बिहीबार अर्थात असोज २५ गतेदेखि नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । काठमाडौं महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्यस्वयंसेवकहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ । नेपाल आँखा अस्पतालका कर्मचारी राम केसीले सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको जानकारी गराए । उनले अप्रेशन गर्नुपर्ने भएकाहरुलाई पनि नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्ने लक्ष्य रहेको बताए । ‘सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको हो, आज र भोलि यो शिविर सञ्चालन गर्नेछौं, शिविरमा २ हजारसम्म कर्मचारीलाई यो सेवा दिनसक्छौँ, यो निःशुल्क शिविर हो, निःशुल्क जाँच हुन्छ, निःशुल्क उपचार हुन्छ, अप्रेशन गर्नुपर्ने भए उहाँहरुलाई नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्नेछौं,’ उनले भने । विश्व दृष्टि दिवस २०८० को अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा जाँच गरेको हो ।
मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै
जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बयतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौला समस्या बढी हुनसक्ने देखाएको हो । अध्ययनका क्रममा दुई वर्ष खाडीका छ मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका आप्रवासी र नेपालमै रहेका नागरिकबीच तुलना गरिएकामा त्यस्तो देखिएको अनुसन्धानकर्ता टोलीमा सहभागी डा निर्मल अर्यालले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका सात सय १८ जना (सबै पुरुष) र नेपालमै रहेका सात सय २० जना (३७० पुरुष र ३४१ महिला) स्थानीयबीच तुलना गरिएको थियो । मिर्गौलाको अवस्था जनाउने सबैभन्दा महत्वपूर्ण परीक्षण मानिने ‘ग्लोमेरुलर फिल्ट्रेसन रेट’को क्षमता जाँच गरिएकामा आप्रवासीमा ५ दशमलव ८ प्रतिशत र गैरआप्रवासीमा ३ दशमलव ६ प्रतिशत कमी देखिएको डा अर्यालले जानकारी दिनुभयो । “गैरअप्रवासीमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाभन्दा पूर्वआप्रवासीमा बढी समस्या देखिएको छ । त्यसैगरी रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आपवासीमा बढी देखिएको छ । उक्त परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रालाई हेरी मिर्गौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ भन्ने निक्यौल गर्दछ र घट्दो दरले मिर्गौलाको कार्य क्षमतामा कमी आएको मानिन्छ । यसले पनि आप्रवासीहरूमा बढ्दो मिर्गौला समस्याको सङ्केत गर्दछ”, डा अर्यालले भने । यस्तै मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने आप्रवासीभन्दा गैरआप्रवासीमा बढी देखिएको छ । खासगरी गैरआप्रवासी महिलामा यो समस्या बढी देखिएकाले यसको कारकतत्व खोज्न छुट्टै अध्ययन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ । त्यसैगरी अध्ययनले खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली आप्रवासीमा स्थानीय गैरअप्रवासीको तुलनामा उच्चरक्तचाप (आप्रवासी ३८ प्रतिशत, गैरआप्रवासी (९ दशमलव ४ प्रतिशत), मधुमेह (आप्रवासी ७४ प्रतिशत, गैरआप्रवासी ४ दशमलव ७ प्रतिशत) र बढीतौल वा मोटोपन (आप्रवासी ६७४ प्रतिशत, गैरआप्रवासी ४९ प्रतिशत) को जोखिम निकै बढी रहेको देखिएको छ । डा अर्यालका अनुसार मिर्गौलाको रोगको जोखिम उच्च भएकामा सबैभन्दा धेरै लामो समयसम्म एकै स्थानमा काम गरेका कामदार, सुरक्षा गार्ड र सवारी चालक, प्रत्यक्ष घाममा, आउटडोर, धुलो-धुवाँमा काम गर्ने कामदारमा समेत यो समस्या धेरै पाइएको छ । यस अध्ययनका सिलसिलामा रगत र पिसाबको नमूना लिइएको र त्यसपछि प्रश्नावली सोधिएको थियो । अनुसन्धान टोलीका अर्का सदस्य एवं मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका प्रमुख डा श्रवणकुमार मिश्रका अनुसार अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत थिए भने दुई तिहाइभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत थिए । त्यसैगरी सहभागी आप्रवासीले औसतमा दैनिक १० दशमलव ७ घण्टा काम गर्ने गरेको र ३० दशमलव ९ प्रतिशतले औसतमा महिनाको एकदिन पनि विदा नलिने गरेको बताएका थिए । यस्तै २४ दशमलव ८ प्रतिशतले शारीरिकरुपले भारी र लगभग आधा सहभागीले (४४ दशमलव ४ प्रतिशत० गर्मीमा काम गर्नुपरेको, करिब ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउँमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको बताएको डा मिश्रले जानकारी दिनुभयो । “आप्रवासी मात्रै होइन उहाँहरूको परिवारका सदस्य (विशेष गरी श्रीमती) मा पनि विभिन्न तनावका कारण धेरै समस्या हुनसक्ने देखिन्छ । यसर्थमा आप्रवासीमा उच्च रक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकाले ती देशमै यससम्बन्धी सचेतना जगाउन आवश्यक छ । त्यसका लागि नेपाली दूतावास र आप्रवासीको हकहितको लागि काम गर्ने सङ्घसंस्थाले पनि विशेष पहल गर्नुपर्छ”, डा मिश्रको भनाइ छ । बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपाल नामक गैरसरकारी संस्थाले बेलायतस्थित द कोल्ट फाउण्डेशनको आर्थिक सहयोगमा गरेको यस अध्ययनमा मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) र बेलायतकै युनिभर्सिटी कलेज लण्डन (युसिएल)ले सहयोग गरेको जनाइएको छ । यस प्रकारको अध्ययन समुदायस्तरमा आप्रवासी नेपाली कामदार र गैरअप्रवासीबीच पहिलोपटक भएको दावी गरिएको छ । अनुसन्धानमा प्रमुख अनुसन्धानकर्ताको रुपमा डा प्रमोदराज रेग्मी (बर्नमथ विश्वविद्यालय, बेलायत) र उहाँको टिममा अनुसन्धानकर्ता डा निर्मल अर्याल, प्रा डा एडविन भान तेजलिन्जिन, प्रा डा अरुण सेढाइ, डा राधेश्यामकृष्ण केसी र डा श्रवणकुमार मिश्र सहभागी भएको ग्रिन तारा नेपालले जनाएको छ ।
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार भन्दा बढी बिरामी
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन् । बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ । केही बिरामी उपचारपछि निको भइसकेका छन् । गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७५ जना बिरामी भेटिएका थिए । जसमा सबैभन्दा बढी डडेल्धुरामा पाँच सय ४५, कैलालीमा पाँच सय २९, कञ्चनपुरमा तीन सय ७७, दार्चुलामा तीन सय २४ बिरामी भएका थिए । यसैगरी, बैतडीमा एक सय ७९, अछाममा एक सय ४१, बझाङमा ६३ र बाजुरामा ६२ जनामा स्क्रब टाइफस देखा परेको थियो । स्टक्रब टाइफसको संक्रमण भए धेरै ज्वरो आउने, टाउको दुख्नु, धेरै पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किर्नाले टोकेको ठाउँमा रातो दाग देखिनु र पछि गएर कालो दागका लक्षण देखिने गर्दछ । स्क्रब टाइफसको लक्षण कोभिड– १९ सँग मिल्दोजुल्दो हुने भएकाले पहिचान र उपचारका लागि नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा जानुपर्ने उनले बताए । स्क्रब टाइफसका बिरामी औषधि सेवनपछि पूर्णरुपमा निको हुने जोशीको भनाइ रहेको छ । ‘समयमै उपचार नगरे यसले गम्भीर रुप लिनसक्छ’, उनले भने, ‘यसले मस्तिष्क, कलेजो, फोक्सोको सङ्क्रमणसँगै बहुअङ्ग विकार गर्ने अवस्था पनि सिर्जना हुनसक्छ ।’ स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा गर्ने गरेको उनले बताए । उनका अनुसार मुसामा लाग्ने किर्ना जस्तो देखिने कीरा(माइट) को टोकाइबाट मानिसमा सर्ने भए पनि यो रोग मानिसबाट मानिसमा भने सर्दैन । ‘किर्ना झाडी, खेतबारी, वनजङगल र घरवरिपरिको झाडीमा देखिने गर्दछ’, निरीक्षक जोशीले भने, ‘किर्नाबाट बच्नका लागि खेतबारीमा काम गर्दा, वनजङगलमा काम गर्दा पूरा शरीर ढाकिने कपडा लगाउने, बुट लगाउने गर्नुपर्दछ ।’ किर्नाको टोकाइबाट बच्न घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भूइँमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने वा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्ने उनले सुझाव दिए । विशेष गरी स्क्रब टाइफसको सङ्क्रमण असार महिनादेखि असोज महिनासम्म बढी देखिने गरेको छ । रासस