चिरायु नेशनल हस्पिटलले सञ्चालनमा ल्यायो डायबेटिज सेन्टर
काठमाडौं । चिरायु नेशनल हस्पिटल एंड मेडिकल इन्स्टिच्युटले डायबेटिज सेन्टर सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले डायबेटिज सेन्टरको उद्घाटन गरिएको हो । अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा.उत्तम कुमार शर्मा र वरिष्ठ जेनेरल फिजिसियन एबम डायबेटोलोजिस्ट डा.अजय प्रधान लगायतले डायबेटिज सेन्टरको उद्घाटन गरेका हुन् । कार्यक्रममा डा.अजय प्रधानले मधुमेह रोगको हालको अवस्था, तथ्याङ्क र यसका समाधानका उपायको विषयमा जानकारी गराएका थिए । अस्पतालका बिजिनेस डेभलपमेन्ट अफिसर बसन्त खनालले डायबेटीज सेन्टर चिरायु हस्पिटलकै डेडिकेटेड सेन्टर रहने र मधुमेहका बिरामीहरूले बिना कुनै झन्झट सहज तरिकाले उत्कृष्ट सेवा पाउने जानकारी दिए । उक्त सेन्टरमा डायबेटिज विभाग अन्तर्गत नै डाइटीसियन परामर्श र अपथाल्मो परामर्श पनि दिइनेछ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले ह्याम्स अस्पतालबाट सेवा दिने
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले ह्याम्स अस्पतालमा पुन: सेवा दिने छन् । डा. कोइरालालाई अस्पतालका अध्यक्ष आरएस भण्डारी, कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा लगायतले आइतबार एक कार्यक्रमका बीच अस्पतालमा स्वागत गरेका छन् । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुनुपूर्व अस्पतालको प्रमुख सल्लाहकार रहेका डा. कोइरालाले काउन्सिलको जिम्मेवारी सम्हालेलगत्तै ह्याम्सबाट सेवा बन्द गरेका थिए । काउन्सिलमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरिसकेपछि डा. कोइराला पुन: ह्याम्समा फर्किएका हुन् । अब उनले ह्याम्समा प्रत्येक दिन २ बजेदेखि सेवा दिने छन् । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले डा. कोइरालालाई अस्पतालमा पाउँदा हर्षित हुनुका साथै कार्डियाक विभाग अझ प्रभावशाली हुने विश्वास गरेका छन् । डा. कोइरालालाई अस्पतालमा स्वागत गर्दै अध्यक्ष आर. एस. भण्डारीले ह्याम्स अस्पताल सम्पुर्ण मुटु उपचारको उत्कृष्ट केन्द्रका रुपमा सञ्चालन भएको बताए । उनले मुटुको सबै विधाका दक्ष र अनुभवी चिकित्सकहरूको टिम ह्याम्स अस्पतालमा रहेको बताए । डा. कोइरालाले आफू जहाँ रहे पनि विरामीको उपचार पहिलो प्राथमिकता भएको भन्दै राम्रो टिम भएको ह्याम्समा फेरि जोडिन पाउँदा खुशी लागेको बताए । गत साउन ९ गतेबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट उमेरका कारण अवकाश पाएका डा. कोइराला अवकासपछि अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको शैक्षिक कार्यक्रममा भिजिटिङ प्रोफेसरका रुपमा समेत आवद्ध छन् । त्यसैगरी अस्पतालले डा. रोशन राउतको नेतृत्वमा यस अस्पतालमा ४ वर्ष देखि मुटु उपचारको एउटा विधा ईलेक्टोफिजियोलोजी अन्तर्गत ‘थ्रिडी म्यापिङ’ को सेवा नेपालमा अत्याधुनिक प्रविधिसहित दिइरहेको जानकारी उनले जानकारी दिए । हाल ह्याम्स अस्पतालमा कार्डियाक सर्जन डा. कोइराला सहित कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ कार्डियाक सर्जन डा. ज्योतिन्द्र शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव देव भट्ट, डा. मान बहादुर केसी, डा. रोशन राउत तथा डा. दिवाकर शर्मा लगायतको टिमले मुटुरोग विभागबाट सम्पुर्ण सेवा दिइरहेका छन् । विगत २६ वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेको यस अस्पतालमा प्रो.डा.अर्जुन कार्की तथा डा.सबिन कोइरालाको नेतृत्वमा अत्याधुनिक आइसीयू सेवा संचालनमा रहेको छ । त्यसैगरी अस्पतालमा डा.भोला रिजाल तथा प्रो.डा.पदम राज पन्तको नेतृत्वमा प्रसूति तथा स्त्रीरोग र आई.भि.एफ.सेवा, डा.कपिलमणि के.सी. तथा डा.भाष्कर राज पन्तको नेतृत्वमा हाडजोर्नी तथा नशा रोग सेवा संचालनमा रहेको, डा.राजु पंगेनी तथा डा.रक्षा पाण्डेको नेतृत्वमा छातीरोग सेवा दिइरहेको छ । त्यस्तै डा.प्रकाश विष्ट, डा.मनोज बोहोरा र डा.कृष्ण ढुङ्गानाको नेतृत्वमा न्यूरो विभाग, डा.प्रकाश काफ्लेको नेतृत्वमा नाक, कान घाँटी, डा.प्रकाश सायमीको नेतृत्वमा थाइराईड तथा ब्रेष्ट सर्जरी, डा.प्रबिन बिक्रम थापा, डा.अनुज पराजुली र डा.विवेक पुर्बेको नेतृत्वमा जनरल सर्जरी सेवा संचालनमा रहेको छ। २०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिइरहेको छ।
भूकम्पका घाइतेको केएमसीले निःशुल्क उपचार गर्ने
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ । मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक विज्ञप्ति जारी गरी भूकम्पमा परी घाइते भएकाहरुलाई केएमसीले निःशुल्क उपचार गर्ने जानकारी दिए। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाउनसमेत केएमसी तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्पतालका सल्लाहकारसमेत रहेका मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा सुनिल शर्माको सक्रियतामा केएमसीले घाइतेहरुको निःशुल्क उपचार गर्न लागेको अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जानकारी दिए । केएमसीले भूकम्पका कारण ठूलो जनधनको क्षति भएकामा अत्यन्त मर्माहत रहेको जनाउँदै ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचार तथा स्वास्थ्य लाभको कामना गरेको छ ।