मदन भण्डारी स्वास्थ्य विज्ञानका प्राध्यापकले तलव नपाएपछि ४ महिनादेखि पठनपाठन ठप्प
काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भने, ‘प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् ।’ उनका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ । अध्यक्ष सापकोटाले भने, ‘प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ ।’ प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनको भनाइ छ । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा.सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताए । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ ।
समयमै भुक्तानी नहुँदा अस्पताल निर्माणमा समस्या
ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भइसकेको छ । यस अवधिमा ४० प्रतिशत मात्रै काम भएको छ । अस्पताल निर्माण तीव्र रुपमा गरे पनि समयमै भुक्तानी नहुँदा समस्या परेको निर्माण कम्पनीले गुनासो गरेको छ । कामदार लगाउँदा र निर्माण सामग्री खरिद गर्दा करोडौँ खर्च भइसकेको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताए । भदौमै नगरपालिकालाई रू छ करोड ६१ लाखको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न समस्या भइरहेको उनको भनाइ थियो । विसं २०८२ असार २३ सम्ममा सकिसक्नुपर्ने अस्पतालको निर्माण करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको अदैले गुनासो गरे । उनका अनुसार अस्पातल निर्माणका लागि रू १२ करोड ९६ लाखमा सम्झौता भएको थियो । काम गर्नुभन्दा पहिले सुरुमा पेस्कीस्वरुप रू दुई करोड ४६ लाख लिएको बताउँदै उनले भौगोलिक हिसाबले ढोरपाटन टाढा हुनुका साथै सडक साँघुरो हुँदा ढुवानीमा बढी खर्च भएको जानकारी दिए । अहिले काम निरन्तर भइरहेको भन्दै प्रमुख अदैले कामदारलाई पारिश्रमिक दिन समस्या भइरहेको बताए । ‘भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिएँ । अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौँ । यो योजना केन्द्र सरकारको भएकाले माथिबाट बजेट नगरपालिकामा आउने र पालिकाले हामीलाई उपलब्ध गराउने हो । हामीले जानकारी गराएका छौँ तर भुक्तानी भएको छैन,’ उनले भने, ‘अझै केही दिन भुक्तानी भएन भने काम रोकिने स्थिति आउँछ । अहिलेसम्म सरसापट गरेर काम गराइराखेका छौँ ।’ ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले स्वास्थ्य मन्त्रालयबाट बजेट नआउँदा भुक्तानी गराउन नसकेको बताए । निर्माण कम्पनीले बारम्बार रकम माग गरे पनि आफूले केन्द्रमा बजेट पठाउन आग्रह गरेको उनले बताए । भुक्तानी छिट्टै व्यवस्थापन गर्ने गरी निर्माण कम्पनीलाई निरन्तर काम गर्न अनुरोध गरिएको उपप्रमुख कायतले बताए । ‘भुक्ताननी नहुँदा काम गर्न समस्या भयो भनेर निर्माण कम्पनीले बारम्बार गुनासो गरिरहेको छ । अस्पातल निर्माणको भुक्तानी स्वास्थ्य मन्त्रालयबाट आउने हो तर अहिलेसम्म आएको छैन,’ उनले भने, ‘नगरपालिकाले यहाँबाट भुक्तानी गर्न मिल्दैन । मन्त्रालयबाट बजेट पठाउनका लागि हामीले आग्रह गरेका छौँ । आउने वित्तिकै उहाँहरुलाई भुक्तान गर्छौँ ।’ यसअघि यहाँ अहिलेसम्म कुनै पनि अस्पातल बन्न सकेको थिएन । नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएर सेवा प्रवाह गरिरहेको छ । बुर्तिबाङ बजारदेखि ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटक बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ । उच्च स्थानमा भएकाले पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको स्थानीय बताउँछन् । ढोरपाटन–६, ७, ८ र ९ मा करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वी रुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ । रासस
तनहुँमा सात हजार डेङ्गु सङ्क्रमित, अस्पताल र औषधि पसलमा बिरामीको चाप
तनहुँ । तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । डेङ्गुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ । दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५ डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेङ्गुबाट सङ्क्रमित छन् । १४ वडा रहेको व्यास–१ मा एक हजार पाँच सय ८२, वडा नं २ मा एक हजार तीन सय ९२, वडा नं ४ मा एक हजार ३७, वडा नं ३ मा छ सय ५२ तथा वडा नं ५ मा दुई सय ७२ डेङ्गु सङ्क्रमित रहेका छन् । त्यसैगरी व्यास–१० मा दुई सय छ, वडा नं ११ मा एक सय ७५, वडा नं ६ मा ९६, वडा नं १३ मा ९१, वडा नं ९ मा ८३, वडा नं ७ मा ७९, वडा नं १२ मा ७४, वडा नं १४ मा ३७ र वडा नं ८ मा १४ डेङ्गु सङ्क्रमित छन् । चाडपर्वको समयमा डेङ्गु सङ्क्रमणले जनजीवन प्रभावित बनाएको व्यास–२ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिए । डेङ्गुबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । चिकित्सकको परामर्शअनुरुप औषधी सेवन गर्न, झोझिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाएका छन् ।