बागमती प्रदेशका पाँच कर्मचारी ११औं तहमा बढुवा, को कहाँ ?
काठमाडौं । बागमती प्रदेश सरकारले १०औं तहका पाँच जनालाई ११औं तहमा बढुवा गरेको छ । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्य र प्रशासनतर्फका गरी पाँच जनालाई बढुवा गरी नियुक्तिसँगै पदस्थापन गरेको हो । बैठकले अधिकृतस्तर १०औं तहका स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना गरी पाँच जनाको बढुवा गरी पदस्थापना गरेको हो । बढुवा हुनेमा स्वास्थ्यतर्फका दीपक तिवारी, बसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्रकुमार झा रहेका छन् । १०औं तहका उनीहरु ११औं तहमा बढुवा भएका हुन् । बैंठकको निर्णयअनुसार तिवारीलाई स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा, अधिकारीलाई बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा, सापकोटालाई स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा र झालाई बागमती प्रदेशको स्वास्थ्य तालिम केन्द्र काठमाडौंको प्रमुखमा पदस्थापन गरिएको छ । त्यस्तै, बैठकले प्रशासनतर्फ अधिकृतस्तर १०औँ तहबाट अधिकृतस्तर ११औं तहमा दीपेन्द्र सुवेदीलाई बढुवा गरी नियुक्ति तथा पदस्थापन गरेको छ । हाल प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयको कामु निर्देशकका रूपमा कार्यरत सुवेदीलाई शिक्षा विकास निर्देशनालयमा पदस्थापन गरिएको छ ।
आँबुखैरेनी अस्पतालमा जनशक्ति छन्, छैनन् उपकरण
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ । आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति भएको भन्दै उपकरण अभावका कारण सेवा सञ्चालनमा समस्या भइरहेको जानकारी दिए । ‘अस्पतालसँग तत्काल शल्यक्रिया सेवा सञ्चालन गर्न जनशक्ति तयारी अवस्थामा छन्’, उनले भने- ‘उपकरण अभावले सेवा सञ्चालन गर्न सकिरहेका छैनौं ।’ चुमानका अनुसार अस्पतालमा एपेन्डिक्स, हाइड्रोसिल, हर्निया र प्रसूतिको शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । चार वटा शल्यक्रिया सेवा सञ्चालनका लागि रू एक करोड बराबरको उपकरण आवश्यक पर्ने उनको भनाइ थियो । चुमानले भने- ‘शल्यक्रिया थिएटर र आवश्यक उपकरण व्यवस्थापन हुन सकिरहेको छैन । यसका लागि सरकारको ध्यानाकर्षण गराएका छौं ।’ गाउँपालिकाले विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको थियो । एक वर्ष पुगेको अवसरमा अस्पतालको गत यही मङ्सिर १ गते उद्घाटन गरिएको थियो । ‘गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो’, चुमानले भने- ‘वडा कार्यालय तथा गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएका हौं । पहिलाको स्वास्थ्य चौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छौं । इलाका वनको भवनलाई ल्याब बनाएका छौं । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौं ।’ अस्पतालमा निकट भविष्यमा डायलायसिस सेवा समेत सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए । डायलायसिस सेवाका लागि तीन वटा उपकरण आइसकेको अध्यक्ष चुमानले जानकारी दिए । ‘पाँच वटा उपकरण भए मात्रै एउटा युनिट मान्ने र सरकारले व्यवस्थापन गर्ने निःशुल्क उपचार सुरु गर्न सकिने रहेछ । तीन वटा डायलायसिस उपकरण व्यवस्थापन भएको छ । बाँकी व्यवस्थापन गर्दैछौं’, उनले भने । अस्पताल सञ्चालनका लागि गाउँपालिका अप्ठ्यारो घडीमा रहेको बताउँदै अस्पताललाई दिगो बनाउने सपना रहेको चुमानको भनाइ छ । गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको भन्दै चुमानले अस्पतालबाट दिइने सेवालाई दिगो र गुणस्तरीय बनाउने लक्ष्य रहेको बताए । उनका अनुसार आँबुखैरेनी-१ स्थित सार्वजनिक र मित्रता माध्यमिक विद्यालयकोसमेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने छ । चुमानले भने- ‘तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमि दूरीमा एउटा पनि सरकारी अस्पताल छैनन् । कुनै दुर्घटना भयो भने ज्यान बचाउन चितवन वा काठमाडौं दौडिनुपर्छ । छिमेकी पालिकासँग अनुरोध गरेका छौं, एउटा ट्रमा सेन्टर बनाऔँ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सके धेरै जनाको ज्यान बचाउन सकिन्छ ।’ अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, शहीद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक एमडिजीपी, तीन मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् । अस्पतालमा एक्सरे सेवासमेत सञ्चालनको तयारी गरिएको छ । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौँडाबाट पाँच सय एमए एक्सरे मेसिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिए । अस्पतालमा एक्सरे मेसिन नहुँदा यस क्षेत्रका नागरिक सेवा लिनका लागि चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अस्पतालमै सेवा सुरु हुने भएपछि आँबुखैरेनीका अतिरिक्त छिमेकी जिल्ला गोरखाका केही पालिकाका सर्वसाधारणले सहज रुपमा सेवा पाउने छन् । रासस
निजी अस्पतालको व्यापार घट्दा जोखिममा लगानी, सेयर बिक्रीको योजनामा लगानीकर्ता
काठमाडौं । तपाईंले कसैलाई सोध्नुभयो, के छ खबर भन्दा उसको जवाफ कस्तो आउँछ? एकदम ठिक छ भन्ने जवाफ सायदै पाइँदैन । प्रायः सबैको जवाफ आउँछ ठिकै छ , चलिरहेको छ, यस्तै त हो नि, यस्तै यस्तै । अझै व्यापार व्यवसाय गरिरहेकाहरूलाई सोध्ने हो भने, जवाफ झन निराशाजनक पाइन्छ । नुन किन्न किराना पसल जाँदा होस् या सुन किन्न सुनचाँदी पसलमा । वा अन्य कुनै व्यापार व्यवसाय अहिले जता पनि निराशा छ । व्यवसायीहरू व्यापार हुन छोड्यो भन्दै धमाधम सटर बन्द गर्न थालेका छन् भने उद्योगधन्दाको अवस्था पनि उस्तै छ । ठ्याक्कै यस्तै असर स्वास्थ्य क्षेत्रमा पनि परेको छ । कोरोना महामारी नफैलदासम्म नेपालमा पनि अवस्था ठिकठाक थियो । उद्योगधन्दाहरू फस्टाएका थिए । व्यापार व्यवसाय पनि राम्रै चलिरहेको थियो । तर, जब विश्वभर महामारीको रुपमा कोरना फैलियो त्यसको असर नेपालमा मात्र हैन विश्वमै प¥यो । अझ बढी असर त नेपाल जस्ता विकसिल मुलुकमा प¥यो । कोरोनासँगै विश्वमा भइरहेका द्धन्द्धले झन अवस्था खराब बनायो । रुस–युक्रेन युद्ध, पछिल्लो समय चलिरहेको इजरायल–हमास युद्ध यस्ता घटनाले पनि नेपालको अर्थतन्त्रमा असर परिरहेको विज्ञहरूको भनाइ छ । यस्तो आर्थिक सुस्तताको असर नेपालको स्वास्थ्य क्षेत्रमा पनि परेको छ । सबैभन्दा बढी मारमा निजी क्षेत्रका अस्पतालहरू परेको लगानीकर्ताहरूकै भनाइ छ । आजभोलि निजी अस्पतालमा बिरामीको संख्या समेत घट्न थालेको छ । पहिले दैनिक सयौँको भीड हुने ओपीडी सेवामा अहिले संख्या घट्न थालेको चिकित्सकहरू बताउँछन् । आजभन्दा दुई वर्षअघि करिब एक अर्ब रूपैयाँसम्म आम्दानी गर्ने ललितपुरको स्टार अस्पताल अहिले ४५ करोडमा सीमित भएको छ । सो अस्पतालले सन् २०२१ मा ९० करोड ३० लाख, सन् २०२२ मा ७४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, अहिले यो अस्पतालको आम्दानी घटेर सन् २०२३ मा ४५ करोड १० लाख रुपैयाँ कायम भयो । यो दुई वर्षमा सो अस्पतालको आम्दानी ४९.७२ प्रतिशत घटेको छ । स्टारजस्तै अहिले अधिकांश अस्पतालहरूको आम्दानी घटेको छ । काठमाडौँको नर्भिक अस्पतालका सिईओ अजय मिश्र आर्थिक सुस्तताको असर अस्पतालमा परेको स्वीकार्छन् । ‘अहिले प्रिभेन्टीभ ट्रिट्मेन्ट अथवा केही रोग नलागेको भएपनि केही समस्या छ कि भनेर चेकजाँच गराउन आउनेको संख्या घटेको छ, बिरामी घट्दा अस्पतालको आम्दानी पनि घट्यो,’ उनले भने । उनका अनुसार देशको अर्थतन्त्र समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर अस्पतालको बिजनेसमा परेको हो । कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साँउदको भनाइपनि यस्तै छ । उनी पनि अस्पतालको व्यापार ओरालो लाग्दै गएको बताउँछन् । यस्तै अवस्था रहने हो भने अस्पताल चलाउनै गाह्रो हुने उनको भनाइ छ । ‘माया मेट्रो अस्पतालको ओपीडीमा पहिले दैनिक चार सय बिरामी उपचारको लागि आउँथे । तर, अहिले दुई सयको हाराहारीमा पनि बिरामीको संख्या पुग्दैन,’ उनले विकासन्युुजसँग भने । ३० प्रतिशतसम्म घटे बिरामी नीजि अस्पतालमा बिरामीको चाप कति घट्यो भन्ने अध्ययन नभएपनि २५ देखि ३० प्रतिशतको हाराहारीमा बिरामीको संख्या घटेको चिकित्सकहरू नै बताउँछन् । नर्भिक अस्पतालका सीईओ मिश्र ३० प्रतिशतसम्म बिरामीको संख्या घटेको बताउँछन् । यस्तै, फ्रन्ट लाइन अस्पतालको जिम्मेवारीमा रहेका वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे पनि अर्थतन्त्रमा देखिएको समस्याको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको बताउँछन् । ‘विश्वभर हरेक क्षेत्रमा असर परिरहेकोबेला यो क्षेत्रमा पनि जोखिम पर्नु स्वभाविक हो । तर, यसको असर कस्तो परिरहेको छ भनेर हेरिनु चाहिँ ठूलो विषय हो,’ उनले भने । जोखिममा लगानी हुन त स्वास्थ्य क्षेत्रलाई व्यापारभन्दा सेवाकारूपमा हेरिन्छ । तर, हरेक क्षेत्र कुनै न कुनै किसिमले नाफासँग ठोकिन्छ । अहिले अर्थतन्त्रमा देखिएको सुस्तताको कारण अस्पताल जानै पर्ने र पहिले नियमित स्वास्थ्य चेकजाँच गर्नेहरू अस्पताल नआउँदा स्वास्थ्य संस्थाहरूको आम्दानी घटेको उनीहरू बताउँछन् । यसले समग्र स्वास्थ्य क्षेत्रमा भएको लगानी जोखिममा पर्न सक्ने संकेत पनि देखिएको छ । माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद धनगढीका धेरैजसो निजि अस्पतालको लगानीकर्ता सेयर बिक्री गरेर बाहिरिने योजनामा रहेको बताउँछन् । ‘मलाई घाटा भयो अब यस्तो गर्छु भनेर खुलेरै त कोही बोलेका छैनन्, तर बजारमा कुरा सुन्दा अधिकांश लगानीकर्ता साथीहरू सेयर बिक्री गरेर यो क्षेत्रबाट बाहिरिने अवस्थामा पुगिसकेका छन्,’ उनले भने । यस्तै, निजी अस्पतालहरूको छाता संस्था अफिन नेपालका अध्यक्ष पदमबहादुर खड्का पनि लगानीकर्ताहरू यो क्षेत्रबाट पलायन हुन लागेको धारणा राख्छन् । उनले पनि स्वास्थ्य क्षेत्रमा अहिले एक किसिमको संकट सिर्जना भएको बताए । ‘स्वास्थ्य क्षेत्रका सामान महंगो छन्, बैंकको ऋणले अस्पतालहरू खोलिएका छन्, अहिले ऋणको उच्च ब्याज पनि समस्याका रूपमा छ, धेरै साथीहरूले अहिले समस्या भएको सुनाउँछन्,’ उनी भन्छन्, ‘अब सरकारले स्वास्थ्य संस्थाहरूलाई पनि सहुलियत ब्याजमा ऋण लगानी गर्नु पर्ने व्यवस्था गर्नुपर्छ ।’ सरकारी अस्पताल सुधारको प्रभाव निजी अस्पातलभन्दा सरकारी अस्पतालमा उपचार गराउन सस्तो पर्छ । तर, सरकारी अस्पतालमा बिरामीलाई पालो पाउनै गाह्रो हुने अवस्था नौलो होइन । कतिपय बिरामीले उपचारको पालो कुर्दै ज्यान गुमाउनुपरेको हामीले सुन्दै आएका छौँ । पछिल्लो समय वीर अस्पताल, टिचिङ लगायत अन्य सरकारी अस्पतालहरूको गुणस्तरमा सुधार हुँदा निजी अस्पतालमा बिरामीको संख्यामा कमी आएको बताउनेहरू पनि धेरै छन् । सरकारी अस्पतालमै सस्तो र राम्रो उपचार पाइने हुँदा पनि निजी अस्पतालमा बिरामीको चाप घटेको हुन सक्ने विश्लेषण निजी अस्पतालका चिकित्सकहरूको पनि छ । अफिनका अध्यक्ष डाक्टर खड्का प्रत्येक सहर तथा प्रदेशमा नयाँ अस्पताल खुल्दा बिरामी बाँडिएको धारणा राख्छन् । ‘मेरो अस्पतालकै कुरा गर्दा पहिलेको जति बिरामी आउँदैनन्, यसको कारण आर्थिकमात्र हैन, अस्पतालको संख्या वृद्धि र गाउँ–गाउँमा पनि अस्पताल खुल्नु हो, सरकारी अस्पतालमा पनि राम्रो सुविधा पाइन थालेको छ,’ उनी भन्छन्, ‘त्यसैले पनि निजी अस्पतालमा बिरामी घटेका हुन् । नर्भिक अस्पतालका सिईओ मिश्र उपत्यका बाहिरका सहरमा पनि राम्रा सरकारी अस्पताल हुँदा उपत्यकाका निजि अस्पतालमा बिरामीको संख्या घटेको बताउँछन् । ‘अहिले चितवन स्वास्थ्यको हब बनेको छ, नेपालगञ्ज, पोखरा, बिराटनगर र धनगढी जाताततै अस्पतालहरु खुलेका छन्, त्यसैले पनि बिरामीको संख्या निजी अस्पतालमा घट्दैछ,’ उनले भने । मन्दीको विषयमा बढी राजनीति भयो : अजय मिश्र अस्पतालमा दुई किसिमका सेवाहरु प्रभुत हुन्छन् । एउटा प्रीभेन्टिब टिटमेन्ट र अर्को (अर्जेन्सी इमरजेन्सी) प्रीभेन्टिब ट्रिटमेन्ट भनेको म ४० वर्ष कटें, ५० वर्ष कटें मैले वर्षको एक पटक स्वास्थ्य जाँच गर्नुपर्छ है भन्ने किसिमका स्वास्थ्य जाँचहरू हुन्छ । अहिले आर्थिक मन्दी छ, मसँग आम्दानी कम छ, भोलि कस्तो अवस्था आउला अहिले भएको बचत गरिराखाँै भन्ने सोच आउने बित्तिकै म रोकथाम उपचार (प्रीभेन्टिभ चेकअप)गराउँदीन अथवा भनौं, म वर्षको एक पटक चेकजाँच गर्दै आएको थिएँ । अब म गराउँदिन भन्ने खालको देखिएको छ । मलाई सर्जरी गराउनुपर्ने छ, स्टोन छ आज गराएपनि हुने, ६ महिनापछि गराएपनि हुने, एक वर्षपछि गराएपनि हुने भन्ने अवस्था छ भनेपछि यसलाई पछि गरौँला भन्ने गरिरहेको पाइन्छ । किन कि अहिले आर्थिक अवस्था राम्रो छैन भन्ने सबैतिर सुनिन्छ । किन सबै पैसा खर्च गरिहाल्नुप¥यो भन्ने प्रायः अहिले धेरैजसोको मनसाय यस्तै भएको पाइन्छ । यो मन्दिले कहाँनेर असर गरेको छैन भने नगरी नहुने (अर्जेन्सी इमरजेन्सी) सेवा प्रवाह घटेको छैन । भन्नुको मतलब अस्पतालको अहिलेको व्यवसायमा नगरी नहुने (अर्जेन्सी इमरजेन्सी) सेवा घटेको छैन । तर, जुन भविष्यमा निरोगी हुनलाई प्रत्येक वर्ष स्वेच्छाले (प्रीभेन्टिब) जाँच गरिन्थ्यो त्यो व्यवसाय खस्किदै गएको अवस्था छ । समष्ठिगत रुपमा हेर्ने हो भने अस्पतालमा पनि बिरामीको चाप घटेको छ । एकिन तथ्यांक नभएपनि हाम्रो अस्पताल र अर्को अस्पतालको साथीभाईहरुसँग कुरा गर्दा २५ देखि ३० प्रतिशतको बिचमा बिरामीको स्कोप घटेको देखिएको छ । यसका दुई कारणहरू हामीले देख्न सक्छौं । एउटा आर्थिक अवस्थाको कारणले गर्दा र अर्को काठमाडौं बाहिर पनि सुविधासम्पन्न अस्पताल खुल्दा । अब बिरामीहरूले काठमाडौंका अस्पतालहरूको मात्र भर पर्नु पर्दैन । अहिले एक प्रकारको चेकअप उपत्यका बाहिरै हुने गरेको छ । जस्तै चितवन मेडिकल हब बनेर आयो, जनकपुर, बिरटनगर, पोखरा नेपालगञ्ज लगायतका ठाउँमा एक किसिमका सुविधा सम्पन्न अस्पतालहरू खुले । त्यहाँबाट जो बिरामी काठमाडौँ आउनुपथ्र्यो त्यहाँ रोकिने अवस्था आयो । त्यो उपचार त्यहाँ सम्भव भएन भनेमात्र उपचारका लागि बिरामी काठमाडौ आउने गर्नुभएको छ । एउटा यो कारण रह्यो भने, अर्को आर्थिकको असर पनि देखियो जसका कारण अस्पतामा बिरामीको चाप घट्यो भने, अस्पतालको व्यवसाय ओरालो लाग्ने अवस्थामा आयो । यो आर्थिक मन्दीको अवस्था पनि कस्तो देखियो भन्दा जुन तहको आर्थिक अवस्था ओरालो लाग्यो यसको सामाजिक सञ्जाल, मिडिया, समाजमा व्यापक हल्ला भयो । यसमा रानीतिकीकरण पनि अलि बढीभयो । सत्तापक्ष जहिलेपनि आर्थिक अवस्था सुधार भन्ने विपक्षीले जहिले पनि बिग्रीयो भन्ने जसले गर्दा जनमानसमा आत्तिएको अवस्था छ । जसले गर्दा प्रीभेन्टीब चेकजाँचहरु घटेको अवस्था छ । त्यो पनि हो । पहिला मुटुरोग भनिसकेपछि नर्भिक र्निविकल्प अस्पताल थियो । सबैले चिनेको भनेको नर्भिकलाई मुटुको राम्रो अस्पताल भनेर हो । पछि सरकारले गंगालाल राष्ट्रिय हृदय केन्द्र निर्माण ग¥यो । मनमोहन कार्डयोथोरासिक आयो निजामर्ती कर्मचारी, नीजामती रिटायर्ड कर्मचारी सिभिल अस्पताल, वीर अस्पतालले पनि सेवा सुविधा बढाएको छ जसका कारण बिरामी बाँडिए यसले गर्दापनि घटेको जस्तो देखिन्छ । साधनस्रतो सुविधा सम्पन्न अस्पताल निर्माण भए । यसको पनि प्राइभेट अस्पतालमा असर परेको छ । एकातिर सरकारी अस्पतालमा स्रोतसाधान नयाँ आएको छ भने, अर्कातिर निजी अस्पताल भन्दा सरकारी अस्पताल सस्तो भएर पनि बिरामीहरु उता जान थाले । अपेक्षाकृत रुपमा पहिले भन्दा सेवा बिस्तार भएको छ । जनताले खोज्ने भनेको सस्तो र सुलभ उपचार हो ।