जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापान । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ ९औषधीय आहार० का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता मागेको थियो भने अधिकारीहरूले गुनासोलाई सम्बोधन गर्न अनुसन्धान सुरू गरिसकेका छन् । कम्पनीले औषधिका तीन वटा ब्रान्ड ‘बेनी, कोजी, कोलेस्टे हेल्प’ र कोलेस्टेरोल कम गर्ने विश्वास गरिने रातो चामलबाट बनेको ‘बेनी र कोजी’ नामक दुई अन्य उत्पादनलाई फिर्ता बोलाएको छ । चिकित्सा अध्ययनहरूले उच्च कोलेस्टेरोल कम गर्नका लागि प्रयोग गरिने ‘स्ट्याटिन’को विकल्पको रूपमा रातो चामलबाट बनेको उक्त आहार दिइने बताएका छन् तर यस उत्पादनमा प्रयोग गरिएको रासायनले अङ्गमा क्षतिको जोखिम ल्याउने उनीहरूले चेतावनी दिएका छन् । सरकारका प्रवक्ता योशिमासा हयाशीले पत्रकारहरूसँग भने, ‘शंकास्पद मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने उक्त आहार सेवन गरेका विरामी परेको भनी अस्पताल भर्ना भएका १०६ जनाको उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।’ कोबायाशी फार्मास्युटिकल्सले जापानमा टेलिभिजन विज्ञापनहरू मार्फत प्रवद्र्धन गरिएका स्वास्थ्यसम्बन्धी धेरै उत्पादनहरूलाई बजारमा प्रवद्र्धन गर्दछ । कम्पनीले सञ्चारमाध्यममार्फत सार्वजनिक भएका स्वास्थ्य समस्याहरू र उत्पादनहरूबारे अध्ययन गरिरहेको तर निष्कर्षमा नपुगिएको बताएको छ । ओसाकास्थित उक्त कम्पनीले जापानका करिब ५० र ताइवानका दुई कम्पनीलाई पनि रातो चामलबाट तयार पारिएको औषधीय आहार उपलब्ध गराएको जनाएको छ । कोबायाशीका अधिकारीले एएफपीसँग कुरा गर्दै आफूहरूले स्वेच्छिक रूपमा उत्पादनलाई शुक्रबार फिर्ता बोलाएको र आहारका कारण दुई जनाको मृत्यु भएकोबारे तत्काल थप टिप्पणी गर्न अस्वीकार गरेका छन् । कोबायाशी फर्मास्युटिकल्सले उपलब्ध गराएको बेनी कोजी प्रयोग गर्ने दर्जनौं जापानी कम्पनीले पनि यसलाई बजारबाट फिर्ता ल्याउने घोषणा गरेका छन् । प्रभावित उत्पादनहरूमा विभिन्न स्वास्थ्य ट्याब्लेटहरू, साथै गुलाब–रंगको पेय पदार्थ, सलादको लागि तयार पारिने अचार, पाउरोटी र ‘मिसो पेस्ट’ धेरै परम्परागत व्यञ्जनहरूमा प्रयोग गरिन्छ । सरकारले कोबायाशी फार्मास्युटिकल्सलाई स्थितिको बारेमा ‘तत्काल जानकारी उपलब्ध गराउन’ भनेको स्वास्थ्य मन्त्री केइजो ताकेमीले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षतिको बारेमा जानकारी सङ्कलन गर्न राष्ट्रव्यापी रूपमा स्थानीय अधिकारीहरूलाई निर्देशन दिएको छ ।’ बुधबार कोबायाशी फर्मास्युटिकल्सको शेयर मूल्य चार प्रतिशतले घटेको छ । यसअघि, उत्पादक कम्पनीले मृत रिपोर्ट गरिएको पहिलो व्यक्तिले फिर्ता बोलाइएका उत्पादनहरू मध्ये एक आहारलाई लगभग तीन वर्ष नियमित रूपमा खरीद गरेको पुष्टि गरेको थियो । कम्पनीले आहार र ती व्यक्तिको स्वास्थ्य रिपोर्टहरूको अनुसन्धान भइरहेको बताएको छ । कम्पनीले यसै हप्ता सार्वजनिक गरेको रिपोर्टमा भनेको छ, ‘उत्पादनहरूमा ‘हामीले समावेश गर्न नचाहेका सामग्रीहरू’ भएको सम्भावना फेला पारेको छ । तर यसको अध्ययनले रातो चामलबाट उत्पादित विषाक्त र मृगौलालाई क्षति पुर्याउने कुनै पनि ‘सिट्रिनिन’ देखाएन ।’ ब्रिटिस मेडिकल जर्नलमा सन् २०१९ मा प्रकाशित एक शोधपत्रअनुसार कोलेस्टेरोलको मात्रा घटाउन प्रयोग हुने रातो चामलमा ‘मोनाकोलिन के’ को मात्रा पाइन्छ र यसलाई कोलेस्टेरोल बढी भएका बिरामीको उपचारका लागि प्रयोग गर्न जापानमा अनुमति दिइएको छ । रासस

क्यान्सरको औषधी निःशुल्क उपलब्ध गराउँदै डब्लुएचओ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधी उपलब्ध गराउने सहमति भएको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य सचिव डा. पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पुर्याउने बताए । उनले सुरुमा सो निःशुल्क औषधी विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिए । डब्लुएचओका नेपाल प्रमुख डा. पाण्डवले क्यान्सर भएका बालबालिकाको अत्यावश्यक औषधीमा पहुँच सुनिश्चित गर्नुका साथै क्यान्सर पीडित बालबालिकाको परिवारमा पर्ने आर्थिक भार कम गर्न यो कार्यक्रमले मद्दत गर्ने बताए । ‘नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ । यद्यपि, उपचार तथा सेवामा सीमित पहुँच र स्रोतको अभावले गर्दा, क्यान्सर भएका बालबालिकामध्ये एक तिहाइले मात्र उपचार पाउने गरेका छन् । यसबाट हुने मृत्यु पनि बढ्दै गएको छ’, उनले भने, ‘समझदारीले औषधी उपलब्धतासँगै क्यान्सरको उपचारमा पहुँच बढाउन मद्दत गर्नेछ ।’ मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेललले समझदारीमा अनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधी निःशुल्क प्राप्त गर्नेछ । समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधी पाउने छ । उनका अनुसार आगामी सेप्टेम्बरदेखि उक्त औषधी नेपाल आउने क्रम सुरु हुनेछ । समझदारीअनुसार सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधी प्राप्त गर्नेछन् । नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरका लागि विशेष राष्ट्रको रूपमा सन् २०२० मा छनोट भएको थियो । हाल क्यान्सर भएका बालबालिकामा निको भई बाँच्नेदर न्यून र मध्यम आय भएका देशमा मात्र २० देखि ३० प्रतिशत रहेको छ भने उच्च आय भएका देशहरूमा ८० प्रतिशतभन्दा बढी रहेको छ । बालबालिकामा देखिने क्यान्सर नेपालजस्तो अल्पविकसित देशमा निको हुने दर कम रहेको छ । करिब २० देखि ३० प्रतिशत मात्र बालबालिका निको भई बाँच्ने दर रहेको छ । विकसित देशमा भने ८० देखि ९० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिन्छ । नेपालले सन् २०३० सम्ममा क्यान्सर भएका बालबालिकाको बाँच्ने दर कम्तीमा ६० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । कान्ति बाल अस्पतालका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. सनि सिपाइले नेपालमा आर्थिक अभावका कारणले अझै पनि बालबालिका उपचारमा नआएको बताए । उनले बालबालिकालाई समयमा नै क्यान्सर रोगको उपचार गरे निको हुने सम्भावना बढी हुने बताए । उनले नेपालमा नै बालबालिकामा हुने रक्त क्यान्सर ९० प्रतिशत निको पारिरहेको बताए । उनका अनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर हुने गर्दछ । बालबालिकामा १० प्रतिशत वंशाणुगत गुण र ९० प्रतिशत जिनको खराबीले गर्दा क्यान्सर हुने गर्दछ । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी मात्रामा क्यान्सर हुने गरेको छ । रासस

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन, औषधीको झुटा प्रचार

काठमाडौं । औषधी व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्री-वितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए । अहिलसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधी गैरकानुनी रूपमा बिक्री गरिएको महानिर्देशक ढकालले बताए । अनलाइन फार्मेसीका नाममा औषधीको भ्रमात्मक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री गरिएको उनले बताए । औषधी ऐन, २०३५ को दफा १९ बमोजिम औषधीको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ । ‘सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधीको विज्ञापन गर्नुपूर्व औऔषधी ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनपर्ने स्पष्ट कानुनी व्यवस्था छ,’ महानिर्देशक ढकालले भने । अनलाइन फार्मेसीबाट बिक्री गरिएका औषधीको सुरक्षितता, गुणस्तरियता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफैं जिम्मेवार हुनुपर्ने र त्यस्ता अनलाइन फार्मेसीबाट औषधी खरिद गरी सेवन नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ ।  अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ । रासस