डेङ्गुको जोखिम बढ्दै, सचेतना अपनाउन आग्रह

काठमाडौं । गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेङ्गुको जोखिम बढ्ने बताए । डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए । ‘गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ । यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ’, डा दाहालले भने । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताए । ‘माघयता डेङ्गु देखिएका ३३ स्थानीय तहलाई पत्राचार गरेर लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएका छौँ’, डा दाहालले भने, ‘अन्य स्थानीय तहलाई पनि डेङ्गुबारे सचेतना जगाउन आग्रह गरेका छौँ ।’ उनका अनुसार डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गु लाग्दछ । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डा दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरे । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उनले अनुरोध गरे । ‘सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले भने । उनका अनुसार सन् २०२३ मा करिब ५१ हजार एक सय ४३ र सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेङ्गु देखिएको थियो । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रासस

महँगा अस्पताललाई भ्याइनभ्याई

काठमाडौं । यो साताको पहिलो दिन आइतबार धुम्बारहीमा रहेको ह्याम्स अस्पतालमा थेगिनसक्नुको भीड देखियो । अस्पतालमा लाइन लागेका र डाक्टरको पखाईमा रहेका बिरामीहरूको संख्या ठूलो थियो । हुन त अन्य दिनको तुलनामा आइतबार ह्याम्स अस्पतालमा बिरामीको संख्या बढ्ने गरेको अस्पताल बताउँछ । तर, गत आइतबारको संख्याले भने हालसम्मकै रेकर्ड तोड्यो । आइतबार अघिसम्म प्रतिदिन साढे पाँच सयको हाराहारीमा आउने बिरामीको संख्या आइतबार भने सात सय नाघ्यो । अस्पतालका सूचना अधिकारी सागरराज दुलालले आइतबार एकैदिन सात सय बिरामी उपचाको लागि अस्पताल आएको जानकारी दिए । उनकाअनुसार जुन हालसम्मकै बढी संख्या हो । उनकाअनुसार अहिले अस्पताल आउने धेरै जसो बिरामी सामान्य रुघाखोकी ज्वरोदेखि गम्भिर प्रकृतिका रहेका छन् । ह्याम्स अस्पतालमा ओपीडी टिकटको मूल्य नयाँ बिरामीको लागि ८ सय ५० पर्छ भने पुराना बिरामीको लागि ८ सय रुपैयाँ लाग्छ । अस्तालमा छुट्टै विशेषज्ञ सेवाका लागि शुल्क नलाग्ने उनको भनाइ छ । त्यस्तै, चावहिलमा रहेको ओम अस्पताल पनि महँगो निजी अस्पतालमध्येमा पर्छ । अस्पताल महँगो भएपनि बिरामीको चाप भने यो अस्पतालमा पनि थेगिनसक्नु छ । ओम अस्पतालका अनुसार अहिले दैनिक ५ सय बिरामी उपचारका लागि आउने गरेका छन् । अहिले मौसम बदली हुँदा अस्पताल आउने बिरामीको संख्या बढेको अस्पतालले बताएको छ । तर, ओम अस्पतालमा पहिले पनि बिरामीको संख्या बढी नै रहेको जानकारी अस्पतालका सूचना अधिकारी बिपिन जंगमले जानकारी दिए । ‘अहिले रुघाखोकी, भाइरल ज्वरोका बिरामी बढी छन्, ‘उनी भन्छन्, ‘कोभिडको समयमा अस्पतालमा भर्ना हुने बिरामीको संख्या निकै बढी थियो । तर, अहिले भर्ना हुनेको संख्या घटेको छ । तर, चेकजाँचको लागि अस्पताल आउने बिरामीको संख्या भने बढेको नै छ ।’ उनकाअनुसार ओम अस्पतालमा नयाँ बिरामीका लागि ओपीडी टिकटको शुल्क ८ सय र पूराना बिरामीको लागि ७ सय रुपैयाँ तोकिएको छ । ललितपुरको भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा पनि अहिले बिरामीको चाप बढ्दो छ । अस्पतालका अनुसार अहिले दैनिक ७ सय देखि ८ सय बिरामी उपचारका लागि आउने गरेका छन् । यो स्पतालले अस्पतालमा आउने बिरामीका लागि ओपीडी टिकट नयाँका लागि ८ सय ७५ रुपैयाँ र पुरानाको लागि ८ सय २५ रुपैयाँ तोकिएको छ । अस्पतालमा विशेषज्ञ शुल्क पनि सोही बराबरको रहेको अस्पतालका मिडिया संयोजक सरिता श्रेष्ठले बताइन् । उनका अनुसार मानसिक स्वास्थ्य विशेषज्ञको शुल्क भने फरक छ । यसका लागि समय पनि बढी लाग्ने भएकाले अरु सेवाभन्दा यो सेवा महँगो रहेको उनको भनाइ छ । देशको सबैभन्दा महँगो अस्पतालमा पर्छ ग्राण्डी अस्पताल । काठमाडौँको धापासीमा रहेको यो अस्पतालमा अहिले दैनिक ५ सयभन्दा बढी बिरामी आउने गरेका छन् । यो अस्पतालमा ओपीडी टिकटको शुल्क ८ सय २५ रुपैयाँ तोकिएको अस्पतालले बताएको छ । नयाँ बनेश्वरमा रहेको एभरेष्ट अस्पतालमा पनि अहिले दैनिक दुई सय बढी बिरामी चेकजाँचका लागि आउने गरेका छन् । एभरेष्ट अस्पतालमा भने शुल्क फरक–फरक रहेको छ । रोगको प्रकृति र विशेषज्ञ हेरेर शुल्क निर्धारण गरिएको छ । अस्पतालका अनुसार सबैभन्दा महँगो शुल्क ७ सय ५० तोकिएको छ । न्यूनतम पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै, काठमाडौंको प्रदर्शनी मार्गमा रहेको काठमाडौं मोडल अस्पतालमा पनि दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । अस्पतालका अनुसार फलोअपका लागि आउने र अन्य उपचारका लागि आउने बिरामी संख्या दैनिक करिब चार सय छ । काठमाडौंका अन्य अस्पतालको तुलनामा यो अस्पतालमा ओपीडी शुल्क केही कम छ । अस्पतालका अनुसार यो अस्पतालमा बिहान चार सय र दिउँसो १ बजेपछि ५ सय रुपैयाँ शुल्क लाग्ने गरेको छ । दिउँसो पछि बाहिरका डाक्टर ल्याउनुपर्ने भएकाले शुल्क महँगो हुने गरेको अस्पतालले बताएको छ । निजी अस्पतालमा उपचार खर्च महँगो हुन्छ । सरकारी अस्पतालभन्दा दोब्बर खर्च यी अस्पतालहरूमा लाग्ने गरेको छ । विगतमा निजी अस्पतालमा बिरामीको खासै ठूलो भीड हुँदैनथ्यो । तर, पछिल्लो समय भने महँगो अस्पतालमा पनि सर्वसाधारणको भीड लाग्न थालेको हो । कुनै बेला हुने खाने, धनिमानी व्यक्ति पुग्ने भनिएका अस्पतालमा पछिल्लो समय सर्वसाधारणको चाप बढ्दा अब महँगो अस्पतालमा पनि सर्वसाधारणको पहुँच बढेको बुझ्न सकिन्छ । अहिले चिसो सकेर गर्मियाम सुरू हुने समय हो । यो सिजनमा अघिपछि भन्दा बिरामीको संख्या बढी हुन्छ । मौसम परिवर्तनको बेला रुघाखोकी र ज्वरोको बिरामीको संख्या बढी हुने चिकित्सकहरू बताउँछन् । उसो त सरकारी अस्पतालमा पनि बिरामीको भीड उस्तै छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी भीड हुने अस्पतालमा वीर र टिचिङ अस्पताल पर्छन् । त्यहाँ दैनिक हजारौंको संख्यामा बिरामी पुग्ने गर्छन् । तर, सरकारी अस्पतालमा समयमा पालो नपाउँदा नागरिक निजी अस्पताल जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा पालो नपाउँदा वा समयमै सेवा नपाउँदा रुघाखोकी लाग्दा समेत बिरामीले निजी अस्पताल जानु परेको छ । जहाँ नागरिकले महँगोमा उपचार गरिरहनु परेको छ । सरकारी अस्पतालभन्दा निजी अस्पतालमा मा टिकट शुल्कदेखि विशेषज्ञ शुल्क समेत महँगो पर्ने गरेको छ । यस कारण निजीमा चाप छिटो र सहजरुपमा सेवा पाउने भएकाले ऋण निकालेर पनि मान्छे निजी अस्पताल जाने गरेको जानकारहरू बताउँछन् । मान्छेलाई चेतना हुँदै जाँदा र सरकारी अस्पतालमा सहज सेवा नपाउँदा निजी अस्पतालमा बिरामीको चाप बढ्न थालेको हो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की उपचार गर्ने कुरा मान्छेको नैसर्गिक अधिकार भएकाले आफ्नो रुचि लागेको अस्पतालमा जाने तर्क दिन्छन् । निजी अस्पतालमा छिटो, छरितो र राम्रो सेवा पाउन सक्ने भएर त्यतातिर गएको हुन सक्ने उनको भनाइ छ । व्यक्ति आफ्नो उपचारको लागि कोही भारत, कोही विदेश जान्छन,’ उनी भन्छन, ‘स्वास्थ्यको लागि जति खर्च गर्न सक्छन्, त्यही अनुसारको सेवा लिन्छन्, यो उनीहरूको अधिकारको कुरा हो ।’ डा.अनिल नेपालका सरकारी अस्पतालले जनशक्ती अनुरूप राम्रो सेवा दिरहेको बताउँदै सरकारी अस्पतालमा जनशक्ति नहुँदा नागरिकले निजी अस्पतालको जस्तै सेवा नपाएको बताउँछन् ।

बढ्न थाले कोरोनाका बिरामी, सातामै २८ जनामा देखियो सङ्क्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन् । ‘मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्’, उनले भने, ‘तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन् ।’ निर्देशक डा बसौलाका अनुसार अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आइसीयु) र दुई जनाले श्ययामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उनले बताए । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन-१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताए । ‘भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन’, उनले भने, ‘तर अहिले भने बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित छैनन् । अहिले मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।’ नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन-१ पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए । कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए । रासस