दैनिक बढ्दै आँखाका रोगी : ८ महिनामा अस्पतालमा पुगे १ लाख बिरामी
काठमाडौं । कोभिड—१९ महामारीपछि नेपालमा आँखाका बिरामीहरु बढेका छन् । कोरोना भाइरसपछि बालबालिकाहरुमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो । नेपाल आँखा अस्पतालले आईतबार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरु बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले अर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताए । उनले यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको बताए । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको बताए । आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोभिड १९ पछि बालबालिकाहरुमा धेरै मात्रामा रोग देखिएको बताए । उनले अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गरेको बताए । ३ हजार ५ सय ९८ सर्जरी गरेको पनि बताए । अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको बताए । दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेको जानकारी दिए । ‘यस अर्थिक वर्ष २०८१/०८२ को ८ महिनाको तथ्यांकअनुसार झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिइसकेका छाैँ । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएका छौँ । आँखाको रोग कस्तो हुन्छ भने हाम्रो उमेरको शुरुवातमा बढी समस्या हुन्छ, की प्रौढ अवस्थामा बढी समस्या हुन्छ । हाल यस अस्पतालमा आउने झन्डै दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेका छौँ । विद्यार्थीहरुको आँखा जाँच गरी निःशुल्क परीक्षण गर्ने काम गरेका छौँ । फिजिकल स्पेस बढाउनेतर्फ हामीले सोचिरहेका छौँ’, उनले भने । उनले विद्यार्थीहरुको आँखा जाँच गरी विपन्नलाई निःशुल्क चश्मा वितरण गरेको पनि बताए । गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरुको आँखा परीक्षण गरी १ हजार भन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको जानकारी दिए ।
मौसमी फ्लुका बिरामीले स्वास्थ्य संस्था भरिए
सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको सङ्ख्या बढेको छ । अदानचुली–५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिएको स्वास्थ्यकर्मीको भनाइ छ । अदानचुली–६ मा पर्ने लमही गाउँबाट फैलिएको मौसमी फ्लुको प्रकोप रोक्न लौठी स्वास्थ्यचौकीले शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालन गरेपछि सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगहीमा नयाँ बिरामी देखा परेको लौठी स्वास्थ्यचौकीका प्रमूख नवराज भण्डारीले बताए । स्वास्थ्य शिविरमा एक सय ४९ जना बिरामीको उपचार गरेको उनले जानकारी दिए । लमहीमा फ्लुका बिरामी नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिँदै गएको इन्चार्ज भण्डारीले बताए । बिरामीले स्वास्थ्य संस्था भरिएपछि बहिरंग सेवाबाट उपचार गरिरहेको उनको भनाइ छ । अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढदो छ । तर एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्यचौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताए । एक दिनमा ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यचौकीका निमित्त इन्चार्ज जैसीले बताए। जैसीले भने, ‘अहिले स्वास्थ्यचौकीमा औषधि पर्याप्त मात्रामा छ । रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि पुर्याएको छ ।’ श्रीनगर स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीको भीडबाट अरुलाई रोग सर्न सक्छ भनेर नियमित मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले जोड दिएका छन् । रासस
डा. ओममूर्ति अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति
काठमाडौं । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा. ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ । पुस्तक बजारमा आएको छ महिनाको अवधिभित्र २० हजार प्रतिभन्दा बढी बिक्री भइसकेको फाउण्डेशनले जनाएको छ । गत असोज ६ गतेदेखि बजार उपलब्ध पुस्तक विमोचनपूर्व नै प्रिबुकिङ भएको थियो भने स्वदेश तथा विदेशबाट दिनहुँ माग भइरहेको बताइएको छ । पुस्तक देशभरिकै अधिकांश पुस्तक पसलहरु र भाटभटेनी सुपरमार्केटका देशभरिकै स्टोरमा उपलब्ध रहेको छ भने समीक्षा पब्लिकेसन्स्लगायत विभिन्न अनलाइन प्लेटफर्म र वितरकमार्फत पाठकसमक्ष पुर्याइँदै आएको छ । पाठकहरूद्वारा अत्यधिक रुचाएको पुस्तकहरूको सूचीमा यस वर्ष मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पर्न सफल भएको छ । पाठक प्रतिक्रिया र समीक्षकहरूको प्रशंसासँगै छोटो समयमा पुस्तकको उच्च बिक्रीले जीवन्त सम्बन्ध पुस्तक पाठकको रुचीमा पर्न सफल भएको हो । पाठकको उत्साहजनक सहभागिता र माग बढिरहेको फाउन्डेसनले छिट्टै पुनः संस्करण ल्याउने तयारी गरेको छ । ५३ वटा खण्डलाई २३१ पृष्ठमा समेटिएको ‘जीवन्त सम्बन्ध’ पुस्तक कुल २४० पृष्ठको रहेको छ । यस पुस्तकले विशेषगरी बुबा–आमा र सन्तानबीचको सम्बन्धलाई मिहीन ढङ्गबाट केलाइएको छ । लेखकले आफ्नो जीवन भोगाइ, अनुभव र ज्ञानलाई रचनात्मक तरिकाले पुस्तकमा समाविष्ट गरेको हुँदा सबैलाई आफ्नै कथाव्यथा जस्तो लाग्ने भएकालाई पुस्तकले पाठकको मन जित्न सफल भएको समीक्षकहरूको भनाइ छ । त्यस्तै बदलिँदो नेपाली समाजमा खड्किदै गएको सम्बन्धको महत्वलाई पुस्तकमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । सामाजिक रूपान्तरणका निम्ति बलियो आधार बन्ने ‘जीवन्त सम्बन्ध’ पुस्तकका हरेक खण्डले मानिसलाई आफ्नो दायित्वबारे बुझाउन मद्दत गर्नेछ । विशेषगरी लेखकले ‘म’ पात्रमार्फत बुवासँगको सम्बन्धलाई प्रतिनिधिमूलक घटनाका रूपमा दर्शाउँदै नेपाली समाजको विम्ब प्रस्तुत गरेका छन् । रासस