आफ्नो प्रतिभालाई अस्वीकार गर्ने इम्पोस्टर सिन्ड्रोम के हो ? कसरी बच्न सकिन्छ ?

काठमाडौं । फेसबुककी पूर्व सिइओ शेरिल स्यान्डबर्गले हावर्ड युनिभर्सिटीमा पढ्दैगर्दा उनले दिने हरेक परीक्षा पश्चात उनलाई लाग्दथ्यो की परीक्षा खराब भएको छ । तर, उनको हरेक परीक्षामा राम्रै नम्बर आइरहेको हुन्थ्यो । त्यसैले उनी आफ्नो क्षमताले भन्दा पनि ती नम्बरहरु संयोगले आएका हुन भन्ने सोच्थिन् । जब उनले आफ्नो व्यवहारको विश्लेषण गरिन, उनले त्यसबेला महशुस गरिन की उनी इम्पोस्टर सिन्ड्रोमबाट पिडित भएकी थिइन् । यो एक प्रकारको मनोवैज्ञानिक अवस्था हो, आफ्नो क्षमतालाई शंका गर्ने र आँफूलाई अन्य व्यक्तिहरुसँग तुलना गर्नपुग्छ । शेरिल बाहेक पनि विश्वका धेरै सेलिब्रेटीहरु पनि सो सिन्ड्रोमको शिकार भएका छन् । उदाहरणको रुपमा हेर्दा स्टारबक्सका पूर्व सिइओ हावर्ड सुल्ट्ज पनि यो सिन्ड्रोमको शिकार भएका थिए । उनलाई लाग्दथ्यो की उनी आफूले जिम्मेबारी बहन गरिरहेको पदको लागि क्षमतावान छैनन् । यसबाहेक अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले पनि आँफूले कहिलेकाहीँ इम्पोस्टर सिन्ड्रोमको सामना गर्नुपरेको स्वीकार गरेकी छन् । यद्यपी उनले आफ्नो क्षमतामा ध्यान दिएर आफ्नो आत्मविश्वास फिर्ता गर्न सफल भइन् । व्यवसायिक जीवनको सन्दर्भमा यो सिन्ड्रोममाथि ध्यान दिन र छलफल गर्न सान्दर्भिक हुन्छ । अहिलेको युगमा यो सिन्ड्रोमको प्रभाव सेलिब्रेटी देखि लिएर आम व्यवसायिक मानिसहरुको जीवनमा देखिएको छ । मनोवैज्ञानिकहरुका अनुसार मानिसहरु आफ्नो काममा सफल भएपनि यो सिन्ड्रोमका कारण आँफूलाई सफल भएको ठान्दैनन् । जसका कारण उनीहरुको आत्मसम्मान घट्छ र असफलतातर्फ लाग्छन् । यो सिन्ड्रोम देखिएका मानिसहरु आफ्ना स-साना गल्तीहरुमा बढी ध्यान केन्द्रित गर्छन् । जसका कारण उनीहरुमा एन्जाइटी र जलन जस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा समयमा नै रोगको पहिचान गरी उपचार गर्नुपर्दछ । के छन् बच्ने उपाय ? नेतृत्व सम्बन्धी प्रशिक्षक जोएल जे का अनुसार प्रत्येक दिन आफ्नो लक्ष्यको सूची बनाउनुहोस्, त्यसमा दिनका दुई ठूला उपलब्धिको बारेमा लेख्नुहोस् । तपाईंले ती उपलब्धि कसरी प्राप्त गर्नुभयो भनेर पनि बताउनुहोस् । यसको साथै पोडकास्ट पनि सुन्ने बान गर्नुहोस् । इम्पोस्टर सिन्ड्रोम एन्ड डाउट पोडकास्टमा डा. जेसामी हिबर्डले आफ्नो मानसिकता परिवर्तन गरेर यो सिन्ड्रोमलाई कसरी जित्न सक्नुहुन्छ भनेर बताउने गरेका छन् । लाइफ एन्ड लिडरसिप पोडकास्टमा डा. भ्यालेरी एंगले यो सिन्ड्रोमबाट कसरी बाहिर निस्कन सकिन्छ भनेर पनि बताएका छन् । आफूले प्राप्त गरेका सफलताहरुको लागि आँफैलाई क्रेडिट दिन शुरु गर्नुहोस् । शेरिल स्यान्डबर्गका अनुसार तपाईंले आफ्नो सफलताको बारेमा कुरा गर्नुहोस्, जसरी तपाईंले अरुको सफलताको बारेमा कुरा गर्नुहुन्छ । यसोगर्दा तपाईंले आँफूबाट हराएको आत्मविश्वास पुनः प्राप्त गर्नसक्नुहुन्छ । विकासको मानसिकता पनि निर्माण गर्नुहोस् । चुनौतीहरुलाई बेवास्ता गर्नुको सट्टा स्वीकार गर्नुहोस् र गल्तीहरुबाट नडराउनुहोस् । तपाईंको लागि सही समर्थन सहित सल्लाह दिने व्यक्तिको पनि खोजी गरेर संगत बढाउनुहोस् । एजेन्सीको सहयोगमा ।

तरकारी, फलफूल र मासुमा पनि १३ प्रतिशत भ्याट लागू, बजेटपछि दोब्बरले बढ्यो भान्सा

काठमाडौं । सरकारले आलु, प्याज, स्याउदेखि मासु आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि सर्बसाधारणको भान्छा महँगो भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यसअघि दिदैँ ६०० प्रकारका बस्तुमा मूल्य अभिवृद्धि कर वा अन्तशुल्क छुट खारेज गरिएको घोषणा गरेका थिए । ‘सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी करका आधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख छ । यसअघि तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा सरकारले मूल्य अभिवृद्धि कर छुट दिएको थियो । यसअघि दिईएको छुट खारेज गरेर सरकारले बजेट मार्फत १ सय ७० वस्तुहरुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेअनुसार दैनिक उपभोग्य बस्तुको मूल्य बढ्न थालेको हो । सरकारको घोषणा अनुसार अब प्याज, केराउ, फ्रोजन सागपात, आलु, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्युजिल्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा कर लगाइएको हो । एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य, स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किबी फ्रुट, हलुवावेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ । सरकारले हवाईजहाजका पार्टपुर्जामा पनि कर लगाएको छ । यसरी भ्याट लगाउँदा आयात हुने वस्तु १३ प्रतिशत महँगिने भएको छ । अर्थमन्त्रालय अन्तरगतको राजस्व महाशाखाका प्रमुख रितेश शाक्य सरकारले उक्त वस्तुमा भ्याट लगाउने घोषणा गरेको भन्दै उनले न्यूनतम सीमा निर्धारण गरिएको बताए । ‘सरकारले ५० लाख रुपैयाँभन्दा बढीको आयातमा भ्याट लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेलाई भ्याट लाग्दैन’, उनले भने । मूल्य अभिवृद्धि कर नियमावली, ०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र वस्तु तथा सेवाको हकमा २० लाख रुपैयाँ भ्याटको सीमा तोकिएको उनको भनाइ छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा बर्षेनी ३ खर्ब बढी रुपैयाँको कृषिउपज वस्तु र २८ अर्ब रुपैयाँ बरावरको तरकारी तथा फलफुल आयात हुने गरेको छ । गत आर्थिक वर्षमा ७१ करोडको स्याउ र ८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको आलु आयात भएको तथ्यांक छ । सरकारको घोषणा अनुसार आलु, प्याज, स्याउ लगायतका वस्तुको उपभोग्य मूल्य बढ्न थालेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । उनका अनुसार आयातमै निर्भर हुनुपर्ने दैनिक उपभोग्य वस्तुमाथि सरकारले कर लगाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा परेको छ । ‘सरकारलाई देखाउँदै अहिले अधिकांश वस्तुको मूल्य बढाउन सुरु भैसक्यो, बजार अनुगमन गर्ने सरकारी निकाय वेखबर छ’, उनले भने । उनले पछिल्लो समय उपभोक्ताको क्रय शक्तिमा ह्राश आएको बेलामा बजारलाई चलायमान बनाउने सरकारको काम भएतापनि भ्याट थप गरेर बजारलाई महँगीतिर धकेलेको उनको भनाइ छ । उनका अनुसार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट उपभोक्ता केन्द्रित छैन । बजार अनुगमनका निकायमा जनशक्ति व्यवस्थापन, प्रयोगशाला निर्माण तथा बजार अनुगमनका लागि केन्द्रित गर्न सरकारको बजेटमा केही उल्लेख नभएको उनले बताए । उनले सरकारले आयातीत वस्तुको यकिन तथ्यांक नै ननिकालेर राजश्व संकलनका लागि मात्रै दैनिक उपभोग्य वस्तुमा सरकारले कर लगाएको बताए । ‘दैनिक उपभोग्य वस्तुको करमा कृषि, तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मुख्य जिम्मेवार हुनुपर्छ, दुई मन्त्रालयसँग नेपाली उत्पादन कति छ, त्यसले कति समयको माग पूरा गर्छ, थप आयात कति गर्नुपर्छ यकिन तथ्यांक नै छैन, बीना जानकारी दैनिक उपभोग्य वस्तुमा मूल्य अभिबृद्धि कर थपियो’, उनले भने । उनले नेपाली उत्पादन बढाउन नयाँ कार्यक्रम नल्याई आयातीत वस्तुमा भन्सार थप गरिएको बताए । ‘नेपाली उत्पादनले बजार मागको १० प्रतिशत पनि माग धान्दैन, बाँकी ९० प्रतिशत आयातीत वस्तुको भर पर्नु पर्नेमा आयातीत दैनिक उपभोग्य वस्तुमै १३ प्रतिशत भ्याट लागु गर्दा त्यसको प्रत्यक्ष असर भन्सामा पर्ने उनको भनाई छ । दाल, चामल, तरकारी, आलु, माछामासु नेपाली उत्पादनले नपुगेर नै आयात गरिएको हो, राजश्व संकलनकै लागि सरकारले यस्तो वस्तुमा कर लगाएको उनले आरोप लगाए । ‘हाम्रो अत्पादन पर्यात छ भने आयातमा कर थप गर्नु एकदमै राम्रो हो, तर बजारको अध्ययन बीनै आयातकै भर पर्नुपर्ने वस्तुमा कर थप्नु भनेकै रावश्व बढाउनु हो’, उनले भने । सरकारले कर लगाएपछि अधिकांश वस्तुको मूल्य दोब्बर भएको छ । यसअघि ३५ रुपैयाँ पर्ने प्याज सोमबार ६० रुपैयाँ पुगेको छ । यस्तै, आलूको मूल्य पनि आइतबारको तुलनामा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ तरकरीमा १३ प्रतिशत भ्याट लगाइएको असर मूल्यमा परेको बताउँछन् । ‘बजेटकै कारण प्याज, आलु लगायतका तरकारी मूल्य बढेको हो, भारतीय बजारबाट आयात गरेका अधिकांश वस्तुको मूल्य बढ्छ’, उनले भने । उनले बजारमा आलु तथा प्याजकोे मौज्दात नहुँदा मूल्य बढेको हुन सक्ने अनुमान गरिएको बताए ।  

जसले करोड खर्च गरेर पनि जागिर पाएनन्

काठमाडौं । धेरै खर्च गरेर पढ्ने विषयको अग्रस्थानमा पर्छ पाइलट । पाइलट कोर्ष पढ्नुलाई धेरैले प्रतिष्ठाको विषय मान्छन् । नेपालमा पढाई नहुने भएपछि पाइलट कोर्ष पढ्नका लागि नेपाली विद्यार्थीहरु अमेरिका, अष्ट्रेलियादेखि साउथ अर्फिकासम्म पुग्छन् । ८० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर वर्षेनी धेरै नेपालीहरु पाइलट कोर्स पूरा गरेर नेपाल फर्कन्छन् । तर, विडम्वना करोड खर्चर अर्बौं कमाउने चाहना भएका धेरै पाइलटहरु अहिले बेरोजगार छन् । लाखौँ खर्च गरेर विदेशको पढाई पूरा गरेर नेपाल फर्केकाहरु नेपालमा रोजगारी पाइरहेका छैनन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा दुई सयभन्दा बढी पाइलटहरु बेरोजगार बस्न बाध्य छन् । नेपाल वायुसेवा निगमका पूर्व महानिर्देशक सुगतरत्न कंशाकार राष्ट्रिय ध्वाजाबाहकले जहाज नथप्दासम्म बेरोजगार पाइटलको संख्या बढ्ने बताउँछन् । ‘गएको ३५ वर्षमा ४ वटा जहाज खरिद गर्याे, मेरै पालामा मेरो नै जोडबलले निगमले २ वटा जहाज खरिद गरेको थियो, त्यसपछि थप २ वटा मात्रै जहाज खरिद गरेको छ’, उनले भने, ‘निजी वायुसेवा कम्पनीको तुलनामा सरकारी वायुसेवा कम्पनीको भूमिका धेरै हुनुपर्ने हो, त्यो भएको छैन, परिणामस्वरुप दक्ष जनशक्ति बेरोजगार बस्नु परेको छ ।’ जहाज थपिएसँगै पाइलटसहित अन्य कर्मचारीले समेत रोजगारी पाउने भन्दै उनले तत्काल निगमले जहाज खरिद नगर्नदासम्म बेरोजगार पाइलट थपिने क्रम बढ्ने बताए । ‘हामी पर्यटन उद्योगको खानी भएको देश, विश्वका अन्य देशमा भन्दा नेपाल पर्यटन उद्योगका लागि आवश्यक कच्चा पदार्थ धेरै भएको देशमा पर्छ’, उनले भने, ‘इथियोपिया जस्तो देश (सरकारी स्वामित्वमा इथियोपियन एयरलाइन्स सञ्चालन छ ) त्यहाँ पनि सरकारी स्वामित्वकै कम्पनीले १३५ भन्दा बढी जहाज खरिद गरेर उडान गर्दै आएको छ, तर हामीले ४ वटा जहाजबाट मात्रै उडान गरिरहेका छौं ।’ निजी क्षेत्रभन्दा पनि राष्ट्रिय ध्वजाबाहक कम्पनीले जहाज खरिद नर्गदासम्म यो समस्या समाधान नहुने उनको भनाइ छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि ८ र आन्तरिक उडानका लागि ६ वटा जहाज खरिद गर्नु पर्ने उनको भनाइ छ । कतिले लिए इजाजत ? नेपाल नागरिक उडड्यन प्राधिकरणबाट लाइसेन्स प्राप्त गर्ने पाइलटको संख्या ५८२ छ । जसमा ५४ महिला र ५२८ पुरुष छन् । प्राधिकरणका अनुसार १५६ जना पाइलटको लाइसेन्स मात्र नवीकरण छ भने ४२६ जनाको अनुमतिपत्र नै नवीकरण भएको छैन । प्राधिकरणको तथ्यांक अनुसार हालसम्म एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) को ४०२ जनाले लिएका छन् । जसमा २७ महिला र ३७५ पुरुष छन् भने १८४ जनाको मात्र लाइसेन्स मान्यताप्राप्त छ । एटीपीएल हेलिकप्टर तर्फ ३३ जना पाइलटले लाइसेन्स लिएकोमा ८ जनाले मात्रै नवीकरण गरेका छन् भने सीपीएल हेलिकप्टरका लागि ७५ जनाले अनुमति लिएकोमा १९ जनाको मात्रै नवीकरण भएको छ । पाइलटले ६÷६ महिनामा लाइसेन्स रि–भ्यालिडेसन गर्नुपर्ने, २ वर्षमा टाइप रेटिङ गर्नुपर्ने र ५ वर्षसम्म बिमान नउडाएको अवस्थामा पुनः तालिम लिनु पर्ने हुन्छ । नियमित रूपमा लिइरहनु पर्ने तालिमका कारण पनि पाइलट अध्ययन र त्यसपछि पाइने अवसर महँगो भएको पाइलटहरु बताउँछन् । विदेशीने क्रम बढ्यो नेपालमै रोजगारी नपाएपछि रोजगारीका लागि विदेशिने पाइटलहरुको संख्या पनि बढ्दै गएको छ । क्यानको तथ्यांक अनुसार सात वर्षको अबधिमा ४ सयभन्दा बढी पाइलट विदेशिएका छन् । नेपालमा रोजगारी नभएकै कारण पाइलट अध्ययन गर्न विदेशिनेमध्ये आधाभन्दा बढी उतै सेटल हुने गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन् । प्राधिकरणको तथ्यांक अनुसार सन् २०१७ देखि सन् २०२३ सम्म नेपालबाट ६०९ जना पाइलट अध्ययन गर्न विदेशिएका छन् । जसमध्ये २०५ जना मात्रै स्वदेश फर्किएका छन् । सात वर्षको अवधिमा (सन् २०१७ देखि सन् २०२३ (हालसम्ममा) ४८४ पुरुष र १२५ महिला पाइलट अध्ययनका लागि बाहिरिएका थिए । यसमध्ये फिक्स विङ्ग्स विमानका १९५ र हेलिकप्टरका १४ जना पाइलट मात्र अध्ययन सकेर फर्किएका उनकोे भनाइ छ । यती एयरकी पाइलट आङतेमी शेर्पा पछिल्लो समय विभिन्न देशबाट अध्ययन सकेर नेपाल फर्कने पाइलटहरु बढ्दो क्रममा रहेको बताउँछिन् । ‘आजभन्दा १०/११ वर्षअघिको तुलनामा हाल डलरको रेट र हवाई इन्धनको मूल्य बढ्दा १ करोड रुपैयाँभन्दा बढी खर्च लाग्छ, १ करोडभन्दा बढी खर्च गरेर पढ्दा पनि तत्काल जागिर पाइने सम्भावना न्यून छ’, उनले भनिन, ‘साउथ अर्फिकामा मात्रै अहिले २० जना अध्ययनरत रहेको मैले जानकारी पाएको छु, अरु देशमा पनि अध्ययनकै क्रममा होलान्, तर पढेर सक्नासाथ जागिर पाइने सम्भावना न्यून छ ।’ उनले बीचमा रोजगारी पाइने क्रममा बृृद्धि भएकोमा कोरोना महामारीपछि आफूले अध्ययन गरेकै समयजस्तो भएको बताइन् । उनले समेत पाइटलको कोर्ष पूरा गरेर नेपाल फर्किएको साढे ३ वर्षपछि मात्रै जागिर पाएकी थिइन् । नेपालबाट बाहिर अध्ययन गर्न जाने पाइलटले अनिवार्य रूपमा प्राधिकरणबाट ‘नो अब्जेक्सन’ लेटर लिनुपर्छ । नेपालमा उडान अनुमति पाउन प्राधिकरणले तोकेकै संस्थाबाट तालिम लिएर आउनुपर्ने व्यवस्था छ । प्राधिकरणले दक्षिण अफ्रिका, फिलिपिन्स, अमेरिका, क्यानडा, माल्टा, न्युजिल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना, थाइल्यान्डसहितका मुलुकमा जान अनुमति दिएको छ । ती देशहरुमध्ये पछिल्लो समय फिलिपिन्स, साउथ अफ्रिका र अमेरिका नेपालीको रोजाइमा पर्ने गरेको छ ।