पाँचतारे होटलमा मिटिङ, भीआईपीका मुद्दाबारे छलफल

मुद्दामा प्रभाव पार्ने प्रयास भएपछि शंका लाग्यो, अनुसन्धानका लागि उजुरी गर्‍यौं

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले इनम सापकोटासँग होटल हिमालयमा भएको भेटमा न्यायाधीशमाथि दबाब सिर्जना गर्ने तथा विभिन्न भीआईपीका मुद्दाबारे कुराकानी भएको खुलासा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सापकोटाले उच्चपदस्थ राजनीतिक तथा सुरक्षा अधिकारीसँग आफ्नो निकट सम्बन्ध रहेको दाबी गर्दै न्यायिक प्रक्रियामा प्रभाव पार्न खोजेको बताएका हुन् ।

फुयालका अनुसार सापकोटाले प्रधानमन्त्री, प्रहरी महानिरीक्षक, प्रधानन्यायाधीश र प्रधानसेनापतिसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेका थिए । उनले आफू प्रधानमन्त्रीको सन्देश लिएर आएको जस्तो गरी कुरा गर्ने र न्यायाधीशहरूलाई महाअभियोगबाट जोगाउन सक्ने आशय व्यक्त गर्ने गरेको फुयालले बताए ।

सापकोटाले सुरुमा स्वतन्त्र न्यायपालिका, सुशासन र भूराजनीतिजस्ता विषयमा कुरा गर्ने गरेको भए पनि पछि विभिन्न मुद्दाबारे चासो राख्न थालेपछि आफूलाई शंका लागेको फुयालको भनाइ छ । उनले मुद्दाका विषयमा कुरा नगर्न पटक–पटक आग्रह गरेको पनि बताए ।

फुयालका अनुसार सापकोटाले रोहित गुप्ताको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दा र पछि दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा समेत चासो देखाएका थिए । उनले सन्देशमार्फत विभिन्न न्यायाधीशलाई भनिदिनुपर्ने आशयका कुरा गरेको फुयालले बताए । संवेदनशील वित्तीय मुद्दामा बाहिरबाट प्रभाव पार्ने प्रयास स्वीकार्य नहुने जवाफ आफूले दिएको उनको भनाइ छ ।

फुयालले होटल हिमालयमा भएको अन्तिम भेटमा पनि न्यायाधीशमाथि दबाब सिर्जना गर्ने खालका कुरा भएको बताएका छन् । उक्त भेटमा केही न्यायाधीश र प्रशासक उपस्थित रहेको उल्लेख गर्दै उनले सबै विवरण सार्वजनिक गर्न भने चाहेनन् ।

सापकोटाको गतिविधिबारे आफूले प्रहरी महानिरीक्षकको सचिवालय र प्रधानमन्त्रीको सचिवालयका उच्च अधिकारीलाई जानकारी गराएको फुयालले बताएका छन् । पछि केही न्यायाधीशले प्रधानसेनापतिसँग भेटेर सापकोटाले विभिन्न उच्चपदस्थ व्यक्तिको नाम लिने गरेको, मुद्दाबारे कुरा गर्ने गरेको र आफूहरूमाथि दबाब परेको विवरण सुनाएको उनको भनाइ छ । त्यसको तीन-चार दिनपछि सापकोटालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले खुलाए ।

फुयालले आफूले सापकोटासँग कुनै सेटिङ नगरेको र आर्थिक, नैतिक तथा आचरणगत रूपमा विचलित नभएको दाबी गरे । न्यायिक भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा आफ्नो कुनै बदनियत नरहेको बताउँदै उनले घटनाको विस्तृत छानबिन गर्न माग गरे ।

उनले अनुसन्धानको मिसिलमा नरहेको भनिएको कागजात कसरी सार्वजनिक भयो भन्ने प्रश्नसमेत उठाए । अहिले सार्वजनिक भएका विवरणका कारण सेवाग्राही, कानुन व्यवसायी, पत्रकार र आम समुदायमा भ्रम सिर्जना भएको भन्दै उनले दुःख व्यक्त गरे ।

फुयालले सापकोटाले विभिन्न उच्चपदस्थ व्यक्तिको नाम र पहुँच प्रयोग गरेर न्यायपालिका, प्रहरी तथा प्रशासनिक निकायमा प्रभाव पार्न खोजेको हो वा होइन भन्ने विषयमा अनुसन्धान केन्द्रित हुनुपर्ने बताए । 

Share News