प्याज निकासीमा भारतले लगायो ४० प्रतिशत भन्सार, नेपाली बजार महङ्गिने चिन्ता
काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ । भारतमा प्याजको मूल्य अत्याधिकर बढेपछि त्यसको नियन्त्रणको लागि भन्दै निर्यातमा असाध्यै धेरै कर लगाएको हो । निर्यात कर बढी हुँदा भारतबाट प्याजको निकासी कम हुने र मूल्य स्थिरतमा कायम गर्न सहज हुने विश्लेषणसहित भारतको अर्थ मन्त्रालयले प्याजको निर्यातमा कर लगाएको हो । यसअघि भारतले प्याजको निकासीमा कर लगाएको थिएन् । बरू केही वर्षअघि भारतले प्याज निर्यातमै प्रतिबन्ध लगाएको थियो । भारतको अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै प्याजमा तत्काल लागू भएको निर्यात शुल्क डिसेम्बर ३१ गतेसम्म कायम रहने बताएको छ । तथ्याङ्कका अनुसार अहिले भारतमा प्याजको मूल्य २० प्रतिशतले बढिसकेको छ । यसअघि, भारतमा गोलभेडाको मूल्य अत्याधिक बढेको थियो । अहिले नेपालबाट समेत भारतमा गोलभेडा निकासी भइरहेको छ । भारत सरकारले कम प्याज आपूर्ति हुने सिजनमा भाउ बढ्न नदिन मूल्य स्थिरता कोष (पीएसएफ) अन्तर्गत ३ लाख टन प्याजको स्टक राखेको बताएको छ । भारतले प्याजको निकासीमा अत्याधिक कर लगाएपछि नेपालमा त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिन्छ । नेपालले वार्षिक करीब १४ करोड रुपैयाँ बराबरको प्याज भारतबाट आयात गर्दै आएको भन्सार विभागको तथ्यांक छ । प्याजका लागि नेपाल भारत र चीनको बजारमा निर्भर रहने गरेको छ । भारतबाटै प्याज महङ्गो भएरआएपछि नेपाली बजारमा प्याजको मूल्य असाध्यै बढ्न सक्छ । त्यसको असर नेपालीको चुल्होसम्म पर्नेछ । गत जुन महिनामा मात्रै भारतले २.९२ लाख मेट्रिक टन प्याज निर्यात गरेको थियो । भारतबाट सबैभन्दा धेरै प्याज बङ्गलादेशमा निर्यात हुने गरेको छ । भारतबाट सबैभन्दा धेरै प्याज निर्यात हुनेमा नेपाल पाँचौ स्थानमा छ । अप्रिलदेखि जुनसम्ममात्रै भारतबाट नेपालमा ०.३९ लाख मेट्रिक टन प्याज निकासी भएको तथ्यांक छ ।
नेपालका बैंक व्यवसाय मैत्री भएनन्, राष्ट्र बैंक पनि चुक्यो : अनुप बराल
काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाली सडकमा विद्युतीय सवारीको उपस्थिति उल्लेख्य रूपमा बढेको देखिन्छ । जसले पेट्रोल र डिजेलबाट चल्ने गाडीको व्यवसायलाई चुनौति थपिरहेको छ । अर्कोतर्फ, अर्थतन्त्रमा देखिएको शिथिलता र छिटाछिटो फेरिने सरकारी नीतिले पनि अटोमोबाइल्स व्यवसायलाई प्रभावित गरिरहेको छ । यस क्षेत्रमा संलग्न व्यवसायीहरु सकसपूर्ण अवस्थामा रहेको बताउँने गरेका छन् । नेपालमा अटोमोबाइल्सको बजार, अबको सम्भावना, सरकारी नीति र व्यवसायीका समस्या आदि विषयलाई केन्द्रित गरेर नारायणी अटो बिजनेस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपकुमार बरालसँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : नेपाली बजारमा अटोमोबाइल्सको व्यापारमा सुस्तता आएको चर्चा छ । नारायणी अटो बिजनेसको अवस्था चाहिँ कस्तो छ ? अटो बजार खस्किएको अवस्थाबाट नारायणी अटो पनि अछुतो छैन । आर्थिक मन्दीले अटो व्यवसायलाई ठूलो चोट पारेको छ । हामी पनि त्यही क्षेत्रका परिवारको सदस्य भएकाले खराब अवस्था बाटै गुज्रिरहेका छौं । नेपाली बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण असाध्यै बढेको छ । सुजुकीले भने अहिलेसम्म विद्युतीय सवारी ल्याएको छैन । विद्युतीय सवारीको सन्दर्भका कम्पनीले के भनिरहेको छ ? सुजुकी भारतको नम्बर वान गाडी निर्माता कम्पनी हो । यसले आफ्नो यात्रा निरन्तर राख्छ । पाइपलाइनमा धेरै गाडीहरू छन् । हामीले नेपालमा सुजुकीको विभिन्न मोडलका गाडीहरू ल्याएर लन्च ग रिरहेका छौं । केही समय अगाडि मात्रै जिम्नी र फ्रोन्क्स गाडी सार्वजनिक गरेका छौं । पछिल्लो समय धेरै कम्पनीहरू ईभीतर्फ लम्कँदै गर्दा सुजुकीले पनि ईभीको योजना बनाइ रहेको होला । हाम्रो कम्पनीको पनि ईभी गाडी आउँछ । तर, कहिले आउँछ भनेर चाहिँ भन्न सक्ने अवस्था छैन । यसको लागि समय लाग्छ । नेपाली ग्राहकको रोजाइमा कस्ता गाडि पर्ने गरेको पाउनुभएको छ ? ग्राहकको रोजाइमा परिवर्तन आएको छ । पहिला साना गाडीहरू धेरैको रोजाइमा पथ्र्यो । अहिले एसयूभी लक्षित ग्राहक धेरै भएको पाएका छौं । किनभने, सानादेखि ठूला गाडीको मूल्य वृद्धि भयो । एकदमै सानो कारको मूल्य २५/२६ लाखदेखि ४० लाख रुपैयाँसम्म पुग्यो । ४० लाख रुपैयाँ हालेर सानो कार किन्नु भन्दा त्यहीँ हाराहारीको मूल्यमा एसयूभीका गाडी पाइने भएकाले यस प्रति ग्राहकको आकर्षण बढेको छ । यस सँगसँगै ग्राहको क्रेज इभी प्रति पनि बढ्दै गएको छ । यो बजारको माग हो । महँगो वा सस्तो गाडीप्रति उपभोक्ताको रूचि वा छनोटको विधि के पाउनुभएकाे छ ? उपभोक्ताले दुई वटा विधिबाट गाडीको छनोट गरेको पाइन्छ । एउटा बजेट र अर्को आवश्यकता । आफ्नो आवश्यकता अनुसारको गाडी र त्यसमा अधिकतम फिचर भयो भने पुग्छ । गाडी छान्ने तरिका नै सबै भन्दा पहिलो ग्राहकको आवश्यकता हुन्छ । मेरो परिवार यति जान छन् । यति सिटर गाडी चाहिन्छ । अथवा ४ वा ५ सिटर गाडी भए हुन्छ । मेरो यति बजेटसम्म भए हुन्छ । र, मेरो घरमा राख्ने स्पेश यत्रो छ । आफ्नो आम्दानी यस्तो छ भन्ने कुरामा निर्भर हुने रहेछ । उहाँहरूलाई सुहाउँदो गाडी किन्नको लागि हामी पनि सुझाव दिन्छौं । बैंक फाइनान्सले पनि गाडी किन्न सकिने भएकाले त्यसको लागि पनि हामी सहयोग गर्छौं । अटोमोबाइल्स बजारप्रतिको सरकारको नीतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? सरकारले पछिल्लो समय विद्युतीय सवारी किन्न प्रोत्साहन गरिरहेको छ । यसअघि कहिल्यै पनि सरकारले सवारी किन्न प्रोत्साहन गर्दैनथ्यो । ईभी गाडीको आयातमा भन्सार छुट लगायतका सेवा सुविधा दिइरहेको छ । आइसीई इन्जिनमा लाग्ने भन्सार ईभीमा पनि लगाएको भए ईभीका गाडी किन्नै नसक्ने अवस्था हुन्थ्यो । बैंकले ईभीको सवारीमा ८० प्रतिशतसम्म फाइनान्स गर्दै आएको छ । त्यो चाहिँ सरकारले गरेको सपोर्ट हो । नेपाली बजारमा ईभी गाडी आएसँगै इन्धनबाट चल्ने गाडीको व्यापारमा गिरावट आएको हो ? ईभी नेपाली बजारमा आएपछि इन्धनबाट चल्ने गाडी व्यापारमा कमी आएको छ । किनभने यस बीचमा अर्थतन्त्रमा समस्या आयो । सरकारले गाडी आयातमा पनि प्रतिबन्ध लगायो । अहिले आयात खुलेको छ, नयाँ विशेषताका गाडीहरू आउन थालेका छन् । त्यो बेला ईभी गाडी भित्रिए । मान्छेको ध्यान ईभीतिर भयो । भन्सार विभागको डाटाले ६० प्रतिशतसम्म ईभीको गाडी भित्रिएको देखाउँछ । त्यो संख्यामा ईभी आउँदा इन्धनका गाडीलाई धक्का परेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि इन्टर्नल कम्बसन (आइसी) इन्जिनका गाडीलाई पनि ब्याक हुन सजिलो भएको छ । आइसी इन्जिनमा खर्बौं रुपैयाँ लगानी भएको छ । ईभीमा भर्खर लगानीको सुरुवात हुँदै छ । त्यो बामे सर्दैै गरेको इन्डस्ट्री हो । तर, आइसी इन्डस्ट्रीको इतिहास ६०/७० वर्ष पुरानो छ । यसलाई आँखा चिम्म गरेर बस्ने अवस्था हैन । यद्यपी, हामीले प्रविधिलाई आत्मसाथ गर्नुपर्छ । नेपालको भौगोलिक अवस्था बाटोको अवस्था, नेपालमा हुँदै गरेको पूर्वाधारको विकास यी सबै कुरालाई मध्यनजरमा राखेर ग्राहकले के चाहान्छन, आवश्यकता के हो ? त्यसलाई पहिचान गरेर ग्राहकलाई सन्तुष्ट बनाइ प्रडक्ट बजारमा दिनुपर्छ । अहिले नेपाली अटो बजारले भोगिरहेको मूख्य समस्या के हो ? नीतिगत कारणले गर्दा व्यापार खस्किएको छ । अर्थतन्त्रमा आएको शिथिलताले पनि ब्यापार घटाउन सघायो । एउटा डिलरले करौडौं रुपैयाँ बराबरको ब्याजदरको भार बोक्नु परेको छ । उनीहरूले सबै सम्पत्ती राखेर ऋण लिएका छन् । तर, कारोबार भने भएको छैन । ऋणको ब्याज बढेर करोडौं भएको छ । बैंकले घाटामा गएको ठाउँमा लगानी गर्दैन । राष्ट्र बैंकले जोखिम भार घटाएको छ । कारोबार अनुसारको मात्र लगानी गर्छौं भनेर बैंकहरु भनिरहेका छन् । आयात प्रतिबन्ध भएको बेला पनि कारोबार भएन । त्यसपछि, वित्तीय संस्थामा देखिएको तरलता अभावले पनि कारोबार हुन सकेन । बैंकहरुले लगानी गर्दै गरेनन् । चालु आर्थिक वर्षको बजेटपछि गाडीको व्यपारमा केही चहल पहल देखिन थालेको छ । हामी आशावादी छौं, घाम लागेपछि उज्यालो हुनेछ भन्ने आशामा छौं । गाडीमा आयात प्रतिबन्ध लागेको र अर्थतन्त्रमा शिथिलता आएको कारण कतिपय शोरूम बन्द भएका थिए । अहिलेको अवस्था चाहिँ कस्तो छ ? मेरो आफ्नै कम्पनीको कुरा गर्ने हो भने सोरुममा १८/२० महिनादेखि गाडी थिएन । भएको स्टक सकियो । उठ्नुपर्ने पैसा उठाएर बैंकमा ब्याज ति¥यौं । धेरै व्यपारीकोहरुको बैकिङ च्यानल नै भत्कियो । बैंकसँगको च्यानल नै बिग्रिएपछि अन्य लगानी कहाँबाट जुटाउने ? नेपालका बैंकहरु फ्रेन्ड्ली छैनन् । यसमा राष्ट्र बैंकको पनि भूमिका छ । कारोबार नगर्दा चाहिँ उहाँहरू कारोबार गर्नु पर्याे भन्दै आउनुहुन्छ । ८-९ महिना आयात बन्द हुँदा र तरलता अभाव हुने वित्तिकै तपाईंको घर लिलाम गर्नु पर्याे भन्दै घर अगाडी सेक्युरेटी पठाउनुहुन्छ । बैंकहरु कस्टुमर तथा व्यवसाय मैत्री हुनुप¥यो । उद्योगी व्यवसायीहरू अर्बौैं घाटामा गएको बेला खर्बौं रुपैयाँ बैंकहरुले नाफा गर्छन् । पारस्पारिक लाभ हुने गरी काम नगर्ने हो भने कुनै पनि उद्योग फस्टाउँदैन । केही अघिसम्म कतिपय कम्पनीले कर्मचारीलाई तलब नै दिन नसक्ने अवस्थामा छौं भनेका थिए । तपाईंको कम्पनीको अवस्था चाहिँ कस्तो छ ? मेरो कम्पनीमा यस्तो अवस्था छैन । मेरो कम्पनीमा करिब ५०/६० जना काम गर्नुहुन्छ । आजका दिनसम्म जस्तोसुकै जोखिम आए पनि कर्मचारीको तलब रोक्नु परेको छ्रैन । बरु कम्पनी करोडौं रुपैयाँ घाटामा होला । कर्मचारीलाई चाहिँ समयमै तलब दिदै आएका छौं । उहाँहरू कोही पढ्दै हुनुहुन्छ, केही साथीहरूले बाआमालाई ल्याएर पाल्नु भएको छ । उहाँहरूको पहिलो स्रोत नै जागिर हुन्छ । मैले पनि जागिर नै खाएर आएको भएर होला, मैले उहाँहरूको मर्मलाई बुझेको छु । अहिलेसम्म तलब रोक्नु परेको छैन । भिडियाेमा हेर्नुहाेस्
मर्जरमा गएका बीमा कम्पनीको पफर्मेन्स : कुन सूचकमा को बलियो ?
काठमाडौं । पछिल्लो एक वर्षमा १२ वटा निर्जीवन बीमा कम्पनी मर्जरमा सामेल भए । नेपाल बीमा प्राधिकरणको पुँजी वृद्धिको निर्देशन अनुसार मर्जरको विकल्प रोजेका १२ वटा निर्जीवन बीमा कम्पनी ६ वटामा सीमित भए । नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या २० वटाबाट झरेर १४ वटा कायम भएकाे छ । साविकको सगरमाथा र लुम्बिनी जनरल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स (हिमालयन एभरेष्ट), सिद्धार्थ र प्रिमियमर (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स), आईएमई जनरल र प्रुडेन्सियल (आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स), सानिमा जनरल र जनरल इन्स्योरेन्स (सानिमा जीआईसी), यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स (यूनाइटेड अजोड इन्स्योरेन्स) मर्जरमा सामेल भए । यी कम्पनी सबैले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उक्त विवरण अनुसार, मर्जरमा गएका बीमा कम्पनीले कस्तो प्रगति गरे ? कति नाफा कमाए ? कति व्यवसाय गरे ? यस विषयमा तुलनात्मक विश्लेषण गर्न थालिएको छ । मर्जरबाट बनेका आधा दर्जन बीमा कम्पनीलाई विभिन्न ११ वटा सूचकमा दाँजेर हेर्दा अधिकांश सूचकमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) अग्रस्थानमा देखिन्छ । ११ वटा सूचकमध्ये सलिकाेको जगेडा, महाविपत्ति कोष, व्यवस्थापन खर्च, खुद नाफा, खुद बीमा शुल्क र कूल बीमा शुल्क गरी ६ वटा सूचकमा अगाडि छ । चुक्ता पुँजीमा आईजीआई प्रुडेन्सियल अगाडि मर्जरबाट बनेका ६ कम्पनीमध्ये आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सबैभन्दा बढी चुक्ता पुँजी छ । इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २ करोड भन्दा बढी छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । त्यस्तै, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, सलिकोको २ अर्ब ६२ करोड, हिमालयन एभरेष्टको २ अर्ब ३० करोड, सानिमा जीआईसीका २ अर्ब र युनाइटेड इन्स्योरेन्सको १ अर्ब ९० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । हिमालयन एभरेष्ट, सानिमा जीआईसी र युनाईटेड अजोड इन्स्योरेन्सले मर्जरमा गएर पनि प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन सकेका छैनन् । यी कम्पनीलाई हकप्रद मार्फत पुँजी पुर्याउन दिने प्राधिकरणको भनाई छ । सबैभन्दा कम पुँजी युनाइटेड अजोडको छ । जगेडा कोषमा सलिको बलियो जगेडा कोषको आधारमा सलिको अन्य ५ कम्पनीभन्दा बलियो छ । सलिकोको जगेडा कोषमा ९१ करोड ३२ लाख रुपैयाँ सञ्चिती हुँदा सानिमा जीआईसीको जगेडामा सबैभन्दा कम अर्थात ३२ करोड ९४ लाख रुपैयाँ सञ्चिती छ । सलिकोपछि जगेडाको कोष बलियो हुनेमा क्रमशः सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट, यूनाइटेड अजोड र आईजीआई प्रुडेन्सियल रहेका छन् । बीमा कोषमा सिद्धार्थ प्रिमियरलाई पछ्याउँदै सलिको बीमा कोषको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडि छ । इन्स्योरेन्सको उक्त कोषमा २ अर्ब ५० करोड रुपैयाँ सञ्चिति छ । सिद्धार्थ प्रिमियरपछि सगरमाथा लुम्बिनीको बीमा कोषमा २ अर्ब २८ करोड रुपैयाँ छ । ६ कम्पनीमध्ये सानिमा जीआईसीको यो कोषमा सबैभन्दा कम रकम सञ्चित छ । महाविपत्ति कोषमा पनि सलिकोकै धेरै महाविपत्ति कोषमा रहेको रकमको आधारमा पनि सगरमाथा लुम्बिनी इन्स्योरेन्स बलियो देखिएको छ । उक्त कोषमा इन्स्योरेन्सको १८ करोड ४५ लाख रुपैयाँ सञ्चित छ । सबैभन्दा कम रकम हुनेमा युनाइटेड इन्स्योरेन्स छ । व्यवस्थापन खर्च व्यवस्थापनमा सबैभन्दा बढी रकम खर्चिनेमा सलिको नै अगाडि छ । इन्स्योरेन्सले एक वर्षको आवधिमा ४ करोड ९० लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । यो शीर्षकमा सबैभन्दा कम खर्च गर्नेमा यूनाइटेड अजोड छ । जसले एक वर्षमा ३ करोड २७ लाख २२ हजार रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । खुद नाफामा को अगाडि ? खुद नाफाको आधारमा पनि सलिको इन्स्योरेन्स नै अग्रस्थानमा छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसपछि हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, सानिमा जीआईसी, आईजीआई प्रुडेन्सियल र यूनाइटेड अजोड क्रमशः रहेका छन् । यी ६ कम्पनीमध्ये यूनाइटेड अजोडको खुद नाफा अन्यकोभन्दा कम छ । व्यवसायमा हिमालयन एभरेष्ट र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा व्यवसाय अर्थात खुद बीमाशुल्क आर्जनमा ६ कम्पनीमध्ये हिमालयन एभरेष्ट र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा देखिएको छ । हिमालयन एभरेष्टले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियरले १ अर्ब १४ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । तर सबैभन्दा बढी खुद बीमाशुल्क संकलन गर्नेमा सलिको र कम संकलन गर्नेमा यूनाइटेड अजोड नै रहेका छन् । पुनर्बीमा कमिशनमा सिद्धार्थ प्रिमियरले अग्रस्थानमा पुनर्बीमा कमिशनको आधारमा सिद्धार्थ प्रिमियरले सबैभन्दा बढी कमाएको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ४५ करोड ३७ लाख रुपैयाँ पुनर्बीमा कमिशनबाट कमाएको हो । सबैभन्दा कम कमिशन आर्जन गर्नेमा यूनाईटेड अजोड इन्स्योरेन्स छ । कूल बीमाशुल्कमा को अगाडि ? बीमाशुल्क संकलन गर्ने अर्थात प्रिमियम उठाउनेमा पनि सलिको अग्रस्थानमा छ । इन्स्योरेन्सले हालसम्म ३ अर्ब ४१ करोड ८५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड ३९ लाख, सिद्धार्थ प्रिमियरले २ अर्ब ७८ करोड ४३ लाख, आईजीआई प्रुडेन्सियलले २ अर्ब १९ करोड ९० लाख रुपैयाँ संकलन गर्दा सानिमा जीआईसीले २ अर्ब ६ करोड ८९ लाख र यूनाईटेड अजोडले १ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् । हिमालयन एभरेष्टले बिक्री गर्यो सबैभन्दा बढी पोलिसी सबैभन्दा बढी बीमापोलिसी बिक्री गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स छ । सबैभन्दा पहिला मर्ज भएको कम्पनीले हालसम्म २ लाख ११ हजार ९१२ वटा बीमापोलिसी बिक्री गरिसकेको छ । हिमालयन एभरेष्टपछि सबैभन्दा बढी पोलिसी बिक्री गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यूनाइटेड अजोडले भने सबैभन्दा कम अर्थात कूल १ लाख २६ हजार २७४ वटा बीमापोलिसी जारी गरेको छ । सबैभन्दा बढी भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर अगाडि ६ कम्पनीमध्ये सिद्धार्थ प्रिमियरले सबैभन्दा बढी दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बीमितहरुलाई हालसम्म २ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । सबैभन्दा कम दावी भुक्तानी गर्नेमा पनि यूनाइटेड अजोड नै छ । मर्जरपछि कम्पनीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने र सिनर्जी आउने भन्दै कम्पनीहरु एक आपसमा मर्जरमा गएका हुन् । बीमा प्राधिकरणले पनि पुँजी वृद्धिको लागि मर्जरलाई नै जोड गरेसँगै अधिकांश कम्पनीहरु मर्जरमा गएका हुन् ।