पाण्डे महँगो सीईओ, खालिङको तलबमा उच्च वृद्धि

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको तलब तथा पारिश्रमिक साढे ५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बैंकका सीईओहरूको तलब ५.६३ प्रतिशत अर्थात् २ करोड २९ लाख रुपैयाँ घटेको हो । गत वर्ष वाणिज्य बैंकका सीईओहरूले ३८ करोड ३४ लाख ८६ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । जबकी अघिल्लो वर्षमा ४० करोड ६३ लाख ८७ हजार रुपैयाँ तलब तथा पारिश्रमिक बुझेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष एभरेष्ट बैंकका सीईओ सुदेश खालिङको तलब सबैभन्दा धेरै बढेको छ । यस बैंकले सीईओ खालिङको तलब ८९ प्रतिशत अर्थात् ९० लाख ५४ हजार रुपैयाँ बढाएर १ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरेको हो । अघिल्लो वर्ष १ करोड १६ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको थियो । यस्तै, एनआईसी एशिया बैंकले सीईओ रोशन कुमार न्यौपानलाई गत वर्ष ३ करोड तलब भुक्तानी गरेको छ । बैंकका अनुसार उनको तलब २७.६० प्रतिशत अर्थात् ६४ लाख ६० हजार रुपैयाँ बढेर २ करोड ९८ लाख रुपैयाँ बुझेका हुन् । अघिल्लो वर्ष बैंकका सीईओले २ करोड ३४ लाख रुपैयाँ बुझेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सीईओ अनिर्वाण घोष दास्तिदारलाई गत वर्ष ३ करोड ६८ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करेड २१ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस बैंकका सीईओको तलब १४.३४ प्रतिशत अर्थात् ४६ लाख १९ हजार रुपैयाँ वृद्धि भएको हो । सिटिजन्स बैंकले सीईओ गणेशराज पोखरेललाई गत वर्ष १ करोड ९७ लाख रुपैयाँ तलब प्रदान गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओ पोखरेललाई १ करोड ७६ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा सीईओको तलब १२ प्रतिशत अर्थात् २१ लाख २८ हजार रुपैयाँ बढेको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेले ५ करोड ३७ लाख रुपैयाँ तलब बुझेका छन् । साविक नेपाल इन्भेष्टमेन्ट बैंक हुँदा सीईओ पाण्डेले ४ करोड ८१ लाख रुपैयाँ तलब बुझेका थिए । मेगा बैंकसँग मर्जरपश्चात् उनको तलब ११.६३ प्रतिशत अर्थात् ५५ लाख ९८ हजार रुपैयाँ बढेको हो । नेपाल एसबिआई बैंकको सीईओ दिपक कुमार देलाई गत वर्ष १ करोड ६४ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्षको तुलनामा उनको तलब ६.९४ प्रतिशत अर्थात् १० लाख ७० हजार रुपैयाँ बढेको देखिन्छ । अघिल्लो वर्ष उनले १ करोड ५४ लाख रुपैयाँ तलबभत्ता बुझेका थिए । एनएमबि बैंकको सीईओ सुनिल केसीको तलब ५.६७ प्रतिशत अर्थात् १३ लाख ३३ हजार रुपैयाँ बढेर २ करोड ४८ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । अघिल्लो वर्ष सीईओ केसीले २ करोड ३४ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए । लक्ष्मी सनराइज बैंकले सीईओ अजय विक्रम शाहको तलब गत वर्ष ४.७९ प्रतिशत अर्थात् ६ लाख ६४ हजार रुपैयाँ बढेर १ करोड ४५ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओ शाहलाई १ करोड ३८ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । ग्लोबल आइएमई बैंकले गत वर्ष सीईओ रत्नराज बज्राचार्यको तलबमा २.९९ प्रतिशत अर्थात् ७ लाख ६१ हजार रुपैयाँ बढाएर २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्ष उनलाई बैंकले २ करोड ५४ लाख रुपैयाँ तलब प्रदान गरेको थियो । प्राइम कमर्सियल बैंकका सीईओ तलब ०.२८ प्रतिशत अर्थात् ६० हजार रुपैयाँ बढेर २ करोड १० लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त तलब पूर्व सीईओ नारायणदाश मानन्धरले बुझेका हुन् । अघिल्लो वर्ष उनले २ करोड १० लाख १५ हजार रुपैयाँ तलब बुझेका थिए । हाल बैंकको सीईओमा सञ्जीव मानन्धर कार्यरत छन् । राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणले श्रेष्ठले गत वर्ष आफूले काम गरेवापत ६६ लाख ४ हजार रुपैयाँ तलब लिएका छन् । उनले अघिल्लो वर्ष पनि सोही रकम बराबरको तलब बुझेका थिए । हिमालयन बैंकका सीईओ अशोक राणाको तलब भत्ता ०.२२ प्रतिशत अर्थात् ४८ हजार रुपैयाँ घटेर गत असारसम्म २ करोड १४ लाख रुपैयाँ बुझेका छन् । अघिल्लो वर्ष उनले २ करोड १५ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए । सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको तलब ९.८२ प्रतिशत अर्थात् २२ लाख ९२ हजार रुपैयाँ घटेर गत वर्ष २ करोड १० लाख रुपैयाँ भत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्ष उनले २ करोड ३३ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए । माछापुच्छ्रे बैंकले सीईओ सन्तोष कोइरालालाई गत वर्ष १ करोड ५४ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३.४८ प्रतिशत अर्थात् २४ लाख ८७ हजार रुपैयाँ कम हो । अघिल्लो वर्ष बैंकले सीईओ कोइरालालाई १ करोड ७९ लाख रुपैयाँ तलब बुझेका थिए । नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय हुन् । नेपाल बैंकले सीईओलाई ५४ लाख ८० हजार रुपैयाँ तलब भत्ता वापत भुक्तानी गरेको छ । अघिल्लो वर्ष ६४ लाख ५२ हजार रुपैयाँ तलब भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत गर्ष १५ प्रतिशतले तलब भत्ता घटेको हो । तर, उक्त रकम पूर्व सीईओ कृष्ण बहादुर अधिकारीले बुझेका हुन् । कृषि विकास बैंकले सीईओलाई ४६ लाख रुपैयाँ तलब भुक्तान गरेको छ । अघिल्लो वर्ष बैंकले ६१ लाख ३२ हजार रुपैयाँ तलब भुक्तान गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष २५ प्रतिशत घटेको हो । उक्त तलब पूर्व सीईओ अनिल कुमार उपाध्यायले बुझेका हुन् । हाल बैंकको सीईओमा गोविन्द गुरुङ कार्यरत छन् । नबिल बैंकले सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानालाई गत वर्ष १ करोड ५९ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड ८३ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले सीईओको तलब ४३.८३ प्रतिशत अर्थात् १ करोड २४ लाख रुपैयाँ घटाएको हो । सानिमा बैंकको सीईओ निश्चलराज पाण्डेको तलब ४६.४८ प्रतिशत अर्थात् ९९ करोड ५० लाख रुपैयाँ घटेर गत वर्ष १ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्ष उनले २ करोड १४ लाख रुपैयाँ तलब बुझेका थिए । कुमारी बैंकले सीईओलाई १ करोड ९० लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । उक्त रकम सीईओ खनाल र पूर्व सीईओ रमेशराज अर्यालले बुझेका हुन् । अघिल्लो वर्ष बैंकले सीईओलाई ३ करोड ९९ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको थियो । प्रभु बैंकले सीईओ अशोक शेरचनलाई अघिल्लो वर्ष ४ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको हो । उनले गत वर्ष पनि अघिल्लो वर्षको हाराहारीमा तलबभत्ता बुझेको बैंक स्रोतले विकासन्युजलाई जानकारी दिएको छ ।

चीनसँग बढ्यो व्यापारीको चहलपहल, व्यवसायीले दक्षिण छोडेर उत्तर रोजेका हुन् ?

काठमाडौं । पछिल्लो समय नेपाली व्यवसायीहरूको रोजाइ चिनियाँ बजार पर्न थालेको छ । व्यवसायीहरूले वस्तु आयातका लागि चिनियाँ बजार छनोट गर्न थालेपछि नेपालको चीनसँगको व्यापार पनि बढ्दै गएको तथ्यांकले देखाएको हो । चिनियाँ बजारमा नेपाली व्यवसायीको चहलपहल बढ्न थालेको संकेत पनि तथ्यांकले देखाएको छ । २०७२ सालको भूकम्पपछि सुस्त रहेको चीनसँगको व्यापार चालु वर्षमा उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ । चीनले लामो समयसम्म केरुङ र तातोपानी नाका बन्द गरेर वस्तु आयात निर्यातमा कडाइ गरेको थियो । सो कडाइले नेपाल र चीनबीचको व्यापारमा प्रभाव परेको थियो । तर, अहिले सो नाका खुलेपछि चीनको बजारमा नेपाली व्यवसायीको चहल पहल बढ्न थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आठ महिनाको अवधिमा चीनबाट हुने आयात ३३.६७ प्रतिशत बढेको छ भने निर्यात २७५.४८ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा चीनबाट १ खर्ब ९४ अर्ब ८७ करोड ४४ लाख रुपैयाँबराबरको आयात भएकोमा कुल १ अर्ब ९५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा चीनबाट १ खर्ब ४५ अर्ब ७८ करोड ५७ लाख रुपैयाँबराबरको आयात भएको थियो भने ५१ करोड ९३ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । यस्तै, आठ महिनाको अवधिमा भारततर्फको आयात २.८३ प्रतिशतले घटेको छ भने निर्यात पनि ७.६८ प्रतिशतले घटेको छ । आठ महिनाको अवधिमा भारतबाट कुल ६ खर्ब ३८ अर्ब १७ करोड ७७ लाख रुपैयाँको आयात भएकोमा ६८ अर्ब ५१ करोड १७ लाखको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भारतबाट कुल ६ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँको आयात भएको थियो भने कुल ७४ अर्ब २१ करोड ८६ लाख रुपैयाँबराबर निर्यात भएको थियो । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल वस्तु निर्यात ३.९९ प्रतिशतले घटेर १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ कायम भएको छ भने आयात २.६६ प्रतिशतले घटेर १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ कायम भएको छ । यो अवधिमा कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कायम रहँदा भारतसँगको व्यापार घाटा ५ खर्ब ६९ अर्ब ६६ करोड ४९ लाख रुपैयाँ र चीनसँगको व्यापार घाटा १ खर्ब ९२ अर्ब ९२ करोड ४२ लाख रुपैयाँबराबर रहेको छ । यस्तै, चीनबाट आयात हुने प्रमुख ४६ वटा वस्तुहरूमध्ये १२ वटा वस्तुको मात्रै आयात घटेको छ । अन्य वस्तुहरूको आयात ठूला परिमाणमा बढेको देखिन्छ । भारतबाट आयत हुने प्रमुख ५१ वटा वस्तुहरूमा २८ वटा वस्तुको आयात घटेको देखिन्छ भने २१ वटा वस्तुको आयात बढेको छ । भारतमा कडाइ, चीनमा सहज निर्यात परिषद्का अध्यक्ष नरेश लाल श्रेष्ठले अहिले भारतले केही वस्तुहरूको आयातमा कडाइ गर्दा विगतको तुलनामा भारतसँगको व्यापार घटेर चीनसँगको बढेको बताए । उनका अनुसार भारतले भटमास र पाम तेलमा भन्सार दर बढाएर कडाइ गरेको छ भने प्लाइउडमा पनि कडाइ गरेको छ । त्यसले पनि निर्यातमा केही कमी देखिएको हो । ‘हामीले भारतमा बढी निर्यात गर्ने भनेको प्लाइउड हो, अहिले भारतले त्यसमा कडाइ गरेको छ, वस्तुको माग भारतमा घटेको छ, भटमास र पाम आयलमा पनि भन्सार बढाउँदा निर्यात कम भइरहेको छ, त्यसको प्रभावस्वरुप भारततर्फको व्यापार बढेको देखिएको हो,’ उनले भने । उनका अनुसार विगतका चीनतर्फको नाका बन्द हुँदा व्यापार नभएको र अहिलेको खुल्दा व्यापार बढेको हो । रसिया र युक्रेनबिचको युद्धले पनि मागमा कमी आएको उनको तर्क छ । तथ्यांकअनुसार जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा.डिल्लीराम पोखरेल पनि अहिले चिनियाँ नाका खुलेपछि चहल पहल बढेको बताउँछन् । उनले विगतमा चीनतर्फको केरुङ र तातोपानी नाका बन्द हुँदा व्यापार पनि कम भएको र अहिले नाका खुला हुँदा व्यापार बढेको देखिएको धारणा राखे । सुस्ताए भारततर्फका भन्सार आयात-निर्यातमा आएको उचार चढावको प्रभाव भन्सार कार्यालयमा पनि देखिएको छ । भारततर्फका भन्सार कार्यालयको व्यापार घटेको देखिन्छ भने चीनतर्फका भन्सार कार्यालयको व्यापार बढेको देखिन्छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको देखिन्छ । यस्तै, आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । तथ्यांकअनुसार विराटनगर भन्सार कार्यालयबाट आयात ९.८६ प्रतिशत कमी आएर १ खर्ब १२ अर्ब ४५ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस भन्सार कार्यालयबाट १ खर्ब २४ अर्ब ७५ करोड ७४ लाख रुपैयाँबराबरको आयात भएको थियो । यस्तै, सबैभन्दा बढी आयातको हिस्सा भएको भारततर्फको भन्सार कार्यालय बिरगञ्ज भन्सार कार्यालयबाट हुने आयात पनि घटेको छ । गत आर्थिक वर्षको फागुनमा ३ खर्ब ९१ अर्ब ३ करोड रुपैयाँबराबरको आयात भएकोमा चालु आर्थिक वर्षको फागुनमा ३ खर्ब ५३ अर्ब ४ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ । कैलाली भन्सार नाका २१.५८ प्रतिशत कमी आएर १४ अर्ब ७४ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको छ । झापाका मेची भन्सार कार्यालयमा ९.८ प्रतिशतको घटेर २८ अर्ब १४ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट हुने कारोबारमा ठूलो गिरावट आएको छ । चीनतर्फका भन्सार कार्यालयमा भने कारोबार बढेको देखिन्छ । रसुवा भन्सार कार्यालयबाट हुने आयात १११.८८ प्रतिशतले बढेर ३५ अर्ब बढीको आयात भएको छ । तातोपानी भन्सार कार्यालयबाट हुने आयातमा पनि ठूलो छलाङ मारेको छ । यो भन्सार कार्यालयबाट कुल आयात २२२.८ प्रतिशत बढेर २३ अर्ब १४ करोड ८३ लाख रुपैयाँको आयात भएको छ । यस्तै, निर्यातमा पनि अधिकांश चीनका भन्सार कार्यालयको व्यापार बढेको देखिन्छ भने भारततर्फका भन्सार कार्यालयको व्यापार बढेको देखिन्छ । तर, कारोबार रकम भने चीनभन्दा भारततर्फका भन्सार कार्यालयको उच्च छ ।

गुरुले इन्साइडर ट्रेडिङबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर, १५ गते सजाय तोकिने

काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो । उनले इनसाइड ट्रेडिङबाट गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि १५ चैतमा पेश गर्न आदेश दिएको छ ।