विद्यालयमा किन घट्दैछ छात्राको संख्या ?

काठमाडौं । विद्यालय होस् या अन्यन्त्र नेपालमा पुरुषभन्दा महिलाको संख्या बढी छ । नेपालको कुल जनसंख्यामा पनि महिलाको संख्या पुरुषको भन्दा बढी छ । तर, पछिल्ला केही वर्षदेखि भने पुरुषको संख्या बढ्दै गएकाे तथ्यांकले देखाउँछ । पहिले एक दम्पत्तिबाट ५/६ जनासम्म सन्तान जन्माउँदा ३/४ जना छोरी हुन्थे । छोराको संख्या कमै हुन्थ्यो । तर, आजभोलि ठ्याक्कै उल्टो देखिन थालेको छ । अर्थात, छोरीभन्दा अहिले छोराको संख्या बढ्दै गएकाे छ । उदाहरणका लागि चैत १५ गते (आज)देखि सुरु हुने एसईई परिक्षाका विद्यार्थीलाई लिन सकिन्छ । जहाँ छात्राभन्दा छात्रको संख्या बढी छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो वर्ष एसईई परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परिक्षार्थी सहभागी हुँदैछन् । जसमा २ लाख ५३ हजार ६ सय २७ छात्र छन् भने छात्राको संख्या २ लाख ५० हजार ७ सय ७२ छ । यो वर्ष परीक्षा दिने विद्यार्थीमा २ हजार ८ सय ५५ छात्र बढी छन् । र १५ जना अन्य छन् । २०७९ को एसईई परीक्षामा पनि छात्रको संख्या नै बढी थियो । २०७९ मा कुल ५ लाख १६ हजार ५ सय ७७ परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५५ हजार ९सय १७ थियो भने छात्रको संख्या २ लाख ६० हजार ६सय ७४ थियो । यो संख्या छात्राको तुलनामा करिब ५ हजार बढी हो । २०७८ सालको एसईईमा पनि छात्रभन्दा छात्रा ३८ ले मात्रै बढी थिए । कुल ४ लाख ८५ हजार ३ सय ९६ जम्मा परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ४२ हजार ७ सय १२ र छात्रको संख्या २ लाख ४२ हजार ६सय ७४ रहेको थियो । त्योभन्दा पहिलेको दुई वर्षमा भने एसईई परिक्षा नै भएन । कोरोना महामारीका कारण विद्यालय आफैंले विद्यार्थीलाई आन्तरिक मुल्यांकन गरेर अंक प्रदान गर्दा छात्र वा छात्राको संख्या कसको बढी थियो भन्ने एकिन छैन । राष्ट्रिय परिक्षा बोर्डका अनुसार विगतका दुई/तीन वर्षदेखि एसईई दिनेमा छात्रको संख्या बढ्न थालेको छ । अहिले १० कक्षाभन्दा मुनिको कक्षामा छात्रको संख्या नै बढी रहेको पाइन्छ । विज्ञहरू भने अबको चार/पाँच वर्ष नेपालमा सन्तान जन्माउने दर र लिंग पहिचान गर्ने काननी छुट भइरहने हो भने आगामी दिनमा अवस्था भयावह हुने बताउँछन् । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन विषयका प्रोफेसर महेन्द्रप्रसाद शर्मा १५ वर्ष मुनिका बालबालिकामा बालकको संख्या बढी भएकाले परिक्षार्थीमा पनि बालकको संख्या बढी भएको बताउँछन् । बालिकाभन्दा बालक धेरै नेपालको जनगणना २०७८ अनुसार नेपालमा बालिकाभन्दा बालकको संख्या बढी छ । जसमा चार वर्ष मुनिको बालक १२ लाख ९० हजार ५ सय २५ (४.४) प्रतिशत हुँदा बालिकाको संख्या ११ लाख ४८ हजार ७ सय ५७ (३.९) प्रतिशत छ । यस्तै ५ वर्षदेखि ९ वर्ष उमेर समूहका बालबालिकामा पनि बालकको संख्या बढी छ । जसमा १४ लाख ४३ हजार ४ सय ५ (४.९) प्रतिशत बालक र १३ लाख २३ हजार २२ बालिका (४.५) प्रतिशत छ । यस्तै १० देखि १४ वर्ष समूहमा पनि बालकको संख्या बढी छ । १४ लाख ९५ हजार ९ सय ५४ (५.१)बालक र १४ लाख १३ हजार ९ सय ११ (४.८) प्रतिशत बालिका छन् । यसरी हेर्दा नेपालमा १५ वर्ष मुनिका बालिकाभन्दा बालकको संख्या बढी छ । नयाँ जनगणनाअनुसार बालकको संख्या बढी भएकाले यसको असर दीर्घकालीनरूपमा पर्ने जनसंख्याविदहरू बताउँछन् । तर, समाजशास्त्री टिकाराम गौतम विगतका वर्षमा केटीहरूको संख्या बढी रहेको बताउँदै अहिले केटाहरूको संख्या बढीलाई समान्यरूपमा लिन्छन् । लिंग पहिचान गर्नेको संख्या बढ्यो प्राकृतिक नियमअनुसार छोराभन्दा बढी छोरी जन्मन्छन् । विश्वका कयौं देशमा हेर्दा यस्तै देखिन्छ । नेपालमा पनि १ सय ७ जना छोरी जन्मदा छोराको संख्या १ सय हुन्छ । तर, पछिल्लो समय प्राकृतिक नियम तोड्दै दम्पत्तिहरू छोरा जन्माउन थालेका छन् । विभिन्न प्रविधिको विकाससंँगै छोरा जन्मने संख्या बढ्न थालेको जनसंख्याविद्हरू बताउँछन् । जनसंख्याविद्  शर्मा नेपालमा गर्भको बच्चा छनोट गरेर जन्माउने चलन बढेकाले छोराको संख्या बढ्दै गएको बताउँछन् । नेपालमा अहिले बढीमा दोस्रो नभए एकल सन्तान जन्माउने प्रचलन बढेको छ । ‘पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानका लागि धेरैले दुःख गर्दैनन्, तर पहिलो सन्तान छोरी हुँदा अधिकांशले छोराका लागि अर्को सन्तान खोज्छन्,’ उनी भन्छन्,‘अहिले मान्छेलाई लिंग पहिचान गरी जन्माउने अधिकार छ यसैको परिणाम स्वरुप यस्तो देखिएको हो ।’ समाजशास्त्री टिकराम गौतम पनि बलियो कानुन नहुनु र गर्भको बच्चा पहिचान गरी छोरा राख्ने प्रवृत्तिले छोराको संख्या बढेको बताउँछन् । नेपालको कानुनले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको बच्चालाई पतन गर्न पाउने अधिकार दिएको छ । यदि जबरजस्ती करणी, हाडानाता करणीको गर्भ छ वा गर्भपात नगराएमा ज्यानै जानेसम्मको अवस्था भए २७ हप्तासम्म पनि पतन गराउन सक्ने भनेको छ । योभन्दा बाहेक अन्य अवस्थामा गर्भवती महिलाको स्वीकृती विना करकाप, धाक धम्की गराइ बच्चा फाल्न लगाए अथवा गर्भमा रहेको बच्चाको लिंग पहिचान गरी गर्भपात गराएको खण्डमा भने दण्डको व्यवस्था गरेको छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८ (ग) मा गर्भमा रहेको भ्रुणको लिंग पहिचानमात्र गराउनेलाई तीन महिनादेखि ६ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि दुई वर्षसम्म कैद गरिने प्रावधान छ । यस्तै मुलुक अपराध (संहिता) ऐन, २०७४ ले १२ हप्तासम्मको गर्भ भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना र २५ हप्ताभन्दा बढीको गर्भ भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । पुरुषको संख्या बढी हुँदा कस्तो पर्छ प्रभाव ? जनसंख्याका जानकार नेपालका दम्पत्ति एउटा त्यसमा पनि छोरामात्र जन्माउन थालेको १० वर्ष भएको बताउँछन् । समाजशास्त्री  गौतम अहिले बढीमा दुई सन्तान जन्माउने त्यसमा पनि छोरा बढी हुने समाजको स्वरूप फेरिएको बताउँछन् । उनी अबको ८/१० वर्षमा पनि यही रेसियोमा दम्पत्तिले सन्तान जन्माउने हो भन् अबको १०/१५ वर्षमा छात्रा नहुने, भए पनि कम मात्र हुने बताउँछन् । अहिलेको मात्र संख्याले भोलि समाज कता जान्छ भन्ने अहिले नै भन्न  सकिने अवस्था नरहेको बताउँदै उनी अबको केही वर्षको रेसियोलाई हेरेर समाजमा कस्तो असर पर्छ भन्न सकिने बताउँछन् । प्राध्यापक एवं जनसंख्याका जानकार नीर कुमार राई यस्तै अवस्था लगातार रहने हो भने समाजमा हिंसाका घट्ना बढ्दै जाने बताउँछन् । उनी भन्छिन्,‘केटाको संख्या बढ्यो भने उसलाई आफ्नो जोडी भेटाउन गाह्रो हुन्छ जसको परिणाम समाज हिंसाजनक गतिविधि बढी हुन्छन् ।’

युक्रेनसँग लडिरहेको रसियामा कामदार पठाउने श्रम मन्त्रालयको निर्णय

काठमाडौं । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियामा कामदार पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ । गत पुस १९ गतेदेखि रसियामा कामदार पठाउन श्रम स्वीकृति रोकिएकोमा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको वैदेशिक रोजगार विभागले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । ‘श्रम स्वीकृति रोकिएको कारणबाट रुसमा विभिन्न पेशा व्यवसायी गरी नेपालमा बिदामा आएका कामदारहरुको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०/११/०९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै रसियाको ब्लगोभेचेन्सेक सहरमा सिनोपी इन्जिनियरिङ रसिया ग्रुप एलएलसी कम्पनीमा कामदार पठाउने छनौट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका कामदारहरुको हकमा सचिवस्तरबाट फागुन १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको विभागले जनाएको छ । रसियामा धेरै नेपाली युवाहरु गैर कानुनी बाटोबाट पुगेर त्यहाँको सेनामा भर्ना भई मृत्यु भइरहेको र सम्पर्कबिहीन भइरहेको बेलामा श्रम मन्त्रालयले फेरि औपचारिक रुपमा कामदार पठाउने निर्णय गरेको हो । मन्त्रालयले पूर्व श्रम मन्त्री शरदसिंह भण्डारीकै समयमा फागुन ९ र १६ गते नै सो विषयमा निर्णय गरेपनि गोप्य रुपमा राखिएको सो निर्णयलाई नयाँ मन्त्री डोलप्रसाद अर्याल आएपछि मात्रै चैत १४ विभागको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । जसले मन्त्रालयको निर्णय प्रकृयालााई थप सशंकित बनाएको छ ।

युट्युबबाट अर्बपति बनेका ‘टेक्निकल गुरुजी’ गौरव

काठमाडौं । विश्‍वमा धनी व्यक्तिहरूको सूची बढ्‍दै गइरहेको छ । सुखमय जिन्दगी बिताउनका लागि मानिसलाई जीवनभरि धैरै नै परिश्रम गर्नुपर्छ । तर, केहीको जागिर यस्तो हुन्छ, कयौं वर्ष काम गरे पनि उनीहरूसँग बचतका लागि केही बाँकी रहँदैन । संसारमा केही यस्ता काम र जागिर पनि छन्, जो गर्ने मानिसहरू चाँडै र सजिलै करोडपति बन्न सक्छन् । पछिल्लो केही वर्षदेखि सूचना प्रविधिको विकास र विस्तारले विश्‍वभरि आफ्नो पकड जमाउन थालेपछि सामाजिक सञ्जाल युट्युबबाटै मानिसहरू करोडपति बन्‍न सफल भएका छन् । युट्युबबाटै अर्बपति भएका एक युवा हुन् भारतका गौरव चौधरी । सामाजिक सञ्जालमा मानिसहरूले उनलाई प्राविधिक गुरुजी भनेर चिन्छन् । भर्खरै गौरवलाई ‘द नेशनल क्रिएटर्स अवार्ड २०२४’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक विधामा उत्कृष्ट निर्माताको अवार्ड प्रदान गरेका थिए । उनले टेक्निकल गुरुजी र गौरव चौधरी नामका दुई युट्युब च्यानल चलाउँछन् । उनको सब्‍सक्राइबर करोडौं संख्यामामा छन् । यी विश्वमा सबैभन्दा धेरै हेरिने प्राविधिक च्यानल हुन् । युट्युबबाट बम्पर आम्दानी गरेका उनको जीवनशैली विलासी छ । प्राविधिक युट्युबर्सको दुनियाँमा फरक पहिचान गौरवले प्राविधिक युट्युबर्सको संसारमा छुट्टै पहिचान बनाएका छन् । उनी टेक्निकल गुरुजीको रूपमा प्रसिद्ध छन् । युट्युबमा उनका अनगिन्ती फलोअर्स छन् । भारतमा मात्रै नभएर विदेशमा पनि उनको लोकप्रियता छ । एक साधारण इन्जिनियरबाट सबैभन्दा प्रभावशाली प्राविधिक व्यक्तित्वसम्मको उनको यात्रा गजबको छ। आफ्नो मेहनत र सिर्जनशीलताका आधारमा उनले यो स्थान हासिल गरेका हुन् । अहिले उनले यसबाट करोडौं आम्दानी गरिरहेका छन् । अजमेरमा जन्मेर केन्द्रीय विद्यालय पढे गौरवको जन्म सन् १९९१ मा राजस्थानको अजमेरमा भएको थियो । केन्द्रीय विद्यालयमा पढाइ सकेपछि उनले इन्जिनियरिङको डिग्री लिए । गौरव सधैं प्रविधिमा रूचि राख्थे। उनमा पढाइमा फरक किसिमको लगाव थियो । उनले ११ कक्षा पढ्दा कोडिङ गर्न थाले । यसले उनको भविष्यका प्रयासहरूका लागि जग बसाल्यो । प्रविधिप्रति गौरवको जिज्ञासा बढ्दै गयो । उनको दिमागमा २०१२ को सुरुमा युट्युब च्यानल खोल्ने विचार आयो । तर, २०१५ सम्म उनले आफ्नो विचारलाई यथार्थमा परिणत गर्न सकेनन् । सन् २०१५ मा गौरवले आफ्नो युट्युब च्यानल सुरु गरेका थिए । जसको नाम ‘टेक्निकल गुरुजी’ थियो । गौरवको च्यानलले चाँडै लोकप्रियता हासिल गर्यो । आज उनको मुख्य च्यानलमा २ करोड ३५ लाख सब्सक्राइबर छन् । यसले उनलाई विश्वको शीर्ष प्राविधिक युट्युबर्समध्ये एक बनाउँछ । ३ अर्ब ६० करोडको नेटवर्थ गौरवको सफलतालाई धेरै कारणले श्रेय दिन सकिन्छ । पहिलो, जटिल टेक्नोलोजी अवधारणाहरूलाई सरल बनाउने र तिनीहरूलाई हिन्दीमा प्रस्तुत गर्ने उनको क्षमताले ठूलो संख्यामा दर्शकहरूलाई प्रभावित गरेको छ । सरल भाषा प्रयोग गरेर र अत्यधिक प्राविधिक शब्दावलीलाई बेवास्ता गरेर गौरवले सीमित प्राविधिक ज्ञान भएका दर्शकहरूले पनि उनको सामग्री बुझ्न सक्ने कुरालाई सुनिश्चित गर्दछन् । युट्युबमा गौरवको सफलताले उनको कमाई पनि बढेको छ । उनको कुल अनुमानित सम्पत्ति करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको छ । दुबईमा घर र लक्जरी कार गौरवको दुबईमा घर छ । यसको मूल्य करिब ६० करोड रुपैयाँ रहेको छ । उनको संग्रहमा ११ वटा कार छन् । उनको निलो रंगको रोल्स रोयस घोस्टको मूल्य ८ करोड भारु रहेको छ । मैकलेरन जीटी को मूल्य ४ करोड ७५ लाख रुपैयाँ छ । यो कार उनका दाजुले उपहार दिएका हुन् । गौरवको रेन्ज रोभर भोगको मूल्य २ अर्ब १० करोड भारु रहेको छ । उनीसँग पोर्श पानामेरा जीटीएस पनि छ । यसको मूल्य १ करोड ९० लाख रुपैयाँ छ । यसबाहेक उनीसँग पोर्श पानामेरा, मर्सिडीज बेन्ज जी क्लास, बीएमडब्लू ७५० लि लगायतका धेरै लक्जरी कार छन् । एजेन्सी